+
+

महासंघको स्टार्टअप कार्यक्रममा २० युवाले दिए उद्यमबारे प्रस्तुतीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १९:०१

९ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप कार्यक्रममा २० युवा उद्यमीहरुले आ-आफ्नो नवीनतम उद्यमबारे प्रस्तुति दिएका छन् ।

महासंघको ‘५० विजनेश/५० लगानीकर्ता’ कार्यक्रममा सम्भावित लगानीकर्ताहरू समक्ष बिहीबार उनीहरुले आ–आफ्नो प्रस्तुति दिएका हुन् ।

महासंघको कार्यक्रम अन्तर्गत मुरारका समूहले रासन टेकमा लगानी गर्ने घोषणा गरेको छ । मुलुकभित्र नवीनतम सोच भएका नवप्रवर्तक स्टार्टअपलाई सम्भावित लगानीकर्ता जुटाइ दिने उद्देश्य अनुरूप महासंघले यो कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रममा महासंघका करिब २५ जना सम्भावित लगानीकर्ताहरूको उत्साहपूर्वक सहभागिता थियो । प्रस्तुत योजनामा लगानीकर्ताले रूची देखाएमा महासंघको स्टार्ट अप एन्ड इनोभेसन समितिले दुवै पक्षबीच सहजीकरण गर्नेछ ।

महासंघ आफैंले आवेदनमार्फत छनौट गरेका र महासंघको सहकार्यमा व्यवसायिक संघ/संस्थाले विभिन्न समयमा गरेका स्टार्टअपसँग सम्बन्धित कार्यक्रममा उत्कृष्ट ठहरिएका स्टार्टअपहरूले पिचिङ सेसनमा भाग लिएका थिए । महासंघले यस कार्यक्रममा सहभागिताका लागि विभिन्न समयमा स्टार्टअप व्यवसायीसँग आवेदन समेत माग गरेको थियो ।

पिचिङ सेसनमा कृषि, उत्पादनमूलक, खानपिन, सूचना प्रविधि, सेवासँग सम्बन्धित विजनेश योजना प्रस्तुत भएका थिए ।

महासंघको स्टार्टअप एन्ड इनोभेसन समितिले गत वर्ष ९ चैतमा ५० विजनेश/५० लगानीकर्ता कार्यक्रमको घोषणा गरेको थियो ।

पिचिङ सेसनमा आमा एग्रो प्रालि, रासन टेक प्रालि, नेपाल एग्रो इन्पुट्स मार्केटिङ एन्ड इन्टरप्रेनुअरशिप सर्भिस (नेम्स), अन्सु टेक्नोलोजि प्रालि, लुक्ला आउटडोर, पिक एन्ड ड्रप, एक कल होम सोलुसन्स, वेदा, अर्वान्स नेपाल, खानपीन, स्वीट फिक्स, बिहे नेपाल, सारङ, कारखाना, ग्लोकल एकेडेमी अफ स्किल, ह्यापी माइन्ड्स, टेका, बोआफ्रेश, ज्वाला कृषि तथा पशुपालन उद्योग, निन्जा इन्फोसिस छन् ।

महासंघले पहिलो पटक स्टार्टअप एन्ड इनोभेसन समिति नै गठन गरी यो क्षेत्रको प्रवर्द्धनमा काम गर्दै आएको छ । महासंघले अगाडि सारेको भिजन पेपरले पनि स्पार्टअप व्यवसायलाई मुख्य प्राथमिकतामा राखेको छ ।

युवा उद्यमशीलता विकास र नवप्रवर्तन गर्न स्टार्टअप व्यवसायलाई सहयोग गर्नु पर्ने महासंघको निरन्तर पहलमा स्टार्टअप व्यवसायलाई सहयोग गर्ने विभिन्न कार्यक्रमहरू जस्तो ठूला उद्योगसँगको अग्र तथा पृष्ठ अन्तर सम्बन्ध कायम गर्ने, च्यालेन्ज फन्डको स्थापना, इन्कुवेशन केन्द्र सञ्चालन लगायतका कार्यक्रमहरू संघीय सरकारको बजेटमा आएका छन् ।

महासंघको यस कार्यक्रममा एक वर्षभन्दा बढी समय अघिदेखि सञ्चालनमा आईरहेका र कम्तिमा पनि एक वर्षको लेखा परीक्षण प्रतिवेदन भएका, कानूनी रुपमा दर्ता भएका स्टार्टअप व्यवसाय यसका लागि योग्य मानिने छन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाले पिचिङ सेसनको उद्घाटन गर्दै नवीनतम सोच भएका र लगानीको अभावमा आफूलाई विस्तार गर्न नसकेका स्टार्टअपहरूलाई लगानी जुटाउन सहयोग पुर्‍याउने बताएएका थिए । महासंघको आर्थिक रुपान्तरण २०३० (भिजन पेपर) ले पनि स्टार्टअप व्यवसायलाई जोड दिएको र अहिले सरकारले पनि आफूहरुकै सल्लाहमा यो क्षेत्रलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?