+
+
मेलम्ची :

‘बसौं बाढीको डर, हिंडौं जाने ठाउँ छैन’

असार नलाग्दै सुरु भएको यसपालिको झरीसँग मेलम्चीवासी त्रसित छन् । एक वर्षअघि लेदो र गेगरानसहित आएको बाढीले उनीहरूको घरखेत बगाएको थियो । स्थानीय रामप्रसाद लुइँटेल भन्छन्, ‘अब त खोलो घरको सुरबाटै बग्छ, राति निदाउनै मुस्किल भो !’

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०७९ जेठ ३० गते २१:१८
गत वर्षको बाढीले क्षतिग्रस्त बनाएको मेलम्ची बजार

३० जेठ, मेलम्ची । गएको शनिबार मध्याह्न सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ सिमखेतका रामप्रसाद लुइँटेल मेलम्ची किनारमा छेकाबार बनाउन व्यस्त थिए ।

बर्खा नलाग्दै छेकाबार लगाइयो भने बाढी आइहाले बस्ती जोगिने आशमा उनी छिटोछिटो हात चलाइरहेका थिए ।

उनीसहित ५/६ जनाको समूहले गरेको त्यो काम ‘हात्तीको मुखमा जीरा’ भन्न मिल्ने खालको थियो । किनकि कहाँको भीमकाय मेलम्ची अनि कहाँको त्यो फुच्चे छेकाबार !

मेलम्ची बजारबाट हेलम्बु जाने बाटो सरासर हिंडेर गए आधा घण्टामा सिमखेत पुगिन्छ । बाटैमुनि सिमखेत बस्ती छ भने त्यसभन्दा अलि तल मेलम्ची खोला । बाटो किनारमा बस्न पाए अलि सहज पनि हुन्छ र खेतीपातीको उब्जनी समेत बढाउन सकिएला भनेर रामप्रसादसहितका गाउँलेले बाटोबाट माथिको घरबारी बेचेर त्यहाँ जग्गा जोडेर घर बनाएका थिए । पोहोर आएको मेलम्चीको बाढीले उनीहरूलाई विचल्ली बनाइदियो ।

‘हामी सुविधाको लागि तल झरेका हौं । यस्तो विपत्ति आउला भनेर सोचेनौं’ उनी भन्छन्, ‘पोहोरको विपत्तिले हामीलाई ठूलो त्रास दियो । अब त तलको खोला घरको सुरबाटै बग्न थाल्यो, जतिखेर पनि त्रासै त्रास छ ।’ यसअघिसम्म उनीहरूको घरखेतबाट करिब १५/२० मिटर तल बग्ने मेलम्ची बर्खा लागेपछि उर्लन्थ्यो । तर, यतिविघ्न वितण्डा मच्चाउला भन्ने उनीहरूले सोचेका पनि थिएनन् ।

रामप्रसाद लुइँटेल ।

१ असार २०७८ मा लेदो, ढुंगा र घरगोठ बगाउँदै मेलम्चीमा बाढी आएपछि रामप्रसाद र छिमेकीहरूले घरमा भएका महत्वपूर्ण सामान निकाल्न पनि पाएनन् । दौडेर घरमाथिको मोटरबाटो छेवैको प्रतीक्षालयमा बसे । सेना आएर उनीहरूको महत्वपूर्ण सामान झिकिदियो । ‘असार १ देखि ५ गतेसम्म बस्तीका सबैजना प्रतीक्षालयमा बस्यौं’ रामप्रसाद भन्छन्, ‘अहिले त तलको खोला घरको सुरैबाट बग्न थालेपछि राति निदाउन मुस्किल पर्न थालेको छ ।’

रामप्रसादकी छिमेकी लक्ष्मी चालिसेले पनि यो वर्ष दुःखै–दुःखमा बिताइन् । गएको वर्ष विध्वंस मच्चाएको मेलम्ची शान्त भएको एक सातापछि उनी घर फर्किएकी थिइन् । उनको खेतलाई छिनभरमा मेलम्चीले बगर बनाइदिएको थियो भने गरिखाने साधन एउटा ट्रक बाढीले कहाँ पुर्‍यायो थाहै भएन । चालिसे परिवारले महिनौंसम्म पनि आफ्नो ट्रक कतै भेटिएला कि भन्ने आशा राखेको थियो । चालिसे भन्छिन्, ‘तर वर्ष दिन भयो अब त्यो भेटिंदैन, भेटेर पनि के काम !’

अहिले सिमखेतमा मेलम्चीको किनारमा छेकाबार लगाउने काम चलिरहेको छ । प्रदेश सरकारमार्फत निकासा भएको बजेटबाट स्थानीयहरूले उपभोक्ता समिति बनाएर काम गरिरहेका छन् । खेतको किनारामा त्रिपाल झुण्ड्याएर बनाएको अस्थायी चुल्होमा शनिबार दिउँसो खाना पकाइरहेका चिरञ्जीवी चालिसेले आफूभित्रको द्विविधा लुकाएनन् । उनले भने ‘कुन दिनदेखि फेरि बाटोकिनारको प्रतीक्षालयमा बास हुने हो । ३/४ फिटको पर्खाल हालेका भरमा मेलम्ची छेकिन्छ भन्ने मलाई चाहिं रत्तिभर विश्वास छैन ।’

सिमखेत बस्ती नजिकै बाटोछेउको प्रतीक्षालय, पोहोर साल बाढीको वितण्डा हुँदा स्थानीय बासिन्दाले यहीं बसेर ज्यान जोगाएका थिए ।

‘लेदो नआएर पानी मात्रै आउँदा त खोला कताकता दौडने हो भन्ने डर लाग्छ । पोहोर जस्तो लेदो र गेगरानसहित आउँदा त केही ठेगान नहुँदोरहेछ’ चिरञ्जीवी भन्छन्, ‘बर्खा लाग्यो हामी केही गरी पनि सुरक्षित भएनौं ।’

कस्तोसम्म भयो भने पोहोरको बाढीले एउटा गाउँको नक्सा नै बदल्यो । सिमखेतमा स्थानीयहरूले एउटा रिसोर्ट बनाएका थिए । चलाउने तयारी हुँदै गर्दा बाढीले त्यसको नामोनिशान नामेट गरिदियो । हिजोआज रिसोर्ट कहाँ थियो भन्ने भेउ समेत नपाउने गरी बगर उचालिएको छ । अहिले आएर एउटा घरको भग्नावशेष बगरको बीचमा देखिएको छ । गाउँका तल्लो भागका सबै घर बगे, माथिल्लो भागमा केही घरको जग हल्लिएको छ ।

‘अलिअलि सम्पत्ति भएकाहरू त माथि (माथिपट्टिको बस्ती) गए र जस्तापाताको टहरा हालेर भए पनि बसेका छन्’ चिरञ्जीवी भन्छन्, ‘हामी त माथिको सबै बेचेर गरिखान तल झरेका अब तल न माथि हुने भइयो ।’

***

काभ्रेको पाँचखालबाट अगाडि गएपछि जिरोकिलो भन्ने सानो बजार आउँछ । त्यो बाटोबाट साढे दुई घण्टा जति उत्तरतिर लागेपछि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित तिम्बु बजार पुगिन्छ । पोहोरसाल मेलम्चीमा आएको बाढीले तिम्बुदेखि २० किलोमिटर तल मेलम्ची बजारसम्म वरपरका खेत, बस्ती र अन्य व्यवसाय क्षत–विक्षत बनाइदिएको छ ।

मेलम्चीले घर भत्काएर पूर्ण रूपमा विस्थापित भएकाहरू अहिले अन्यत्र बसिरहेका छन् । अलि हुनेखानेहरूले अर्कोतिर घरबासको बन्दोबस्त गरेका छन् । नहुनेहरू अलि माथि अस्थायी टहरा बनाएर निर्वाह गरिरहेका छन् । घरबास नभत्काएका तर घरछेवैमा बाढी पुगेकाहरू अहिले पनि जसोतसो निर्वाह गर्ने सोचाइमा छन् । तर बर्खा लाग्न थालेपछि उनीहरूको होसहवास उड्न थालेको छ ।

खट्टेमा मेलम्चीले बगाएको पुल, जहाँ अस्थायी बाटो बनाएर गाडी ओहोरदोहोर गर्छन् ।

मेलम्चीको खट्टे दुवाचौरबाट पारिपट्टि जाने पक्की पुल थियो । गाउँ जाने गाडीहरू रोकिन्थे, मान्छेहरू चढ्ने, झर्ने ‘स्टेसन’ बन्न लागेको थियो । पुलपारि घर–पसल बन्ने क्रममा थिए । बाढीले त्यो पक्की पुल घिसारेर छेवैमा तेस्र्याइदिएको छ । पोहोर असोजमा मेलम्चीमा ह्यूमपाइप र माथि ग्राभेल हालेर अस्थायी पुल बनाइएको छ । त्यो पुल तरेपछि लक्ष्मी श्रेष्ठको खाजा पसलमा पुगिन्छ । खाजा पसल चलाइरहेको श्रेष्ठको परिवार अब केही दिनमा बसाइँ सरेर हिंड्दैछ ।

‘असार १ गते खोलाको ह्यूमपाइप निकालेर राख्ने रे ! अब यहाँ गाडी आउँदैन । असोज लागेपछि मात्रै पुल बनाउँछन् रे’ उनले भनिन्, ‘गाडी नआएपछि केको पसल चल्नु । हामी पनि अब मेलम्ची बजारमा कोठा खोजेर बस्ने ।’ पोहोर साल पनि लक्ष्मीको परिवारले त्यसै गरेको रहेछ । बाढीपछि उनीहरूले मेलम्चीमा डेरा लिएर बसे । केही समय खाजा पसल पनि चलाए । लक्ष्मी भन्छिन्, ‘पैसा नभएर ८० हजार ऋण खोजेर दशैं मनायौं ।’

खट्टेमा खाजापसल चलाएर बसेकी लक्ष्मी श्रेष्ठ । पोहोर बाढीले विस्थापित गराउँदा उनलाई ८० हजार ऋण लागेको छ ।

अब केही दिनमा डोजर आएर खोलामा राखेको ह्यूमपाइप निकालेपछि गाडी आउने त परै जाओस्, उनीहरूलाई वारिपारि गर्नै समस्या हुनेछ । त्यसबेला लक्ष्मीले पसलको सटर निकालेर राख्ने योजना बनाएकी छिन् । किनकि बाढी घरको भुईंतलामा आइपुगेमा सटरलाई क्षति पुर्‍याउनेछ । घरको माथिल्लो तलामा ताला ठोकेर बर्खा छल्न हिंड्ने तयारीमा छिन् उनी । लक्ष्मी भन्छिन्, ‘अब अर्को पुल नबन्दासम्म हाम्रो दुःख हट्लाजस्तो छैन ।’

हुन पनि उनको घरसँगै जोडिएको अर्को घर पोहोरको बाढीले हानेर क्षतिग्रस्त छ । सटर निकालेर राखेपछि ह्वाङ्गै भएको घर कुनै भग्नावशेषजस्तो देखिन्छ । त्यसको अलि अघिल्तिर एउटा घर उत्तानो परेर पल्टिएको छ । ‘कोइरालाको परिवार’ ले त्यहाँ घर बनाएर बस्न थालेको दुई/तीन वर्ष मात्रै भएको थियो रे ! उनीहरूले सामान समेत निकाल्न नपाउँदै बाढीले घर ढलायो । अहिले उनीहरू कहाँ बस्छन्, छिमेकीलाई समेत अत्तोपत्तो छैन ।

कोइरालाको घर, बाढीको बेलामा घरधनीले महत्वपूर्ण सामान समेत झिक्न पाएनन् ।

खट्टेबाट केही तल फर्केपछि मेलम्ची बजार सुरु हुन्छ । माथि नगरपालिकाको कार्यालय छ । त्यहींमुनि खेतमा काम गरिरहेका थिए स्थानीय बालचन्द्र सापकोटा । बर्खा लाग्न थालेपछि उनी र उनका छिमेकीहरूको भोकनिद्रा मेलम्चीले उडाइदिन्छ ।

‘सबैले खोलाकिनारको घरखेत लगेछ भन्छन् । पहिले खोला कहाँ थियो, उनीहरूलाई थाहै छैन । १५/२० मिटर तलको खोला ढुंगा र माटोले पुरिएर माथि आयो, हाम्रो के दोष ?’ उनी भन्छन्, ‘पहिलेपहिले पनि कैयौं पटक बाढी आयो, यस्तो भएको थिएन । माथिबाट पहाडै सोहोरेर ल्याएपछि हाम्रो के लाग्छ ?’

बाढीपछि अहिले नगरपालिका र प्रदेश सरकारले बगरका ढुंगा सोहोरेर काल्लो बनाएको छ । खोला नबहकियोस् भनेर दायाँ–बायाँ ढुंगा र गेगर थुपार्न दर्जनौं डोजर खोलाकिनारमा काम गरिरहेका छन् । तर हेलम्बुदेखि २० किलोमिटर लामो भागमा खोलाकिनारमा गेगर, बालुवा र ढुंगा छरिएकाले बाढीले फेरि पोहोर झैं तिनलाई बगाएर ल्याउला र आतंक मच्चाउला भनेर हेलम्बु र मेलम्चीका बासिन्दा त्रस्त छन् । स्थानीय बालचन्द्र सापकोटा भन्छन्, ‘यहाँका मान्छेले मेलम्चीलाई चिनेका छन् । बाढीले मात्रै त यस्तो हुँदैहुँदैन । गेगर र लेदो बगाएर ल्यायो भने पोहोर झैं दुःख पाइन्छ ।’

बालचन्द्र सापकोटा । यसपालि पनि मेलम्चीले गेगर र लेदो बगाएर ल्याए पोहोर झैं दुःख पाइने त्रासमा छन् उनी ।

मेलम्चीको बाढीले सिन्धुपाल्चोकको तिम्बुदेखि मेलम्ची बजारसम्म खोला आसपासका क्षेत्र क्षत–विक्षत बनाएको छ । ठाउँठाउँका खेत बगर बनेका छन् । पोहोर हरियो धान लहलहाएका खेतहरू अहिले बगर भएका छन् । बगरबाट गेगर झिकेर डोजरहरूले छेउमा थुप्रो बनाएका छन् । पहिले खोला बगेको डोब र अहिलेको डोबबिच कम्तीमा पनि १०/१५ फिटको फरक देखिन्छ । बगरका बिचमा परेका रूखहरू ठाडै सुकेका छन् ।

पोहोरसालको बाढीले मेलम्ची बजारमा ज्यादा क्षति पुर्‍याएको देखिए पनि हेलम्बुले नदेखिने गरी त्योभन्दा बढी चोट बेहोरेको छ । त्यहाँका ३०८ घर बाढीले बगायो, ६०० जना विस्थापित भए । २१०० रोपनी जग्गा बगर बन्यो । १७ वटा साना र मझौला उद्योग–व्यवसाय क्षतिग्रस्त भए । १० किलोमिटर सडक मेलम्चीले भत्काइदियो । झोलुंगे र पक्की गरेर ६/६ वटा पुल क्षतिग्रस्त भए ।

एउटा स्कुल, इलाका प्रहरी कार्यालय र हेलम्बुको २ नम्बर वडा कार्यालय बाढीले बगायो । अहिले करिब डेढ सय जनालाई टहरा बनाएर राखिएको हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद पराजुलीले बताए । अबको केही दिनमा हेलम्बु जाने बाटो अवरुद्ध हुने निश्चित जस्तै छ । अहिलेदेखि नै किउल भन्ने ठाउँभन्दा माथि गाडी जाँदैन । ‘बाढीले क्षतिग्रस्त सडक बल्लतल्ल बनेको हो । बाढी आइहाल्छ कि भन्ने डरले गाडी ल्याउन खोज्दैनन्’ पराजुली भन्छन्, ‘सानो बाढी आउने वित्तिकै बाटो अवरुद्ध हुन्छ ।’

मेलम्चीमा आएको बाढीले बजारमा मात्रै ६०/७० घर भत्के । मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालका अनुसार, बाढीले मेलम्ची नगरपालिकाका २४२ घरमा पूर्ण रूपमा क्षति पुर्‍याएको थियो । १८ सय ८२ रोपनी व्यक्तिगत खेतबारी पुरिएर बगर बनेको छ । थप १२०० रोपनी सार्वजनिक समेत गरेर कुल ३ हजार रोपनी जमिन बगर बनेको दुलालले बताए ।

नगरपालिकाले जग्गामा क्षति पुग्नेलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले राहत दिएको छ भने पूर्ण रूपमा घर क्षति भएकाहरूलाई ५० हजार रुपैयाँ अस्थायी आवासका लागि सहयोग गरेको छ । घर निर्माण गर्न ५ लाखका दरले अनुदान दिने तयारी गरेको छ । बाढीले मेलम्चीमा रहेका ११३ व्यापार/व्यवसाय पूर्ण रूपमा प्रभावित भएको उनी बताउँछन् ।

मेलम्ची बजारको तल्लो भेगमा सडकभरि गेगर र जमेको माटो देखिन्छ । बल्लतल्ल घरमा पसेको माटो सोहोरेर बगरमा थुपारेका छन् । केही घर ढल्केका, केही रित्ता छन् । २०७२ सालको भूकम्पले ठूलो क्षति पुर्‍याएको मेलम्ची बजारको तल्लो भागमा त्यसकै झल्को आउने गरी घरका भग्नावशेष देखिन्छन् ।

मेलम्ची बजार पारिको रिसोर्टको भग्नावशेष । दुई तला हिलोले पुरिएको रिसोर्ट माटो फालेर पनि खुल्ने अवस्थामा छैन ।

मेलम्ची बजारमा हार्डवेयर पसल गर्ने प्रकाश दाहालका अनुसार, सिन्धुपाल्चोकका दुई/तीनतिर जाने नाकामा पर्ने मेलम्ची बजार फस्टाउने क्रममा थियो । २०७२ सालको भूकम्पअघि जग्गाको भाउ यति बढेको थियो कि कोही कोहीले काठमाडौंमा जग्गा बेचेर मेलम्चीमा समेत जग्गा किनेका थिए ।

भूकम्पले ठूलो क्षति गरेपछि बजारवासीले पुनर्निर्माण गरेर बजार ठड्याए । पोहोर फेरि बाढीले क्षत–विक्षत बनायो । ‘ढुंगा र लेदो मात्रै नआए त केही थिएन, भत्केका घर ढिलोचाँडो बन्छन्’ उनी भन्छन्, ‘यो बर्खाले फेरि पोहोर झैं दुःख दिने हो कि भन्ने डर छ ।’

शनिबार मेलम्ची बजारमुनिको बगरमा डोजरले ह्यूमपाइप निकालिरहेको थियो । बर्खा सुरु भइसकेकाले ह्यूमपाइप बगाउला भनेर त्यसलाई निकालेर बगरको माथिपट्टि भागमा गुडाएर ल्याउने काम भइरहेको थियो । शनिबार दिउँसो मेलम्ची नगरपालिकाका इञ्जिनियर जितबहादुर कार्की मेलम्ची बगरमा बसेर डोजरले अस्थायी पुल भत्काएको हेरिरहेका थिए ।

मेलम्ची बजार मुनिपट्टि ह्यूमपाइप राखेर अस्थायी रूपमा बनाइएको बाटो गत शनिबार भत्काइयो । बाढीले ह्यूमपाइप बगाउने डरले डोजर लगाएर झिकिएको थियो ।

‘नगरपालिकाले ह्यूमपाइप राख्न मात्रै ३०/४० लाख रुपैयाँ खर्च गरेको छ । पुल बन्न अझै दुई/चार वर्ष लाग्ने भएकाले वर्षा लाग्नासाथ झिक्ने र हिउँद लाग्नासाथ जोड्ने गरी निकालेका हौं’ खोलाकिनारमा बसेर ‘साइट’ अवलोकन गरिरहेका इञ्जिनियर कार्की भन्छन्, ‘अब पारिपट्टिको बजार र दुई गाउँपालिका जाने बाटो अवरुद्ध भयो ।’

अस्थायी बाटो भत्काएपछि पाँचपोखरी, चौतारा सागाचोकगढी लगायत गाउँपालिका जान ५ किलोमिटर तल झरेर अर्को पुल तर्नुपर्छ र फेरि ५ किलोमिटर जति माथि निस्कनुपर्छ । मेलम्ची बजार मुनिपट्टिको प्रस्तावित बसपार्क अहिले बाढीले ल्याएको गेगर थुपार्ने थलो बनेको छ । त्यसभन्दा मुनिको पार्कमाथि बलौटे बगर छ ।

उनी बगरमा बसिरहेका बेला पारिपट्टि घर भएका बुद्धिप्रसाद गौतम हस्याङफस्याङ गर्दै आइपुगे र आक्रोश पोख्न थाले । पारिपट्टिको उनको घर लेदो र गेगरले छोपिएको थियो । वारिपट्टि ढुंगाको छेकाबार लगाउँदा खोला बत्तिएर पारि पुग्ने र आफू लगायतको घरलाई थप क्षति पुग्ने देखेर उनी आक्रोशित भएका थिए ।

‘नगरपालिकाले बजार मात्रै हेर्ने ? पारि बस्ने मान्छेको चिन्ता गर्नु पर्दैन ? सिंहदरबारको अधिकार गाउँगाउँ आयो भन्ने, गाउँका सिंहदरबारमा बसेकाहरू फेरि राजा बन्न खोज्ने ?’ उनले सारा आक्रोश इञ्जिनियर कार्कीमाथि पोखिरहेका थिए, ‘राजालाई त दरबारबाट निकालियो ! हामी जनतामाथि यत्रो ज्यादती गर्न मिल्छ ?’

उनी बगरका ठूला ढुंगा नचलाउन आग्रह गरिरहेका थिए । पछि आफूहरू मिलेर नगरपालिकामा निवेदन हाल्ने भन्दै उनी त्यहाँबाट हिंडे । अस्थायी पुल (डाईभर्सन) बाट वारि आएका उनी विवादमा अल्मलिंदै गर्दा डोजरले ह्यूमपाइप झिकिसकेको थियो । उनी भन्दैथिए, ‘अब म घुमेर पारि फर्कनुपर्छ । तपाईंहरूलाई हाम्रो पीडा सुन्ने फुर्सद छ र ?’

 

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?