+
+

राष्ट्रिय एथ्लेटिक्स : १५ सय मिटर दौडमा सन्तोषी र मुकेशलाई स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते १६:३७

१० असार, काठमाडौं । बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र त्रिभुवन आर्मी क्लबका मुकेश पालले ४४औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा १५ सय मिटर दौडतर्फ शुक्रबार स्वर्ण जितेका छन् ।

तीन दिने प्रतियोगिताको पहिलो दिन १५ सय मिटर दौडमा महिला र पुरुषको फाइनल स्पर्धा गराइएको थियो । चोटबाट उम्किन प्रयासरत सन्तोषीले ४ मिनेट ४२.८ सेकेण्डमा निर्धारित दूरी पूरा गरी स्वर्ण जितेकी हुन् ।

१९औं दक्षिण एसियाली खेलकुदकी कीर्तिमानी स्वर्ण विजेता सन्तोषी चार महिनायता चोटग्रस्त थिइन् । प्रतिस्पर्धीको तुलनामा अब्बल देखिए पनि उनले राष्ट्रिय कीर्तिमान तोड्न भने सकिनन् ।

१५ सय मिटर महिलातर्फ आर्मीकी सरस्वती भट्टराईको नाममा छ । उनले सन् २०१६ को रियो ओलम्पिकमा ४ मिनेट ३३.९४ सेकेण्डको टाइमिङ निकालेकी थिइन् ।

उनले त्रिभुवन आर्मीकी पूर्णलक्ष्मी न्यौपानेलाई करिव १६ सेकेण्डले पछि पारिन् । पूर्णलक्ष्मीले ४ मिनेट ५८.२ सेकेण्डमा दूरी पूरा गरी रजत जितिन् । एपीएफकी आशा राउतले ५ मिनेट ५.९ सेकेण्डमा दूरी पूरा गरी कांस्य जितिन् ।

पुरुषतर्फ युथ एसियन च्याम्पियनसिपका स्वर्ण विजेता एपीएफका अजितकुमार यादवलाई पछि पार्दै त्रिभुवन आर्मीका मुकेश पालले स्वर्ण जितेका छन् । उनले निर्धारित दूरी ३ मिनेट ५६.७ सेकेण्डमा पूरा गर्दा अजित २ सेकेण्डले पछि परे । आर्मीकी सुनील सुनारले ४ मिनेट १.८ सेकेण्डको टाइमिङसहित कांस्य पदक जिते ।

१५ सय मिटर दौडमा पुरुषतर्फको राष्ट्रिय कीर्तिमान गोपबहादुर आधिकारीको नाममा छ । अधिकारीले सन् १९९३ को ढाका दक्षिण एसियाली खेलकुदमा ३ मिनेट ४६.६३ सेकेण्डको कीर्तिमान कायम गरेका थिए ।

तीनदिने प्रतियोगितामा एथलेटिक्सको ट्र्याक एण्ड फिल्डमा गरी पुरुषतर्फ १६ र महिलातर्फ १५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रदेश र ३ विभागीय गरी २४० जना खेलाडीको सहभागिता छ ।

तस्वीरहरु : आर्यन धिमाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?