+
+

प्रचण्डलाई घनश्यामको जवाफ : माओवादीको बिउ अब चल्दैन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १९:१५
घनश्याम भुसाल । फाइल तस्वीर

१५ असार, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध पार्ने कसम खाएका छन् ।

कम्युनिस्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा एमाले नेता भुसालले कम्युनिष्ट आन्दोलनमा देखिएका कमजोरी हटाउन प्रत्यत्न गर्ने बताए । उनले भने, ‘कम्युनिस्ट आन्दोलनमा विभाजन, विवादको एउटा परम्परा छ । त्यो पछिल्लो दिनमा राजनीतिलाई धन्दा बनाउने र त्यो धन्दा बचाइराख्न गुटबन्दी गर्ने डरलाग्दो रोग व्यहोर्दै आएका छौं ।’

एकठाउँमा जुट्दा ६०/७० प्रतिशत कम्युनिस्टहरु फुटेर आफ्नै घरमा आगो लगाएको र त्यसमा आङ सेकेर एकअर्कालाई गालीगलौज गर्दै आएको उनले बताए । भुसालले भने, ‘हाम्रो पुस्ताको तर्फबाट कमरेड सिद्धलालका अगाडि कसम खान्छु । यो कमजोरी हटाउन निरन्तर प्रयत्न गर्छौं, अन्तिमसम्म प्रयत्न  गर्छौं, हटाउने छौं र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध पार्नेछौं ।’

आजै मात्र प्रचण्डले एउटा सार्वजनिक मञ्चमा एमालेमा बिउ रोपेका छौं, २/३ वर्षमा फल्छ भनेर भनेको सुनाउँदै उनले एउटा धारालाई उत्साहित गर्न भनेको भए सम्मान गर्ने बताए । उनले अघि भने, ‘आजको आवश्यकतालाई उहाँले पनि राम्ररी बुझ्नु भएन । माओवादीको बिउ, एमालेको बिउ, समाजवादीको बिउ, कमरेड फलानाको बिउ…अब यी उम्रिदैनन् ।’

‘कृषिको कुरा गर्दा हामी रैथाने बिउको कुरा गर्छौं । त्यसले आजको आवश्यकता पूरा गर्न सक्दैनन् । त्यसलाई हाइब्रिड बनाउनुपर्छ,’ उनले अघि भने, ‘माओवादीको बिउ, एमालेको बिउ वा समाजवादीको बिउ अब चल्दैन । हामीले अस्ति नेकपा हाइब्रिड बनाएका थियौं । हाम्रो बुद्धि पुगेन र भकारीमै आगो लगायौं । बिउ सुरक्षित छन्, यसलाई फेरि हाइब्रिड बनाउनुपर्छ । जहाँ माओवादी, एमाले, समाजवादी केही रहने छैन, नेकपा रहने छ, कम्युनिस्ट पार्टी रहनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?