+
+

समस्या त मोबाइलमा खेल्ने गेमजस्तै रहेछन्

आज हामीले हाम्रा दिनहरू कसरी बिताइरहेका छौं, के काम गरिरहेका छौं त्यसले नै हाम्रो भोलिको दिन कस्तो हुन्छ भनेर बताइदिन्छ। त्यसैले हामी सबैले आज राम्रो गरौं, भोलि अवश्य राम्रो हुन्छ।

अनुपा अधिकारी अनुपा अधिकारी
२०७९ असार १५ गते १३:१२

मानव आफ्नो जीवनका अनेकौं चक्र पार गर्दै बुढ्यौलीसम्म अथवा मृत्युसम्म पुग्ने गर्छ। मानिसले आइपरेका समस्यालाई कुन तरिकाले लिन्छ, कसरी समाधान गर्दै जान्छ भन्ने कुराहरूले नै उसको जीवन कतातिर जान्छ भन्ने निर्धारण हुने रहेछ।

सानो छँदा २०-२२ वर्षका दाइदिदीहरूले ओहो भाइबहिनी बालापन त साह्रै रमाइलो नि भनेको सुनियो। अहिले आफैं युवा अवस्थामा आइपुग्दा दाइदिदीले भनेको कुरा त ठीक रहेछ नि भन्ने महसुस हुँदै गइरहेको छ।

तर यसो भन्दै गर्दा के युवा अवस्थादेखि हामी डराएर, पन्छिएर, रोएर, कराएर भाग्नु उचित हुन्छ त ? अहँ ! यो जति लज्जास्पद कार्य केही हुँदैन।

सुन्नुहोस् न ! मानव जीवनका लागि बनाइएको एउटा फर्मूला नै रहेछ। जसले जति धेरै दुःख, कष्ट भोग्दै र त्यसलाई सही ढंगले अनुभव गर्दै जान्छ, जसले जति बढी कडा परिश्रम, मिहिनेत गर्न सक्छ, जसले जीवनलाई सहज तरिकाले लिंदै जान्छ ऊ नै जीवनका अनेक परीक्षामा राम्रो अंक ल्याएर पास हुने रहेछ।

जीवनले बनाइदिएको यो सूत्र नबिगारिकन सही ढंगले प्रयोग गर्न सकियो भने ठ्याक्कै सही उत्तर निस्किने रहेछ। यसो भएमा सायद बालापन भन्दा युवा अवस्था र त्यसपछिका समय रमाइलो र आनन्दमय हुनेछन्।

म कक्षा ७-८ मा अध्ययन गर्दै गर्दा बाबाले भित्तामा एउटा सेतो पात्रो जस्तो ल्याएर टाँसिदिनुभएको थियो। जसमा लेखिएको थियो “अब्राहम लिंकनले आफ्नो छोरालाई लेखेको चिठी”। बाबाले मलाई त्यो चिठ्ठी २-३ पटक पढ्न लगाउनुभयो। मैले सरसर्ती पढें। शब्दको गहिराइमा पुग्न सकिनँ तर त्यो चिठ्ठी पूरै पढिसक्दा जीवन उपयोगी केही कुरा रहेछ भन्नेसम्म ठम्याउन्न भ्याएँ। समग्रमा भन्दा मलाई त्यो चिठी त्यसबेला सामान्य लाग्यो।

त्यो चिठी मेरो घरको भित्तामा अझै पनि त्यसरी नै टाँसिएको छ, जब मैले पढें त्यसभित्र निक्कै गह्रुँगा, ओजिला, महत्त्व बोकेका भाव, सन्देश भेटें। अनि आफैंले आफैंभित्र मनन गरें ६-७ वर्षको अन्तरालमा जीवनले त मलाई धेरै कुरा सिकाइसकेछ। ६-७ वर्षपछि अब्राहम लिंकनले लेखेको त्यो चिठ्ठी सुरुदेखि अन्तिमसम्म पढिसक्दा बच्चा अवस्थामा बुझ्न नसकेको कुरा अहिले छर्लङ्ग भयो।

अब्राहम लिंकन भन्छन्,  हामीले भेटेका सबै मानिस एकै किसिमका हुँदैनन्, समाजमा दुष्ट मानिस, सज्जन मानिस, स्वार्थी राजनीतिज्ञ, समर्पित निष्ठावान नेता, शत्रु, मित्र सबै भेटिन्छन्। समाजमा भेटिएका सबै मानिसले हाम्रो लागि सही नै गर्छन् भन्ने कुरा अपेक्षा गर्नु गलत हुनेछ।

लिंकनका अनुसार परिश्रम गरेर कमाएको एक डलर सित्तैंमा पाएको पाँच डलर भन्दा बढी मूल्यवान हुन्छ। लिंकन आफ्नो छोरालाई जतातिर हुल छ, त्यतैतिर लाग्ने प्रवृत्तिको नहोस् भन्ने चाहन्छन्। दुःख र कष्टमय अवस्थामा पनि प्रफुल्ल रहन सक्नु महानता हो भन्छन्। यस्ता अनेकन् जीवन उपयोगी सूत्रहरु लिंकन आफ्नो छोरालाई सुनाउन र बुझाउन चाहन्छन्। यदि तपाईंले लिंकनले आफ्नो छोरालाई लेखेको पत्र पढ्न भ्याउनुभएको छैन भने थोरै समय निकाली आजै पढ्नुहोला।

फराकिलो नजरले हेर्ने हो भने हामीले परीक्षा हलमा दिने परीक्षा त निकै सामान्य रहेछ। वास्तविक परीक्षा त जीवनले खबर नै नगरी लिइरहने रहेछ। अनि हाम्रा आँखाले हेर्दा जीवन निकै लामो देखिए पनि वास्तवमा त दुई दिनको न रहेछ।

यही दुई दिनको अवधिभित्र आफू कुन उद्देश्य पूरा गर्न वा केका लागि यस धर्तीमा पाइला टेकियो भन्ने कुरा पत्ता लगाउन सकिएन भने त्यस्तो जीवनलाई निरर्थक जीवन भनिने रहेछ।

यो दुई दिनको जीवनको दौरानमा मानिसलाई कमजोर बनाउन खोज्ने विभिन्न तत्त्व भेटिने रहेछन्। खुट्टा तान्ने प्रवृत्तिले त अझै जरै गाडेको रहेछ।

आफूले केही कुरा गरिरहँदा समर्थनमा आधा र विरोधमा आधा मान्छे उभिएका हुँदा रहेछन्। विपक्षमा उभिएका मानिसले तपाईंलाई कमजोर बनाउन हरेक तरिकाबाट प्रयास गर्छन्। तर यदि तपाईं आफ्नो उद्देश्यप्रति एकदम सही हुनुहुन्छ भने कसैको कुराले असर गर्नुहुँदैन, डगमगाउन हुँदैन।

मानिसले कसैसँग केही कुराका लागि घमण्ड गर्नु, कसैलाई कमजोर देखेर उसलाई होच्याउनु, हेप्नु सबै बेकार, व्यर्थ अनि निरर्थक छन्। यहाँ कोही पनि मानिस कमजोर छैनन्। अनि एउटा मानिस भएर अर्कोलाई हेप्ने अधिकार कसैले कसैलाई दिएको छैन।

सबै मानिस आफ्नो तरिकाबाट अब्बल छन्, बलवान् छन्। तपाईं डुङ्गा चढ्नुहोस्, तपाईंका लागि माझी दाइ भगवान हुनुहुन्छ। तपाईंलाई लुगा सिलाउनुपर्‍यो, लुगा सिलाइदिने दाइ तपाईंको लागि भगवान हुनुहुन्छ। भोक लाग्यो, खाजा बनाइदिने व्यक्ति तपाईंका लागि भगवान हुनुहुन्छ। त्यसैले सबैले सबैलाई ससम्मान आदर–सत्कार गरौं।

हामीले सामना गर्ने समस्याहरू ठ्याक्कै मोबाइलमा खेलिने खेल जस्तै त रहेछ नि। एउटा समस्या पार गरिसकेपछि फेरि अर्को अनि फेरि अर्को हुँदै लेबल अपग्रेड हुने, अनि जति समस्याको सामना गर्दै गयो उति नै खुड्किला उक्लँदै सफलताको शिखरसम्म पुगिने।

हाम्रो सम्पूर्ण पराजयपछि पनि हामीसँग सबै भन्दा ठूलो सम्पत्ति हाम्रो परिवार छ।

जस्तो कठिन अवस्था भए पनि एक पल्ट हामीले हाम्रो परिवार सम्झने हो भने हाम्रो ओठ आफैं मुस्कुराउन खोज्छ, खुसीले आँखा रसाउन खोज्छन्। हामीलाई निकै धेरै हौसला मिल्छ, आत्मबल बढ्छ अनि हामीले जितेको जस्तै नै महसुस हुन्छ, हामी पराजित भएर पनि विजयी हुन्छौं।

आज हामीले हाम्रा दिनहरू कसरी बिताइरहेका छौं, के काम गरिरहेका छौं त्यसले नै हाम्रो भोलिको दिन कस्तो हुन्छ भनेर बताइदिन्छ। त्यसैले हामी सबैले आज राम्रो गरौं, भोलि अवश्य राम्रो हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?