+
+

बुटवलमा दुईदिने नेपाली चिया प्रदर्शनी हुँदै

नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुटवलमा बृहत राष्ट्रिय चिया प्रदर्शनी आयोजना गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १३:०२

२ असार, बुटवल । नेपालको चिया क्षेत्रमा काम गर्दै आएको सरकारी निकाय राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुटवलमा बृहत राष्ट्रिय चिया प्रदर्शनी आयोजना गर्ने भएको छ ।

चिया क्षेत्रमा क्रियाशील विभिन्न संघ/संस्थाहरु, एशोसिएशन लगायतसँगको सहकार्यमा कफी विकास बोर्डले असार ३ र ४ गते बृहत चिया प्रदर्शनी आयोजना गर्न लागेको हो ।

‘स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ भन्ने मूल नाराका साथ नेपालमा उत्पादित चियाको देशभित्रै खपत बढाउने र यसका फाइदाहरुको विषयमा जानकारी दिने, सही चियाको सही रुपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्ने उद्देश्यले बृहत राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम आयोजना गरिएको हो ।

बोर्डले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी बुटवल मिलनचोकस्थित सिद्दार्थ कटेजमा प्रदर्शनी गर्न लागेको बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले जानकारी दिए । प्रदर्शनीमा नेपाली चियाको राष्ट्रिय प्रदर्शनीका साथै नेपालमा उत्पादित बिभिन्न ब्राण्डको चियाको नि:शुल्क स्वाद लिन पाइने उनले बताए ।

नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको राष्ट्रिय चिया प्रदर्शनी कार्यक्रममा नेपालको चियाका मुख्य जिल्लाहरु झापा, इलामदेखि पश्चिमसम्म उत्पादित चियाको प्रदर्शन हुनेछ । नेपालको चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि कार्य गर्दै आएका निजी क्षेत्रका नेपाल टी एशोसिएशन, हिमालयन अर्थोडक्स टी प्रोड्युसर एशोसिएशन, नेपाल टी प्रोड्युसर एशोसिएशन, केन्द्रीय चिया सहकारी संघ, स्पेसियालिटि टी एशोसिएशन नेपालमा आवद्ध चियाका व्यवसायीहरुबाट उत्पादित चियाका ब्राण्डहरुको प्रदर्शनीमा मुख्य रुपमा सहभागिता रहने भट्टराईले बताए ।

कार्यक्रममा सय भन्दा बढी चिया व्यवसायीहरुको सहभागिता रहने कार्यकारी निर्देशक भट्टराईले जानकारी दिए । नेपालको तराई क्षेत्रमा विशेष गरी झापा जिल्लामा सिटिसी चिया र पहाडी क्षेत्रमा अर्थोडक्स चिया अन्तर्गत विभिन्न प्रकारहरु चियाहरु बनाउने गरिन्छ । नेपाली चिया गुणस्तर र स्वादका हिसाबले विश्वमै उत्कृष्ट मानिन्छ ।

नेपालले अधिकांश उपभोग्य वस्तुहरू आयात गर्नुपरेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यक पर्ने चिया आफै उत्पादन गरी भारत लगायत अन्य तेस्रो मुलुकहरूमा समेत नेपाली चिया निर्यात भइरहेको छ । आर्थिक वर्ष २०७७/०७८ को तथ्यांक हेर्ने हो भने नेपालले तीन अर्ब ७९ करोड रुपैयाँ भन्दा बढी मूल्यको चिया निर्यात गरेको छ ।

आर्थिक वर्ष २०७७।०७८ को तथ्याङ्क अनुसार नेपालमा १६ हजार ९१७ हेक्टरमा चिया रोपण भएको र २३ हजार ७४५ मेट्रिक टन तयारी चिया उत्पादन भएको छ । अहिले १६ हजार भन्दा बढी चिया कृषक र ६० हजार भन्दा बढी श्रमिकहरु चियाको बिभिन्न मूल्य श्रृंखलामा संलग्न रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?