+
+

बाजुरामा एमालेले जोगायो जिल्ला समन्वय समिति

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते २०:१४

२७ असार, डोटी। बुढीगंगा नगरपालिकाको जितसँगै बाजुरा जिल्लाको समन्वय समिति एमालेको बन्ने पक्का भएको छ ।

बैशाख ३० गते भएको मतदानमा धाँधली भएको निष्कर्ष निकाल्दै निर्वाचन आयोगले असार २३ गने पुनः मतदान गराएको थियो । आईतवार सार्वजनिक भएको परिणाम अनुसार नगर प्रमुखमा एमालेका उम्मेदवार रामवहादुर बानियाँ र उप-प्रमुखमा एमालेकै माया कुमारी खड्का (कुँवर) निर्वाचित भए ।

नौ स्थानीय तह रहेको बाजुरामा जिल्ला समन्वय समिति बनाउनका लागि पालिकाका प्रमुख र उपप्रमुख गरी १० को आवश्यकता पर्दछ ।

६ पालिकामा प्रमुख र पाँचमा उपप्रमुख जितेपछि जिल्ला समन्वय समिति एकलौटी एमालेको बन्ने सुनिश्चित भएको हो । बाजुरामा कांग्रेसले तीन प्रमुख र तीन उपप्रमुख जितेको छ भने बुढीनन्दा नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेद्वार विजयी भएका छन् ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये एमालेले बाजुरामा मात्रै एमालेको नेतृत्व हुनेछ । अन्य आठ जिल्लाका जिल्ला समन्वय समितिमा एमालेको शून्य उपस्थिति रहेको छ । आठवटै जिल्ला समन्वय समितिका प्रमुख नेपाली कांग्रेसबाट निर्वाचित भएका छन् ।

जिल्ला समन्वय समिति कैलालीमा वर्तमान सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार पदमबहादुर कलेल प्रमुख र माओवादी केन्द्रका खगराज भुसाल उपप्रमुखमा निर्वाचित भएका छन्।

कैलालीमा सत्ता गठवन्धन र एमाले-नागरिक उन्मुक्ति पार्टीको गठवन्धन चुनावी प्रतिस्पर्धामा थिए । स्वतन्त्रबाट जितेका धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सत्ता गठवन्धनलाई सहयोग गरेपछि एमाले ‘आउट’ भएको थियो ।

कञ्चनपुरको समन्य समिति प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जितेको छ । प्रमुखमा कांग्रेसका दुर्गादत्त बोहरा र उपप्रमुखमा कांग्रेसकै रामकुमारी राना निर्विरोध निर्वाचित भएका हुन् ।

जिल्ला समन्वय समिति डडेल्धुरामा नेपाली कांग्रेसका सबै उम्मेदवार निर्विरोध भएका छन् । प्रमुखमा नेपाली कांग्रेसका गगनसिंह भण्डारी र उपप्रमुखमा कांग्रेसकै अमृता ठडाली मगर निर्विरोध भएका हुन् ।

जिल्ला समन्वय समिति डोटीमा सबै पदाधिकारी कांग्रेसबाटै निर्विरोध भएका थिए । प्रमुखमा कांग्रेसका लक्ष्मणबहादुर सिंह र उपप्रमुखमा स्मृति चुनारा निर्वाचित भएका छन् । बैतडीको प्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसका खगेन्द्रसिंह धामी उपप्रमुखमा माओवादी केन्द्रका दमनबहादुर कुँवर विजयी भए ।

दार्चुलाको समन्वय प्रमुखमा नेपाली कांग्रेसले बाजी मारेको छ । जिल्लाका एउटा तहमा पनि प्रमुख नजितेको कांग्रेसले माओवादीसँग मिलेर प्रमुख पाएको हो । प्रमुखमा कांग्रेसका महादेव बडू र उपप्रमुखमा माओवादी केन्द्रका अमरसिंह ठगुन्ना विजयी भएका भए ।

जिल्ला समन्वय समिति अछामा कांग्रेसका उम्मेदवारहरु प्रमुखमा ललितबहादुर कुँवर र उपप्रमुखमा दानमती बम शाही निर्वाचित भएकी थिइन् । यस्तै, जिल्ला समन्वय समिति बझाङमा गठबन्धनका उम्मेदवार निर्विरोध भए । प्रमुखमा कांग्रेसका नरबहादुर बोहरा र उपप्रमुखमा एकीकृत समाजवादीका कृष्णबहादुर विष्ट निर्विरोध भए ।

०७४ को निर्वाचनबाट प्रदेशका कैलाली, कञ्चनपुर, डोटी र बझाङ्गमा एमालेको एकलौटी समन्वय समिति वनेको थियो । डडेल्धुरामा कांग्रेसले एकलौटी समन्वय समिति वनाएको थियो । अन्य चार जिल्लामा कांग्रेस–माओवादीको गठवन्धनले जिल्ला समन्वय समिति वनाएको थियो ।

गठवन्धन हुँदा अछाम र बाजुरामा प्रमुख उपप्रमुख दुवै कांग्रेसको भाग परेको थियो भने दार्चुला र बैतडीमा प्रमुख कांग्रेस र उपप्रमसख माओवादीले पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?