+
+
३ वर्षमा पहिलो प्रतियोगिता खेल्नेहरू :

‘खेलाडी हौं भन्ने नै बिर्सिसकेका थियौं’

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ असार १३ गते २०:२२

१३ असार, काठमाडौं । त्रिभुवन आर्मी क्लबका रोहित चौधरीले ज्याभलिन खेल्न थालेको ७ वर्ष भयो । यसबीचमा एउटा अन्तर्राष्ट्रिय (१३औं साग) र तीनवटा राष्ट्रिय प्रतियोगितामा मात्र उनले आफ्नो स्तर परीक्षणको अवसर पाएका छन् ।
सातवर्षको बीचमा चार वटा प्रतियोगिता खेल्न पाएका उनले आइतबार भएको ४४औं राष्ट्रिय प्रतियोगिता आयोजना भएपछि मात्रै आफू खेलाडी हुँ भन्ने सम्झिएको बताए ।

१३औं दक्षिण एशियाली खेलकुद साग खेलेका उनले ३ वर्षपछि प्रतिस्पर्धा गरेको प्रतियोगिता नेपाल एथलेटिक्स संघले गरेको ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता हो ।

‘अरु खेलको प्रतियोगिता भइरहेको छ । फुटबल क्रिकेट नियमित भइरहेका छन् । ओलम्पिक भइरहेको छ भने हाम्रो खेल चाहिं किन नभएको हो बुझिनँ,’ रोहितले प्रश्न गरे, ‘खेल नभए पनि खेलाडीले एउटा लक्ष्य राखेर तयारी गरेको हुन्छ । त्यो लक्ष्य परीक्षण गर्न प्रयितोगिता हुँदैन भने खेलेको के अर्थ भयो र ?’

सुनसरी, रामधुनी–१ का २८ वर्षे रोहितले विद्यालयदेखि नै ज्याभलिन फाल्न थालेका हुन् । बाँसको ज्याभलिनबाट खेल्न थालेका उनी २०७१ सालमा नेपाली सेनामा भर्ती भए । आर्मीको आन्तरिक प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि त्रिभुवन आर्मी क्लबमा अवसर पाएका रोहितले २०७३ सालमा पूर्वाञ्चलमा आयोजित सातौं राष्ट्रिय खेलकुदमा पहिलो सहभागितामै स्वर्ण जितेका थिए ।

‘डाक्टरले बिरामी जाँच्न पाएन भने आफू डाक्टर भएको बिर्सिन्छ, पाइलटले ३/४ वर्षसम्म जहाज उडाउन पाएन भने उसले आफू पाइलट हो भन्ने नै विर्सिन्छ । मलाई पनि त्यस्तै भएको थियो’, ३ वर्षपछि मैदान उत्रिएका उनले भने ।

खेलको राजा भनिने एथलेटिक्स जुनसुकै खेलको प्रारम्भिक चरण होे । एथलेटिक्सका दुई मुख्य विधा ट्र्याक र फिल्ड हुन् । एथलेटिक्स खेलको परम्परागत नाम ट्र्याक एण्ड फिल्ड नै हो । ट्रयाकतर्फ दौड पर्छ भने फिल्डतर्फ ‘जम्प’ र ‘थ्रो’ गरी मुख्य दुई विधा हुन्छन् । ट्रयाकतर्फ लामो तथा मध्यम दूरीका दौड प्रतियोििगता भइरहे पछि फिल्डतर्फका प्रतियोगिता आक्कलझुक्कल मात्र हुने गरेको छ ।

‘हाम्रो फिल्ड इभेन्टलाई सबैले हेपेजस्तो लाग्छ । संघले आयोजना गर्ने राष्ट्रिय च्याम्पियनसिप र राष्ट्रिय खेलकुदमात्र हो हामीले प्रदर्शन देखाउन पाउने,’ रोहित भन्छन्, ‘यस्तो हुँदा दुःखमात्र होइन डिप्रेसनमै गइन्छ । दुःख गरेर तयारी गरिरहेको हुन्छ, प्रतियोगिता हुँदैन । आफ्नो लगानीको प्रतिफल मिल्ने ठाउँ नपाउँदा खेलप्रति जाँगर हुँदैन । विभागबाहिर भएको भए उहिल्यै खेल छाडिसक्थेँ ।’

रोहित चौधरी ।

गत वर्ष जापानको टोकियोमा भएको ओलम्पिकमा भारतका निरज चोपडाले ज्याभलिनमा देशका लागि ऐतिहासिक स्वर्ण जिते । निरजले ८७ मिटर थ्रो गरेर स्वर्ण जित्दा रोहितले दशरथ रंगशालामा आइतबार निरजको भन्दा झण्डै २६ मिटर कम ६१.६० मिटर थ्रो गरेर राष्ट्रिय प्रतियोगितामा व्यक्तिगत उत्कृष्ट प्रदर्शनसहित स्वर्ण जिते । भारतीय उपमहाद्वीपका प्रायः खेलाडी उस्तै शारीरिक बनोटका हुन्छन् । खेलाडीमा गरिने लगानी र प्राथमिकताले उसको सफलता निर्धारण हुने कुरा रोहितले पनि बुझेका छन् ।

‘पोहोर ओलम्पिकमा निरजले स्वर्ण जितेको हेरिरहँदा मेरो मन पनि हामी किन सक्दैनौं भन्ने सोच आएको थियो । तर, त्यहाँ र यहाँ आकाशजमिनको फरक छ । हामीले एउटा वास्तविक ज्याभलिनले अभ्यास गर्न पाएका छैनौं । नियमित अभ्यास भएका छैनौं, स्तरीय प्रशिक्षण पाएका छैनौं । विश्वस्तरको एउटा ज्याभलिनको साढे २ लाख रुपैयाँ पर्छ । त्यो हामीजस्ता खेलाडीको पहुँचभन्दा बाहिरको कुरा हो,’ रोहित भन्छन् ।

शटपुटतर्फ राष्ट्रिय कीर्तिमानधानी चन्द्रकला लामगादे नेपाल पुलिसकी खेलाडी हुन् । गर्भवती भएपछि खेल्न छाडेकी उनी १८ महिनाकी छोरीसहित झापामा बस्छिन् । नेपाल पुलिसको खेलकुद क्लबबाट बिदा मिलाएर झापामै नियमित ड्युटी गरिरहेकी चन्द्रकला राष्ट्रिय प्रतियोगिता हुने थाहा पाएपछि बिदा लिएर व्यक्तिगत रुपमा सहभागी हुन काठमाडौं आइन् ।

शटपुट र ज्याभलिनमा स्वर्ण जितेर उनले ४४औं राष्ट्रिय एथलेटिक्समा नेपाल पुलिसलाई स्वर्णविहीन हुनबाट जोगाइन् । विभागीय टोली पुलिस यस प्रतियोगितामा वागमती प्रदेशसँग पछि रहँदै टिमतर्फ चौथो भयो । छैटौं राष्ट्रिय खेलकुद–२०६८ यताकी नियमित राष्ट्रिय च्याम्पियन चन्द्रकला फिल्ड इभेन्टमा कसैको पनि आकर्षण नभएको गुनासो गर्छिन् ।

चन्द्रकला लामगादे ।

‘हाम्रो इभेन्ट अरु जस्तो भएन प्रतियोगिताहरू पनि हुँदैन । अलि धेरै प्रतियोगिता भइदिए राम्रो हुने थियो,’ उनी भन्छिन्, ‘प्रतियोगिता नियमित हुनुपर्छ, राम्रा खेलाडी छनोट गरी नियमित र स्तरीय प्रशिक्षण दिन सकियो भने फिल्ड इभेन्टका खेलाडीले पनि अन्तर्राष्ट्रिय रुपमा राम्रो प्रदर्शन गर्न सक्छन् ।’

तीन वर्षदेखि प्रशिक्षणसमेत नगरेकी १८ महिनाकी सुत्केरीले फलामको डल्लो फाल्ने प्रतिस्पर्धामा स्वर्ण जितेर शटपुट र ज्याभलिनमा महिलातर्फको प्रतिस्पर्धात्मक स्तर छर्लङ पारिन् । चन्द्रकला स्वयम पनि यो कुरा स्वीकार्छिन् ।

‘मैले खेल्न थालेको ११ वर्ष भयो । अहिलेसम्म मैले मेरो इभेन्टमा प्रतिस्पर्धा नै देखेको छैन । आफ्नै स्तरको प्रतिस्पर्धी आइदिएको भए मेरो पनि प्रदर्शनमा सुधार हुने थियो जस्तो लाग्छ,’ उनी भन्छिन्, ‘सुत्केरी भएपछि झापामै ड्युटी गरेर बसेको थिएँ । जित्न सक्छुजस्तो लागेको थिएन । लामो समयसम्म टाढा हुँदा झन कठिन हुन्छ भनेर अनुभवका लागि मात्र आएकी थिएँ ।’

पहिलोपल्ट राष्ट्रिय प्रतियोगिता खेल्दा सहभागी पाँच विधामध्ये चार स्वर्ण र एक रजत जितेर सर्वोत्कृष्ट खेलाडी भएकी जयरानी थारुले पनि प्रतियोगिता कम हुँदा आफ्नो स्तर परीक्षण गर्न समस्या भएको बताइन् ।

जयरानी थारु ।

२१ वर्षीया जयरानी २०७५ सालमा खेलाडी कोटामार्फत त्रिभुवन आर्मी क्लबमा अनुबन्ध भएकी थिइन् । त्यसयता पहिलोपल्ट प्रतियोगिता खेल्न पाएकी उनले पहिलो सहभागिताकै दुई राष्ट्रिय कीर्तिमान रचिन् । आफ्नो विधामा ठूलो सम्भावना बोकेको खेलाडीका रुपमा उनलाई चित्रित गर्न थालिएको छ ।

‘एथलेटिक्समा पनि हाम्रो विधाको त प्रतियोगिता नै हुँदैन । प्रशिक्षण भइराखेको हुन्छ तर प्रतियोगिता नहुँदा त्यसको महत्व नहुने रहेछ । यस्ता प्रतियोगिता कम्तिमा वर्षमा एकपल्ट भइदिएको भए खेलाडीको क्षमता र प्रतिस्पर्धात्मक स्तर बढ्छ जस्तो लाग्छ,’ जयरानीले भनेकी छन् ।

नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले ट्र्याक इभेन्टलाई प्राथमिकता दिँदा फिल्ड इभेन्टका प्रतियोगिता र खेलाडी उत्पादन कम भएको स्वीकार गरे ।  ‘एथलेटिक्स संघले राष्ट्रिय प्रतियोगितामा यी इभेन्टहरू छुटाएको छैन । तर, अन्य संस्था र निजी क्षेत्रले आयोजना गर्ने प्रतियोगिता ट्र्याक इभेन्टमा मात्र केन्द्रित हुने गरेको छ,’ उनी भन्छन्, ‘खेलाडी उत्पादनमा पनि हामीले सफलता पाउन सकिरहेका छैनौं । प्रशिक्षकहरु सफल खेलाडीलाई प्रशिक्षण गराएर बस्ने, खेलाडी उत्पादनमा ध्यान नदिने समस्या छ ।’

प्रशिक्षकहरू राष्ट्रिय खेलकुद परिषद (राखेप)को सट्टा सम्बन्धित खेल संघमातहत ल्याउनुपर्ने उनको माग छ । तर, नयाँ खेलकुद ऐनमै प्रशिक्षकहरू राखेपमातहत रहने व्यवस्था छ ।

आसन्न एसियाली खेलकुदका लागि राखेपले एथलेटिक्सटर्फ तीन पुरुष र २ महिला खेलाडी सहभागी रहने गरी पाँच इभेन्टमात्र समावेश गरेकोमा विष्टले आपत्ति जनाएका छन् । ‘३५÷४० वटा इभेन्ट रहने एथलेटिक्सबाट जम्मा पाँचवटा कोटा दिइएको छ । हामीलाई नियामक निकायले पनि हेपेको महशुस भएको छ,’ उनले थपे, ‘थोरै मात्र कोटा दिइएकाले प्रदर्शनका आधारमा सम्भावना भएका विधालाई समावेश गरिएको हो । सहभागिताको दायरा बढाइयो भने फिल्ड इभेन्ट पनि समावेश गर्नेछौं ।’

विश्वव्यापी रुपमै सामुहिक खेलको तुलनामा एकल खेलतर्फको आकर्षण कमजोर छ । खेलकुदलाई प्राथमिकतामा नराखेका देशमा त झन् यो समस्या डरलाग्दो रुपमा बढिरहेको छ । नेपालमा पनि एथलेटिक्स सरोकार निकायको प्राथमिकताबाट टाढा रहँदा खेलाडीले एउटै प्रतियोगिताका लागि वर्षौंको प्रतीक्षा गर्नुपर्ने बाध्यताको अन्त्य हुनु पर्ने खेलाडीको माग  छ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?