+
+

प्रशिक्षण नै नगरी राष्ट्रिय कीर्तिमान !

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ असार ३० गते १९:१४

३० असार, काठमाडौं । बुधबार देशको केन्द्रीय दशरथ रंगशालाको फिल्डबाट एउटा सनसनी समाचार फैलियो । जहाँ नेपाली खेलकुदकै एकमात्र ग्रासरुट कार्यक्रमको केन्द्रीय प्रतियोगिता राष्ट्रपति रनिङ शिल्डअन्तर्गत एथलेटिक्स खेलका स्पर्धा भइरहेका थिए ।

दाङकी निशा चौधरीले लङजम्पमा नयाँ राष्ट्रिय कीर्तिमान रचिन् । जुनियर स्पर्धाका खेलाडीले सिनियरतर्फको राष्ट्रिय कीर्तिमान बनाउनु निकै ठूलो उपलब्धी थियो । सन् २०१८ मा एपीएफकी शिला चौधरीले कायम गरेको कीर्तिमानभन्दा २ सेन्टिमिटर बढी ५ मिटर ४७ सेन्टिमिटरको नयाँ रेकर्ड बुधबारदेखि निशाको नाममा सरेको छ ।

उल्लेखनीय कुरा के छ भने दाङ, तुलसीपुर उपमहानगरपालिका १६ भेलाही गाउँकी १७ वर्षीया निशा एथलेटिक्सकी व्यावसायिक खेलाडी होइनन् । उनी बिना प्रशिक्षण राष्ट्रपति रनिङ शिल्डमा स्थानीय तह, जिल्ला, प्रदेश हुँदै पहिलोपल्ट काठमाडौं आएर दशरथ रंगशालामा दौडिएकी हुन् ।

फिल्ड विधामा नयाँ कीर्तिमान बनाएकी निशाले ट्र्याकमा पनि आफू सहभागी सबै स्पर्धामा स्वर्ण जितिन् । अर्थात् उनले राष्ट्रपति रनिङ शिल्डमा चार स्पर्धामा स्वर्ण जित्दा ३ स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् ।

१ सय मिटर दौडमा उनको १२.५३ सेकेन्डको टाइमिङ नयाँ जुनियर कीर्तिमान हो । त्यस्तै निशासहित रेशु थारु, रामकुमारी थारु र सम्झना थारुसम्मिलित लुम्बिनी टोलीले चारगुणा १ सय मिटर रिलेअन्तर्गत ५४.२० सेकेण्डको टाइमिङमा स्वर्णसहित जुनियर कीर्तिमान कायम गरे ।

‘म तेक्वान्दो खेलाडी पनि हो । तेक्वान्दो नियमित खेल्थेँ । म टच ब्ल्याकबेल्ट हुँ । तर एथलेटिक्स चाहिं प्रतियोगिता हुँदा मात्र खेल्ने हो । मलाई पद्यमा चौधरी गुरुले प्रशिक्षण गराउनुभएको थियो । स्कुलमा चाहिं वसन्त वली गुरुले सिकाउनुभएको हो,’ निशाले अनलाइनखबरसँग भनिन् ।

१२ कक्षाको परीक्षा दिएर बसेकी निशाले राष्ट्रपति रनिङ शिल्ड खेलेको यो पाँचौं संस्करण हो । ६ कक्षा पढ्दादेखि नै यो प्रतियोगितामा सहभागी भए पनि स्वर्ण जित्न सकेकी थिइनन् । कोरोना महामारीका कारण पछिल्ला दुई संस्करण प्रतियोगिता आयोजना हुन सकेन । यसपल्ट उनले सनसनी नै मच्चाइन् । ‘स्वर्ण जित्छुजस्तो त लागेको थियो । तर, कीर्तिमान नै बन्छ भन्ने लागेको थिएन,’ उनले भनिन्, ‘ट्रेनिङमा मैले ५ मिटर ३२ सेन्टिमिटरसम्म गरिरहेको थिएँ । यहाँ सजिलो हुने रहेछ । काठमाडौंको ट्र्याकमा पहिलोपल्ट खेलेको हो ।’

तुलसीपुर ग्रेट अरनिको माविमा अध्ययनरत निशाको घरबाट बेलझुण्डी रंगशाला पुग्न साइकलमा ३० मिनेट लाग्छ ।

आठौं राष्ट्रिय खेलकुदमा ५ करोड खर्चेर निर्माण गरिएको सुविधासम्पन्न ट्र्याकसहितको बेलझुण्डी रंगशालामा निशाले अहिलेसम्म प्रशिक्षण गर्न पाएकी छैनन् । उनले भनिन्, ‘प्रतियोगिता हुँदा त्यहाँ खेल्ने हो । प्रतियोगिता आउने बेलातिर स्कुलमै खेल्ने हो ।’

यस संस्करणको राष्ट्रपति रनिङ शिल्डका लागि लुम्बिनी प्रदेशमा प्रारम्भिक छनोट प्रक्रिया असार १२ गतेदेखि सुरु भएको थियो ।

निशाले तुलसीपुर उपमहानगरस्तरीय सुरुवाती प्रतियोगिता जितेको पाँच दिनपछि जिल्लास्तरीय प्रतियोगिता खेलिन् । त्यसको पाँच दिनपछि लुम्बिनी प्रदेशस्तरीय प्रतियोगिता जितेर काठमाडौं आएकी हुन् । काठमाडौंमा भएको केन्द्रीय प्रतियोगिता मंगलबारदेखि सुरु भएर आज (बिहीबार) सम्पन्न भएको छ ।

कीर्तिमानको खुसीभन्दा मेलो सघाउन नपाएको चिन्ता धेरै

असारको महिना सबैतिर खेती लगाउने चटारो छ । आफ्नै जमिन नभए पनि निशाको परिबारले अर्काको जमिनमा खेती गर्ने गरेका छन् । बुबा भारतमा मजदूरी गर्छन्, आमा, दुई दिदी र भाइलाई धान रोप्ने चटारो छ । कीर्तिमानी प्रदर्शनका बाबजुद निशालाई यसपाली रोपाईंमा आमालाई सघाउन नपाएकोमा चिन्ता छ ।

‘जितेपछि ममीसँग हिजो कुरा भएको थियो । कहिले घर आउने भनेर सोध्नुभयो । मैले जितेकोमा खुसी नै हुनुहुन्छ,’ निशाले भारतमा रहेका बुबासँग भने कुरा हुन नपाएको बताइन् । टिमभित्र भने जितेपछि बधाईको ओइरो लागेको छ ।

राखेपले यस संस्करणको राष्ट्रिपति रनिङ शिल्डमा उत्कृष्ठ प्रदर्शन गर्ने खेलाडी पहिचान गरी जुनियरस्तरमा नियमित प्रशिक्षण दिने बताएको छ । निशाको चाहना पनि यतै बसेर नियमित प्रशिक्षण गर्ने र अझै राम्रो प्रदर्शन गर्दै जाने नै छ । जुनियरस्तरमा राम्रो खेल्न थालेपछि उनी विभागीय टोलीको नजरमा पर्नेछिन् । अफर आएको खण्डमा परिवारसँग सल्लाह गर्नुपर्ने निशाले बताइन् ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?