 
																						२७ असार, काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले उच्च आर्थिक वृद्धि गर्ने लक्ष्य राख्ने तर निर्यात हुने वस्तुहरुको कच्चा पदार्थ र प्रविधिलाई आयात गरेर निर्यातको आधार बनाउन नसके सरकारले उच्च व्यापार घाटा बेहोर्नुपर्ने बताएका छन् ।
सोमबार अनेरास्ववियु केन्द्रीय कमिटीले आयोजना गरेको ‘नेपालको अर्थतन्त्रको अवस्था, अन्तर्राष्ट्रिय प्रभाव र यसको समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै खतिवडाले यस्तो बताएका हुन् ।
उनले नेपालमा उत्पादनको लागि वस्तु आयात गर्ने तर निर्यात गर्ने नगर्ने अवस्था नभएकाले उच्च व्यापार घाटा बढ्दै गएको उल्लेख गरे । सेवा, रेमिट्यान्स, उच्च कर्जा प्रवाह, प्रत्यक्ष विदेशी लगानीलाई व्यवस्थित गर्न नसके व्यापार घाटा बढ्ने र विदेशी मुद्रा सञ्चिति घट्दै जाने उनको भनाइ छ । उनले अर्थतन्त्रमा संरचनागत समस्या रहेको भन्दै समाधान गर्न समय लाग्ने बताए ।
अर्थतन्त्रका सूचक चुनौतीपूर्ण रहेको अवस्थामा अब आउने अर्थमन्त्रीले पनि उच्च आर्थिक वृद्धिदर गर्ने लक्ष्य राख्न खोज्यो भने व्यापार घाटाको समस्या कामय रहने उनको भनाइ छ । उनले नेपालको अर्थतन्त्रका सूचक भारतसँग तुलना गरेर हेर्नुपर्ने समेत बताए ।
भारतसँग खुल्ला सिमानासँगै खुल्ला आर्थिक कारोबार भएको भन्दै भारतसँग नेपालका आर्थिक सम्बन्ध जटिल बन्दै गएको डा. खतिवडाले बताए ।
‘हाम्रा हरेक अर्थतन्त्रका श्रृङ्खलालाई हेर्दा कृषि उत्पादन, औद्योगिक उत्पादन, सेवा क्षेत्रमा कति आयातित वस्तुहरु छन् । त्यसले बढाउने हो उत्पादन । आयात बढेपछि व्यापार घाटा बढ्ने नै भयो,’ उनले भने, ‘अब हामीले निर्यात हुने वस्तुहरुको मेसिन ,कच्चा पदार्थ, प्रविधि आयात गरेर निर्यात गर्ने आधार बनाउन नसक्ने हो भने उच्च आर्थिक वृद्धिमा जाने र जुनसुकै सरकारले पनि उच्च व्यापार घाटा बेहोर्नुपर्ने हुन्छ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4