१६ जेठ, काठमाडौं । गैरआवासीय नेपाली संघका पूर्वकोषाध्यक्ष हिक्मत थापाले दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णयमा दु:ख लागेको बताएका छन् । शनिबार एक अभिव्यक्ति दिँदै थापाले सरकारले बजेट भाषणमार्फत ती दूतावास बन्द गर्ने निर्णय गरेकामा दु:ख व्यक्त गरेका हसन् ।
‘ती दूतावासलाई दक्षिण– दक्षिण व्यापार, लगानी, व्यापार र आर्थिक अवसर सिर्जनाका आधार बनाउन सकिए नेपालको समृद्धिलाई टेवा पुग्थ्यो,’ उनले भनेका छन्, ‘दूतावास व्ययकेन्द्र मात्र होइन्, आयको अवसरका रूपमा लैजान सकिन्छ ।’
अबको समय दूतावासले आर्थिक कुटनीतिमा बढी केन्द्रित हुनुपर्ने उनले बताएका छन् ।
‘आर्थिक समृद्धि द्रुत गतिमा बढेका र भविष्यका आर्थिक केन्द्र बनिरहेका दक्षिण अफ्रिका र ब्राजिल जो आफै विशाल अफ्रिका र दक्षिण अमेरिका महादेशका आर्थिक केन्द्र समेत हुन् । अफ्रिका र दक्षिण अमेरिका जहाँ नेपाली डायस्पोरा पनि बढ्दो क्रममा छ र स्थापित हुँदैछ,’ उनले लेखेका छन् ।
त्यहाँको डायस्फोराका समस्या अझैपनि नेपाल राज्यको पहुँच बाहिर रहेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘जहाँ गैरआवासीय नेपालीहरूले राज्यको उपस्थिति अझ धेरै आवश्यक रहेको महशुस गरेका छन् र, थप उपस्थितिको माग राख्दै आएका छन् । त्यहाँ भएका दूतावास पनि बन्द हुनु झन् दु:खद् हो ।’
ब्राजिल र दक्षिण अफ्रिकास्थित नेपाली दूतावासलाई नयाँ विश्वशक्तिको रूपमा स्थापित हुँदैगरेको ब्रिक्ससँगको सहकार्य, दोहोरो व्यापार, प्रविधि र लगानीको वृहत् सम्भावनातिर केन्द्रित भएर अघि बढ्न निर्णय पुनर्विचार गर्न उनले सरकारसँग आग्रह गरेका छन् ।
प्रतिक्रिया 4