+
+

ब्रिक्सको १४औं शिखर सम्मेलन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १९:३१

८ असार, काठमाडौं । ब्राजिल, रूस, भारत, चीन र दक्षिणअफ्रिका सदस्य रहेको ब्रिक्सको १४औँ शिखर सम्मेलन २३ जुनदेखि सुरू हुने भएको छ ।

‘उच्च गुणस्तरको ब्रिक्स साझेदारी, विश्वव्यापी विकासका लागि नयाँ युगको सुरूआत’ भन्ने नारासहित सुरु हुन लागेको ब्रिक्स सम्मेलनलाई चीनका राष्ट्रपति सी चिनफिङले भर्चुअल माध्यमबाट आयोजना गर्नेछन् ।

सम्मेलनमा विकासकामा विश्वलाई द्वन्द्व, तनावको दलदलबाट बाहिर निकाल्नका साथै विकासका मुद्दामा विश्व समुदायको ध्यान पुनःकेन्द्रित गर्न योगदान पुग्ने बताइएको छ । विश्व अर्थतन्त्रको करिब एक चौथाइ हिस्सा ब्रिक्स राष्ट्रले ओगटेका छन् ।

हालका वर्षमा ब्रिक्स मुलुकले विश्व आर्थिक वृद्धिमा ५० प्रतिशत योगदान गरेका छन् । कोभिड–१९ पछिको विश्व आर्थिक सुधार र वास्तविक बहुपक्षीयताका लागि ब्रिक्स देश अपरिहार्य एवम् महत्वपूर्ण बन्ने अपेक्षा गरिएको छ ।

बैठकमा ब्रिक्स नेता, उदीयमान अर्थतन्त्र भएका मुलुक र विकासोन्मुख देशका नेतालेसमेत भाग लिनेछन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको विदेश मामिला आयोगको कार्यालयका निर्देशक याङ जेइचीको अध्यक्षतामा ब्रिक्स राष्ट्रका राष्ट्रिय सुरक्षा सल्लाहकार र राष्ट्रिय सुरक्षासम्बन्धी उच्च प्रतिनिधिको सहभागितामा भएको १२औँ बैठकपछि हुन लागेको हो ।

गत साता भएको उक्त बैठकमा प्रतिआतङ्कवाद र साइबर सुरक्षासम्बन्धी कार्यदलको समीक्षा भएको थियो । बैठकका सहभागीले अन्तरराष्ट्रिय आतङ्कवादको प्रतिवाद र साइबर सुरक्षा सहयोगका लागि योजना एवं मार्गचित्र बनाउन सहमति जनाएका छन् । साथै उनीहरूले विश्वव्यापी समस्यालाई विश्वसनीयता, समानता र जवाफदेहिताका साथ सम्बोधन गर्न तथा बहुपक्षीय प्रणालीमा तत्काल सुधारको आवश्यकतामा जोड दिएका थिए ।

ब्रिक्स सदस्य राष्ट्रले विश्वव्यापी आर्थिक सुशासन सुधार गर्न र विश्वव्यापी आर्थिक पुनरूत्थानलाई प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान गरेका आर्थिक विश्लेषकले बताएका छन् । ब्रिक्स प्लस मोडेलले आर्थिक सहयोगको सम्भावनालाई थप उजागर गर्ने उनीहरूको तर्क छ ।

गत वर्ष चीनले प्रस्ताव गरेको ग्लोबल डेभलपमेन्ट इनिसिएटिभअन्तर्गतका आगामी कार्यक्रममा विकासका मुद्दालाई थप ध्यान केन्द्रित गर्न त्यसलाई अन्तरराष्ट्रिय एजेण्डाको केन्द्रमा ल्याउने अपेक्षा गरिएको छ ।

ब्रिक्स विश्वका चार उदयीमान अर्थतन्त्र भएका मुलुक ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको एक संगठन हो । यी पाँच देशको नामको अघिल्लो अक्षरबाट संगठनको नाम राखिएको छ । यसको पहिलो बैठक सन् २००९ मा भएको थियो ।

पहिले यसमा दक्षिण अफ्रिका सहभागी थिएन । त्यतिबेला यो संगठनलाई ‘ब्रिक’ भनिन्थ्यो । सन् २०१० मा दक्षिण अफ्रिका (साउथ अफ्रिका) पनि सामेल भएपछि संगठनको नाम ‘ब्रिक्स’ भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?