+
+
सिनेमा र जगत :

जब एकलकाँटे युवाको घरमा कुकुर पाहुना लाग्छ…

शिव मुखिया शिव मुखिया
२०७९ असार ४ गते १०:०५

‘घिन र घृणा ।’ कुकुर देख्नसाथ मेरो मनमा यही दुईवटा भाव एकसाथ पैदा हुन्थ्यो । मलाई यत्ति मात्र थाहा थियो, कुकुरले लखेट्छ, चिर्थोछ, टोक्छ ।

सडक किनारमा मस्त सुतिरहेका कुकुरलाई बिनासित्ती ढुंगा हानेर वा लात बजारेर ‘गौरवान्वित महसुष’ गर्दै हिँड्ने महापुरुषमा म पनि एक हुुँदो हो सायद । कुकुरलाई तर्साउँदा, लखेट्दा, तड्पाउँदा आनन्द अनुभूत गर्ने जमातमा मेरो पनि उपस्थिति हुँदो हो सायद ।

प्रातकालमा कुकुर डोहोर्‍याउँदै हिँड्ने वा घरमा ‘कुकुरदेखि सावधान’ लेख्नेहरु देख्दा मेरो पारो तात्थ्यो । म मनमनै भनिरहेको हुन्थें, ‘कुकुर पाल्नु भन्दा त एउटा गरिब-दुःखीलाई खुवाउनु नि ।’

तर मेरो यो ‘दरिद्र धारणा’को अवसान त्यसबेला भयो, जब हाम्रो जीवनमा ‘काले’को आगमन भयो । काले एउटा सडक कुकुर थियो जो कालन्तरमा हाम्रो ‘कनिष्ठ इष्ट’ बन्यो ।

काठमाडौंमा डेरा जीवन विताइरहेका हामीकहाँ ‘काले’ सधैको पाहुना बनेर आए । हाम्रो ढोकाको आडैमा सुत्ने, हामीले दिएको खाने, हामीलाई पच्छ्याउने । कहिले घुर्काउने, कहिले फुर्किने । धेरैजसो हामीसँगै खेल्ने ।

आखिर कालेले कसरी मेरो रुखो मनलाई कायपलट गरिदियो ? यसको वृतान्त बेग्लै छ ।

अहिले यतिमात्र भनौं, त्यो ‘काले’ जसले चराचर जगतमा प्राणीको अस्तित्व बोध गराउन मेरो छैठौं इन्द्रिय जागृत गराइदियो ।

त्यसपछि नै हो मेरो युगमा बाँचिरहेका हरेक प्राणीमा मैले आफ्नो जीवनको एक अंश अनुभूत गर्न थालेको । एउटै पर्यावरणिय चक्रमा गोलवद्ध हरेक प्राणीको प्राकृतिक योगदानलाई आत्मसात गर्न थालेको । र, हरेक प्राणीको अनुहारमा निर्दोषपन अनि विवसता देख्न थालेको ।

विषयन्तर : एकलकाँटे युवाको दुःखान्त

एक जवान छन्, धर्म । यद्यपि यस्तो लाग्छ, उनमा जवानीको कुनै रसरंग छैन । एउटा कोलनीको उराठलाग्दो कोठामा बस्छन् । च्यातिएका पुरानो सोफा, बिग्रिएको धारो, थोत्रो सानो टिभी । अनि यत्रतत्र छरपस्ट सरसामन ।

यदि त्यहाँ यी जवानले डेरा नजमाएको हुँदो हो त त्यो ‘भूत बंगला’ जस्तै देखिन्थ्यो । हो, धर्म त्यही बस्छन् ।

‘कवाडी बुलेट’मा चढेर कारखानामा जानु । दिनभर काममा मग्न हुनु । साँझ उसैगरी कोठा फर्कनु । चुरोटको धुँवा उडाउँदै वियर घुट्क्याउनु । टिभीमा चार्ली च्याप्लिनको भिडियो हेर्नु । वस्, उनको जीवन यत्ति हो ।

सधै एकनास, सधै एकलास, सधै एकलाप ।

नितान्त एक्लो । उनी समाज, साथीभाई, छिमेक कसैसँग घुलमिल छैनन् । छ्या, कति पट्यारलाग्दो मान्छे !

धर्मलाई घृणा गर्नुअघि उनको अतिततर्फ फर्कौं । उनको परिवार थियो । आमा बुवा थियो । सानी प्यारी बहिनी थिई । तर, गाडी दुर्घटनामा उनीहरुको ज्यान गयो । अन्ततः धर्म एक्लिए । परिवार वियोगले विछिप्त उनी एकलकाँटे भए ।

अब उनको जीवनमा खुसीको इन्द्रेणी छैन । त्यो पूर्णतय श्यामश्वेत छ । न खुसी, न उत्साह, न उमंग । चार्ली च्याप्लिनको फिल्म हेरिहँदा पनि उनको ओंठमा हाँसो छाउँदैन ।

यस्तो एकलकाँटे मान्छेकहाँ कुनै बेवारिसे कुकुर पाहुना लाग्न आइपुग्छ भने अब स्थिती के होला ?

विषय प्रवेश : एउटा कुकुरको कथा

धर्मको जस्तै कथा छ, यो वेनाम र वेवारिसे कुकुरको पनि । ल्याब्राडोर जातको उक्त कुकुरलाई कसैले सडकमा ल्याइदिएका छन् ।  ऊ दिनभर सडकमा भौतारिन्छ । के खाने, कहाँ बस्ने, कसरी बाँच्ने ? उसँग खास जुक्ति पनि छैन ।

शहरको भीडमा ऊ एक्लो छ, धर्मजस्तै ।

भोको पेट, भयग्रस्त मन । एउटा निमुखा प्राणीका लागि यो संसार कति निष्ठूरी ! जाबो एउटा लिखुरे ज्यानलाई सुविस्ताले राख्ने ठाउँ छैन । त्यसैले ऊ फोहोरको थुप्रो उधिन्दै, मान्छेले खाएर बँचेखुचेका खानेकुरा खाँदै लखरखर हिँडिरहेको छ ।

लखरलखर हिंडिरहेकै बखत कसैको मोटरसाइकलले उसलाई ठक्कर दिन्छ । वेतोडले हुँइकिएको मोटरसाइकलको तोडले ऊ सडकमा बजारिन्छ । शरीर रगतपच्छे हुन्छ । उसलाई कति दुख्यो होला ? संवेदना हराएको शहरमा कसैलाई चासो छैन । चासो छ त, उही ठक्कर दिने पुरुषप्रति । उनलाई पो केही भयो कि ? कतै चोट पटक लाग्यो कि ? मोटरसाइकल बिग्रियो कि ?

मान्छेहरु भनिरहेका छन्, ‘कस्तो असत्ती कुकुर, जथाभावी दौडिएर यसरी दुर्घटना गराइरहेको छ !’

दुई घाइतेको मिलाप

धर्मलाई कुकुरप्रति कुनै मोह छैन । तर, आफ्नै आँखा अगाडि असह्य चोटले छटपटिएको बेवारिसे कुकुर देखेपछि ऊ त्यसलाई छाडेर जान सक्दैनन् । सायद उसलाई लागेको हुँदो हो, यो पनि म जस्तै घाइते छ ।

ऊ कुकुरलाई लिएर पशु चिकित्सककहाँ पुग्छन् । औषधिमूलो गराउँछन् । तर, यत्तिमै उनको दशा टर्नेवाला छ र ?

उपचाररत कुकुरलाई कसले जिम्मा लिने ? कसले राख्ने ? कसले स्याहारसुसार गर्ने ? पशु चिकित्सक भन्छन्, ‘यो कुकुरलाई तिमीले त्यसबेलासम्म पाल्नुपर्नेछ, जबसम्म यसलाई अरु कसैले लिदैनन् ।’ अन्ततः बाध्यताको भूँमरीमा फँसेर धर्मले कुकुरलाई आफ्नो साथमा राख्छन् ।

एकलापमा हराइरहने धर्मलाई कुकुरको आगमन ‘घाँडो’ लाग्छ । कुकुरले उनलाई आरमसाथ बस्न दिने पनि होइन । थोत्रो सोफामा वेपर्वाह ढल्केर चुरोटको धुँवा उडाउँदै, वियरको चुस्की लिदै, चार्लि च्याप्लिनको भिडियो हेर्ने पाउँछन् र ?

कहिले कुकुरले थाल-बटुका चाट्छ, कहिले जतनसाथ राखिएको सामान भताभुंग पारिदिन्छ । कहिले वेपत्तासँग भुक्छ । जबकि त्यस कोलनीमा ‘कुकुर पाल्न मनाही छ ।’

आखिर कुकुरकै कारण धर्मको दैनिकी फेरिन थाल्छ । अब उनी ढुक्कले मौन बस्न पाउने छैनन् । कुकुरको लागि उसले खेल्नुपर्नेछ, बोल्नुपर्नेछ । दिसापिसाब सोहर्नुपर्नेछ, पार्कमा डुलाउनुपर्नेछ । धर्मले यो कुुकुरलाई आफ्नो जीवनबाट पन्छाउन अनेक प्रपञ्च नरचेका होइनन्, तर ‘अभागीको’ दशा कहाँ सजिलै टर्छ र ?

अवोध नाता, अव्यक्त स्नेह

रहँदा बस्दा धर्मलाई पनि कुकुरप्रतिको  वितृष्ण कम हुँदै जान्छ । आखिर एक्लो ज्यानले साथी त भेटेको छ, पशु नै भएपनि । दुबै आपसमा रमाउन थालेका छन् । यद्यपि धर्मले यो कुकुरलाई कुनै कुकुरप्रेमीलाई जिम्मा लगाउने प्रक्रिया पनि जारी राखेका छन् ।

तर, एकदिन अचानक धर्म भुँइमा बजारिन्छन् । बेहोस हुन्छन् । आफ्नो प्रिय मान्छेको यस्तो हाल देखेर कुकुर अत्तालिन्छ । संयोग भनौं, उद्वारकर्ताहरु आएर धर्मलाई अस्पताल पुर्‍याउँछन् । सामान्य उपचारपछि उनको होस खुल्छ ।

जसै होश खुल्छ, उनले देख्छ ढोका बाहिर कुकुर छ । यो कुकुर कसरी यहाँसम्म आइपुग्यो ?

‘एम्बुलेन्सलाई पच्छ्याउँदै’ कसैले भनिदिन्छन् । यतिबेला धर्मले कुकुरको अनुहारमा हेर्छ, त्यो कति निश्च्छल र दयालु छ । कति अवोध र स्नेहवती छ । धर्मको आँखा टिलपिल हुन्छ । आफ्नो परिवार गुमाएपछि उनको जीवनमा यस्तो कोही आएका थिएनन्, जसले उनको ख्याल राखिदियोस् ।

अब ऊ कुकुरलाई यति प्रेम गर्छ कि, मानौ त्यो उनको सबैभन्दा प्रिय पात्र हुन् ।

एउटा साथीको साथले कति फरक पार्दछ

यो कुकुर उनको जीवनमा नआइदिएको भए के हुन्थ्यो ?

धर्मको जीवन सधै एकनासले गुज्रन्थ्यो । जीवन र जगतका आयमलाई न उनले महसुष गर्न पाउथे, न प्रकृतिका मनोहर रुपलाई स्पर्श गर्न । जसै यस कुकुर उनको जीवनमा आइलाग्छ, धर्मको त जीवन नै फेरिन्छ ।

धर्मले आफ्नो कुकुरको नाम राखिदिन्छन्, चार्ली । उनले बच्चैदेखि हेरिरहेका चार्ली च्याप्लिनको नामबाट सापटी लिएर आफ्नो कुकुरको न्वरान गरिदिएका हुन् । धर्म चार्लीसँग खेल्छन्, बस्छन्, कुरा गर्छन्, रमाउँछन् । यस्तो लाग्छ, उनको जीवनले नयाँ लय र धुन खोजिरहेको छ ।

तर, सधै खेल्ने-उफ्रने कुकुर लाचार हुन्छन् । ऊ केही खान सक्दैन, हिंड्न सक्दैन । उपचारका क्रममा थाहा हुन्छ, उसलाई कहिल्यै निको नहुने रोगले गाँजिसकेको छ । अर्थात् क्यान्सरले ।

धर्मले यो पनि थाहा पाउँछ कि चार्लीको पुरानो मालिकले दिएको निरन्तरको यातनाले यो अवोध पशु क्यान्सरले गल्दै गए । चार्लीको जीवन अब धेरै लामो छैन । चार्लीलाई आफ्नो जीवनबाट यति चाडै गुमाउनुपर्छ भन्ने लागेकै थिएन धर्मलाई । संभावित वियोगको क्षणले धर्मको हृदय नराम्ररी हल्लिन्छ ।

अब ऊ प्रण गर्छ, चार्लीले जति जीवन बाँच्छ त्यो एकदमै अर्थपूर्ण र शानदार होस् । अन्ततः चार्लीको लागि एक सेकेन्ड पनि खेरो नफाल्ने निर्णयसहित धर्म एउटा यात्रामा निस्कन्छ, चार्लीलाई लिएर । सधैं घुमफिरमा रमाउने चार्लीलाई ऊ संसार देखाउन चाहन्छ, चाहे जस्तोसुकै बाधा किन झेल्नु नपरोस् ।

त्यसपछि के हुन्छ ?

त्यसपछि चार्लीका लागि धर्म कहिले समुन्द्री तटमा पुग्छन्, कहिले अनन्त मरुभूमिमा । कहिले प्याराग्लाइङि चढेर आकाशमा सयर गर्छन्, कहिले भूँवादार हिँउहरुमा ।

सरसर्ती हेर्दा चार्लीको खातिर धर्म यी सबै गर्न राजी भएका हुन् । खासमा त धर्मलाई सप्तरंगी जीवनको सुरम्य यात्रा गराउने सबै मेलोमेसो चार्लीकै कारण जुरेको हो ।

चार्ली : कस्तो जीवन बाँच्यौं ?

अन्ततः चार्लीको मृत्यु हुन्छ ।

तर, अल्पआयुमा बितेपनि चार्लीले जीवनको भरपुर भोग गरे । उसले विन्दास यात्राको आनन्द लिए, थरीथरी खाान्कीले जिब्रोको स्वाद फेरे, प्रतिस्पर्धामा भाग लिएर जीतको उत्सव मनाए, अनायसै  संभोगको स्वाद लिए । कहिले समुन्द्री तटमा त कहिले हिमाली चुचुराको सक्षतकार गरे । अब यसभन्दा गर्न बाँकी के छ र ?

‘कति वर्ष बाँच्यौं प्रश्न यो होइन, प्रश्न त यो हो कि कस्तो जीवन बाँच्यौ ?’

चार्लीको सार यत्ति हो ।

यत्तिको बेलिबिस्तार लगाइसकेपछि तपाईंले पक्का थाहा पाइसक्नु भयो कि, कथा  ‘७७७ चार्ली’ को हो । केही साताअघि प्रदर्शनमा आएको यो दक्षिण भारतीय फिल्मसँग मर्मस्पर्शी कथा मात्र छैन, गहिरो जीवनदर्शन पनि छ । यो जगतमा सबैको अस्तित्वलाई स्वीकार्दै कसरी जीवनको सार पहिल्याउने भन्ने मन्त्र दिएको छ, एकलकाँटे बन्दै गएको समाजलाई ।

लेखकको बारेमा
शिव मुखिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?