+
+

नेपाल बसेर अमेरिकामा ठगी : पीडित खोज्न इन्टरपोलसँग सहकार्य गर्दै प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १७:३५
पक्राउ परेका अर्बिट नेक्सस प्रा.लि. कम्पनीका कर्मचारी ।

२३ असार, काठमाडौं । नेपालमा कल सेन्टर खोलेर अमेरिकी नागरिकलाई ठगी गर्ने गिरोहको अनुसन्धानका लागि साइबर ब्यूरोले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) सँग सहयोग मागेको छ ।

इन्टरपोलसँग यो पटक मागेको सहयोग आरोपीलाई खोज्न नभइ पीडितलाई खोज्नका लागि हो ।

इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंलाई ब्यूरोले पत्राचार गरेर अमेरिकी प्रहरीको सहयोग मागेको हो ।

ब्यूरोका पत्राचारका आधारमा एनसीबी काठमाडौंले एनसीबी वासिङ्टनलाई अनुसन्धानका लागि सहयोग गरिदिन आग्रह गरिसकेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले अनलाइनखबरलाई बताए ।

अन्तर्राष्ट्रिय अपराध अनुसन्धानका लागि इन्टरपोलका सदस्य राष्ट्रहरुले एकअर्कालाई सहयोग गर्छन् । अपराध अनुसन्धान, अपराधीको खोजी र सूचनाको आदनप्रदानका लागि पनि इन्टरपोलले सहयोग गर्छ ।

‘अहिले ब्यूरोले अनुसन्धान गरिरहेको घटना फरक प्रकृतिको छ, पीडितहरु सबै अमेरिकामा छन्’ ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले अनलाइनखबरसँग भने, ‘त्यसैले अनुसन्धानका लागि अन्तर्राष्ट्रिय सहयोग खोजी गरेका छौं ।’

ब्यूरोले असार पहिलो साता अपरेशन चलाएर कल सेन्टरको नाममा साइबर अपराध गरिरहेको गिरोहलाई समातेको थियो । बूढानीलकण्ठ नगरपालिका–१२, कपनका विजय श्रेष्ठको नाममा दर्ता अर्बिट नेक्सस प्रा.लि. कम्पनीमार्फत उनीहरुले अवैध गतिविधि गरिरहेका थिए ।

कम्पनीका लागि काम सिकाउन भन्दै काठमाडौं आएका भारतीय नागरिक ३२ वर्षीय निसान खैरे र २४ वर्षीय मनीष तिवारीसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये तीन जनाबाहेक अन्य सबै कल सेन्टरमा काम गर्न राखिएका कर्मचारी थिए ।

उनीहरुले दिल्लीस्थित कार्यालयबाट प्राप्त अमेरिकी नम्बरका आधारमा फोन गरेर विभिन्न व्यक्तिहरुको कम्युटर बनाइदिने बहानामा बैंक विवरण लिएर रकम चोरी गर्ने गरेका थिए । अनुसन्धान अधिकृतहरुका अनुसार नेपालबाट बैंक विवरण मात्र माग्ने गरिएको थियो । भारतमा रहेको समूहले रकम निकाल्ने गरेको थियो । त्यसवापत नेपालमा बस्ने गिरोहलाई तलब दिइने गरिएको थियो ।

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार उनीहरुको साथबाट बरामद कम्युटरमा ९० बढी अमेरिकी नागरिकको विवरण फेला परेको थियो । तीमध्ये कतिबाट पैसा निकालियो भन्ने खुलेको थिएन । त्यसैले ती पीडित व्यक्तिहरुसँग इन्टरपोलको सहयोगमा प्रहरीले सम्पर्क स्थापित गर्न खोजेको हो ।

उनीहरुले पनि अनलाइनमार्फत जाहेरी दिए ठगी र अन्य कसूरमा पनि अनुसन्धानका लागि थप बाटो खुल्ने प्रहरीको विश्वास छ । यसरी विदेशी नागरिकले साइबर ब्यूरोमा जाहेरी दिए विदेशमा भएको साइबर अपराधको नेपालमा अनुसन्धान गरेर कारबाही गरिएको सम्भवतः पहिलो घटना हुनेछ ।

अमेरिकासँगै भारतमा पनि थप अनुसन्धानका लागि समन्वय हुने प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । हाल प्रहरीले पक्राउ परेकाहरुमाथि अनाधिकृतरुपमा अर्काको कम्प्युटरमा पहुँच पुर्याएको कसूरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

ब्यूरोका अधिकृतहरूका अनुसार अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको छ र प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?