+
+

दैनिक २० किलोमिटर हिंडेर तय भएको वसिरको क्रिकेट यात्रा

नमिता दाहाल नमिता दाहाल
२०७९ असार १३ गते १३:३६

१३ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्ड र नामिवियासँगको त्रिकोणात्मक शृंखलाको तयारीस्वरुप नेपाली टोलीले क्यानडासँग एकदिवसीय शृंखला खेल्दैछ ।

प्रतियोगिताका लागि सिनियर टिममा तीन परिवर्तन हुँदा रुपन्देहीका युवा अलराउण्डर वसिर अहमदले अवसर पाएका छन् ।

अघिल्लो वर्ष यू–१९ एसिया कपमा नेपालको प्रतिनिधित्व गरेका वसिरका लागि गएको चैतमा रुपन्देहीमै आयोजित नेपाल प्रो क्लब च्याम्पियनसिपको प्रदर्शनले राष्ट्रिय टिमको ढोका खोलेको छ ।

अघिल्लो महिना जिम्बाबे ए टिमले नेपाल भ्रमण गर्दा पहिलोपल्ट राष्ट्रिय टिमबाट खेल्ने अवसर पाएका वसिर पहिलोपल्ट अन्तर्राष्ट्रिय क्रिकेटका लागि क्यानडा भ्रमणमा हुनेछन् । उनलाई सागर ढकालको स्थानमा टिममा ल्याइएको छ ।

नेपाली टिमले उनको बायाँहाते अर्थोडक्स बलिङका साथै बायाँ हाते ब्याटिङबाट पनि लाभ लिन चाहेको छ ।

सिनियर टिममा पहिलो पटक खेल्दाको अनुभव

वसिरले १८ वैशाखमा पहिलो पटक राष्ट्रिय टिमको जर्सी लगाएर सिनियर टिमबाट खेले । पहिलो पटक सिनियर टिमको ड्रेसिङ रुममा पसे । त्यो दिनलाई उनी सानोमा २० किलोमिटर हिँड्दै क्रिकेट सिक्न जाँदाको दुःखले सार्थकता पाएको दिन भन्छन् ।

‘पहिलो पटक आफ्नै नामको जर्सी लगाएँ, नेपालको झन्डा भएको जर्सी लगाएर खेल्ने सानैदेखिको सपना पूरा भयो,’ उनले भने, ‘जसरी पनि राष्ट्रिय टिमको लागि खेल्छु भन्ने थियो, त्यो पूरा भयो ।’

रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ४ का वसिर २० किलोमिटर हिँडेर अभ्यासम जान्छे । उनले पसिना बगाउँदै तय गरेको क्रिकेट यात्रामा उनका बुवा र आमाले सहयात्रीको भूमिका निभाए ।

आमाबुवाले गरेको सहयोगले नै आफू यहाँसम्म आइपुगेको वसिरले बताए । ‘घरबाट खेल्न निक्कै सर्पोट पाएँ । अहिले यहाँसम्म आइपुग्न मेरो परिवारको निकै ठूलो हात छ ।’

१८ वर्षीय वसिर घरको एक्लो सन्तान हुन् । २० किलोमिटर हिँडेर जानु कुनै सानो कुरा थिएन । उनको त्यो हिँडाइ राष्ट्रिय टिममा खेल्ने सपनाको लागि थियो ।

राष्ट्रिय टिममा नपर्दासम्म उनलाई कस्तो होला भन्ने कौतुहलताले सताउँथ्यो, तर खेलेपछि भने उनी राष्ट्रिय टिममा रमाएका उनी भन्छन्, ‘सिनियर खेलाडी र प्रशिक्षकको साथ र सहयोगले मलाई निकै उर्जा दिइरहेको छ ।’

राष्ट्रिय टिमका खेलाडीको सौहार्दपूर्ण व्यवहारले खेल्न निकै सहज बनाएको अनुभव बटुलेका उनलाई क्यानडा यात्रा झनै सहज हुने अपेक्षा पनि छ ।

वसिरको रुम मेट रहेका रोहित पौडेलले उनलाई मैदान जानु अघिदेखि सिनियरलाई गर्ने व्यवहारहरु सबै सिकाएका थिए । रोहित उनको ब्याटिङमा नेपालको मन पर्ने खेलाडी हुन् । ‘रोहित दाइ मेरो आइडल हो’, उनले भने ।

त्यसो त उनी बंगलादेशी क्रिकेटर सकिव अल हसनलाई पनि आइडल मान्छन् । अलराउन्डर सकिवको कलाबाट उनी निकै प्रभावित छन् । उनी पनि सकिव जस्तै बन्न चाहन्छन् । उनीबाट यति प्रभावित छन्, कि सकिवकै जर्सी नम्बर ७५ लाई अहिले उनले छानेका छन् ।

वसन्त रेग्मी सकिवका लागि बलिङमा मन पर्ने खेलाडी हुन् ।

पहिलो पटक प्लेइङ ११ मा परेर मैदानमा उत्रिदाँ पहिलो ओभरको २ बल फ्याँक्दासम्म निकै अत्तालिएका थिए । त्यसपछि भने एकेडेमीमा नै खेल्ने तरिकाले खेले । पहिलो विकेट लिँदा जुन खुसी उनले प्राप्त गरे त्यो उनलाई मिलेको सन्तुष्टि थियो । ‘पहिलो २ बल खेल्दा आत्तिएको थिएँ त्यसपछि केही लागेन । तर पहिलो विकेटले मेरो सबै डर हरायो’, उनले पहिलो खेल सम्झे । खेलको १५ औं र १७ औं ओभरमा लगातार महत्वपूर्ण दुई विकेट लिएका थिए उनले ।

उनको सानै देखिको इच्छा थियो, देशको लागि खेलेर जिताउने । त्यो उनको डेब्यु खेलमा नै पूरा भयो । डेब्यु खेलमा नै उनले खेलेको खेलमा नेपालले जित्यो । ‘मेरो सपना थियो देशका लागि खेलेर जिताउने त्यो अब बिस्तारै पूरा हुँदैछ’, उनले भने । जिम्बावे एसँगको खेलमा पहिलो खेलमा राम्रो प्रदर्शन गरेपछि उनी नेपाली सिनियर टिममा आश लाग्दो खेलाडीको रुपमा उदाएका हुन् ।

घरेलु भन्दा फरक राष्ट्रिय टिम

‘वसन्त शाही सरबाट क्रिकेट सिक्नु र पुबुदु दशनायके सरबाट क्रिकेट सिक्नु धेरै फरक कुरा हो नि’, उनले भने ।

उनको क्रिकेटको पहिलो गुरु हुन्– लुम्बिनी प्रदेशका क्रिकेट प्रशिक्षक वसन्त शाही ठकुरी । शाहीकै छत्रछाँयामा वसिरले क्रिकेटका नियमहरु सिके । गाउँको गल्लीमा रमाइलो लागि खेल्ने खेलमा धेरै टेक्निकल कुराहरु पनि हुँदो रहेछ भनेर उनले तिरुपती क्रिकेट क्लबबाट थाहा पाए ।

अन्तर्राष्ट्रिय प्रशिक्षक पुबुदुको प्रशिक्षणमा आएपछि आफूमा धेरै परिवर्तन पाएका छन् । घरेलु प्रतियोगिता खेलेको भन्दा निकै फरक छ उनको अनुभव । ‘सिनियर खेले पछि धेरै सिकें ।’

पुबुदुको सिकाउने तरिका एकदमै सहज छ, उनलाई सिक्न । ‘पुबुदु सरको क्रिकेट सिकाउने तरिकाले मेरो क्रिकेटको उचाइ पक्कै उँचो हुनेछ’, उनमा विश्वास छ ।

घरेलु क्रिकेटका खेलाडी सबै उनकै तहका हुन्थे खेलको बारेमा ज्ञान लगभग सबैमा उत्तिकै हुन्थ्यो । तर सिनियर क्रिकेटरको ज्ञानले पनि उनलाई निखार्न उत्तिकै मद्दत मिलेको छ । पहिलो पटक प्लेइङ सेटमा पर्दा अलि अत्तालिएको थिएँ, तर सिनियर खेलाडीहरुले सिकाउनुभयो ।’ नेपाली सिनियर टिमका खेलाडी पनि उनका लागि निकै सहयोगी छन् ।

नेपाली टोलीका कप्तान सन्दीप लामिछानेको स्पिन बलिङ गज्जबको छ । उनै सन्दीपले वसिरको स्पिनलाई अझ निखारी रहेका छन् । ‘कप्तानबाट बलिङ राम्रो सिकिरहेको छु’, वसिर भन्छन् ।

पहिलो पटक ड्रेसिङ रुम छिर्दा सपना पूरा भएको क्षण

घरेलु क्रिकेटमा रमाइ रहेका वसिरले राष्ट्रिय टिमको ड्रेसिङ रुमको सपना त देखेका थिए । तर यति छिटै पूरा होला भनेर सोचेका भने थिएनन् । बन्द प्रशिक्षण सुरु भएपछि होटलमा राखियो । होटलमा रुममेट परे उनका आइडल खेलाडी रोहित पौडेल ।

युवा खेलाडी पौडेल आफैं पनि अन्य खेलाडीको तुलनामा कम उमेरकै छन्, तर उनले राष्ट्रिय टिमको अनुभव लिएको धेरै वर्ष भयो । जसका कारण उनी सिनियरको व्यवहारसँग परिचित छन् । उनले वसिरलाई सिनियरसँग कसरी बोल्ने व्यवहार कोसँग कस्तो गर्ने सिकाउँथे ।

पहिलो पटक ड्रेसिङ रुममा छिर्दा सबैको स्नेही व्यवहार पाए उनले । ‘सबैले सिकाउनु भयो । सिनियरसँगको त्यो अप्ठ्यारो जस्तो भान हुन दिनुभएन’, उनले भने, ‘नर्भस भएर बसेको थिएँ । कन्फिडेनस बढाउँदै नआत्तिन भन्नुभयो ।’

वसन्तको नजरपरेपछि …

वरिसले १३ वर्षको उमेरदेखि नै क्रिकेट खेल्न थालेका हुन् । लुम्बिनी सांस्कृतिक नगरपालिका ३ स्थित लुम्बिनी नवयुवा क्लबमा क्रिकेट खेल्नकै लागि उनले दैनिक २० किलोमिटरको यात्रा गर्नुपर्थ्यो ।

क्लबमा टेनिस खेल्दै गरेको बेला लुम्बिनीका प्रशिक्षक वसन्त शाही ठकुरीको नजरमा परे उनी । त्यसपछि वसिरको वास्तविक क्रिकेट करिअर सुरु भयो, उनले भैरहवास्थित तिरुपती क्लबमा क्रिकेट सिक्न थाले । ‘टेनिस रमाइलोको लागि खेल्थें, क्रिकेटलाई मैले करिअरको रुपमा छानेको हुँ,’ वसिरले भने ।

सानै उमेरमा क्रिकेटमा लागेका उनले अलराउन्डरको भूमिकामा खेलेका हुन् । बलिङ गर्दा थाकेमा ब्याटिङको अभ्यास गर्ने उनी अहिले पनि स्पिन अलराउन्डरमा खेल्छन् । उनको इच्छा अनुरुप नै प्रशिक्षक शाहीले वसिरलाई बलिङ र ब्याटिङ दुवैमा पोख्त बनाए ।

उदीयमान बनेर आएका वसिरले गत चैतमा भैरहवामा भएको नेपाल प्रो क्लब च्याम्पियनसिपमा रुपन्देही ११ का लागि मलेसिया ११ विरुद्धको खेलमा राम्रो प्रदर्शन गरेका हुन् । उनको त्यस प्रदर्शनका कारण नै उनलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइयो । बन्द प्रशिक्षणमा पनि अलराउन्डरको भूमिकामा राम्रो प्रदर्शन गरेका उनले राष्ट्रिय टिमबाट डेब्यू गर्ने मौका पाएका थिए ।

उनले डेब्यु खेलमा नै ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । उनले खेलेको पहिलो खेलमा नेपालले जिम्बावे एमाथि जित हात पा¥यो । टि–२० को दोस्रो खेलमा उनले एक विकेट लिए । दोस्रो खेलमा भने उनले तेस्रो क्रमका ब्याटरको रुमपा पनि खेले । उनले ब्याटिङमा १५ बलमा १० रन बनाए ।

ब्याटिङ गर्न मन पराउने वसिरले बलिङ पनि उत्तिकै राम्रो गर्छन् । उनले भने, ‘मलाई बलिङ र ब्याटिङ दुवै राम्रो लाग्छ । तर, छान्नै परेमा ब्याटिङ छान्छु ।’

राष्ट्रिय टिमको चुनौती

राष्ट्रिय टिममा खेल्ने इच्छा धेरैको हुन्छ, तर ती धेरैमध्ये थोरैको इच्छा मात्रै पूरा हुन्छ । इच्छासँगै चुनौती पनि हुन्छ । नेपाली टिममा लगातार युवा खेलाडी भित्रिने क्रम जारी रहेको छ । वसिर एक आशातीत खेलाडीका रुपमा भित्रिएका छन् । राष्ट्रिय टिममा टिकिरहन भने चुनौतीपूर्ण छ भन्ने उनले पनि बुझेका छन् ।

‘राष्ट्रिय टिममा बस्न प्रदर्शनमा सुधार गर्नु आवश्यक छ । धेरै मेहनतपछि यहाँ आइपुगेको छु । अझै मेहनती बन्दै जानेछु । आफूले सक्ने गर्छु’, वसिर भन्छन्, ‘नेपालमा सबै क्रिकेट खेलिरहने खेलाडीको इच्छा हुन्छ राष्ट्रको लागि खेल्छु भन्ने । तर, नियमित राम्रो प्रदर्शन गरेर लामो समयसम्म खेल्नुर्छ । मैले खेलेर देशलाई जिताउने सपना छ ।’

आफ्नो प्रदर्शनका कारण कुनै पनि नेपाली क्रिकेट समर्थकले आलोचना गर्ने अवस्था नआओस् भन्ने वसिरको चाहना छ ।

तस्वीर : चन्द्र आले/अनलाइनखबर

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?