+
+

भदौबाट पोखरामा हट एयर बलुन पुनः सञ्चालनमा आउने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते ११:४८

२९ असार, काठमाडौं । आगामी भदौबाट पोखरामा हट एयर बलुन पुनः सञ्चालनमा आउने भएको छ । कोरोनाका कारण बन्द रहेको उक्त एड्भेन्चर ‘बलुन नेपाल प्रा.लि’ले पुनः सञ्चालनमा ल्याउने भएको हो ।

यसअघि उक्त कम्पनीले पोखरामा सन् २०१८ नोभेम्बर १६ देखि हट एयर बलुनको उडान सुरु गरेको थियो । हट एयर बलुन फेवातालको माथिल्लो किनार पामेबाट उडान सुरु गरिनेछ । फेवा किनारबाट तीन देखि चार हजार मिटर उचाइ लिँदै गर्दा सुन्दर पोखरा उपत्यका र आसपास छर्लङ्गै देखिन्छ ।

बलुनले सराङ्कोट डाँडा नाघेपछि अन्नपूर्ण हिमशृफ्लाको अदभूत दृश्य हेर्न पाइन्छ । वर्षायामका तीन महिना असार साउन र भदौबाहेक हरेक महिना मौसम अनुकुल भएको दिन उडान भरिने कम्पनीले जनाएको छ ।

यो एड्भेन्चरका लागि नेपालीलाई प्रति व्यक्ति ८ हजार रुपैयाँ र विदेशीलाई प्रति व्यक्ति १ सय यूएसडी (नेपाली १२ हजार ६ सय रुपैयाँ) लाग्ने कम्पनीले जनाएको छ । साथै प्रती व्यक्ति २० हजार डलर बराबरको इन्स्योरेन्स समेत रहेको कम्पनीले जनाएको छ ।

बलुनको उडान अवधि ३० देखि ४० मिनेट रहनेछ । २१ मिटर अग्लो बलुनको तल्लो भागमा ३२ वर्ग फिटको बास्केट जडित छ । बास्केटमा ८ जनाले एकै पटक यात्रा गर्न मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?