+
+

एक वर्षमा कति बढ्यो तरकारीको मूल्य ?

एमाले नेता ज्ञवाली भन्छन् : तरकारी किनेर खानै नसक्ने आवस्था भयो

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ साउन २ गते १७:३९
फाइल तस्वीर

२ साउन, काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीप ज्ञवालीले सोमबार पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागको कार्यक्रममा तरकारी किनेर खानै नसक्ने आवस्था आएको गुनासो गरे । ‘मैले नै घरमा हरेक पटक एकथरी तरकारी पाक्नेछ भन्ने कुराको सम्झौता गर्नुपर्ने स्थिति भयो । दुईथरी तरकारी पकाउन सक्ने अवस्था कमसेकम मेरो चाहिं छैन । मन्त्री पनि भएँ, सांसद पनि धेरै वर्षदेखि छु, सकिंदैन’ उनले भनेका छन् ।

अहिले मूल्यवृद्धिले जनता आक्रान्त छन् । महँगीविरुद्ध सरकारले पर्याप्त अनुगमन र आपूर्ति व्यवस्थापन गरेको छैन । नेपाल राष्ट्र बैंककाअनुसार जेठ महिनासम्म महँगी वार्षिक ८ प्रतिशतभन्दा माथि गएको देखिन्छ । २०७३ सालपछिकै उच्च बिन्दुको महँगी जनताले अहिले झेलिरहेका छन् ।

एमाले नेतृत्वको सरकार ढलेर गठबन्धन सरकार बनेको एक वर्षमा कतिपय तरकारीको मूल्य अचाक्ली बढेको छ । कतिपय तरकारीको मूल्य भने गत वर्षको तुलनामा घटेको छ ।

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले दैनिक ७५ वटा तरकारी तथा फलफूलको मूल्य अध्यावधिक गर्छ । १५ असार २०७८ को तुलनामा यसवर्ष असारमा ३८ वटा तरकारी तथा फलफूलको मूल्य बढेको छ भने ३६ प्रकारका फलफूल तथा तरकारीको मूल्य घटेको छ । यस्तै ४ वटा तरकारी तथा फलफूलको मूल्य स्थिर छ ।

यस्तो छ दैनिक उपभोग्य तरकारीको मूल्य

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्षको तुलनामा आलुको प्रतिकिलो मूल्य ४ देखि किलोमा १२ रुपैयाँसम्मले यस वर्ष महँगिएको छ । यस्तै काउली किलोमा २५ रुपैयाँले सस्तो भएको छ भने काँक्रो किलोमा २९ रुपैयाँले महँगो भएको विवरण देखिन्छ ।

केरा दर्जनमा ३० रुपैयाँले बढ्दा अकबरे खुर्सानीको मूल्य किलोमा एक सय रुपैयाँले सस्तो भएको छ । गोलभेंडाको मूल्य प्रतिकिलो २० देखि ५१ रुपैयाँले बढेको देखिन्छ भने गाजरको मूल्य प्रतिकिलो २१ रुपैयाँले घटेको छ । घिउसिमीको मूल्य किलोमा १५ देखि २१ रुपैयाँसम्म घटेको छ भने घिरौंला र चिचिन्डाको मूल्य किलोमा १२ देखि २७ रुपैयाँसम्मले घटेको छ । करेलाको मूल्य प्रतिकिलो ३० रुपैयाँले घटेको छ भने तोरीको सागको मूल्य ११ रुपैयाँ किलोमा सस्तो भएको छ ।

निहुरो, पर्बर र पालुंगोको मूल्य पनि गतवर्ष भन्दा निकै घटेको देखिन्छ । गत वर्ष भन्दा निहुरो, पर्बर र पालुंगो सागको मूल्य क्रमशः प्रतिकिलो ११, ४३ र १० रुपैयाँले घटेको बजार विकास समितिले जनाएको छ । दैनिक भान्साको महत्वपूर्ण तरकारी बन्दा, बोडी र प्याजको मूल्य पनि समीक्षा अवधिमा घटेको छ । बन्दाको मूल्य प्रतिकिलो २९, बोडीको ३० र प्याजको मूल्य किलोमा ११ रुपैयाँले घटेको छ । यस्तै भन्टाको मूल्य किलोमा २० रुपैयाँले घटेको छ भने भिन्डीको मूल्य किलोमै ६० रुपैयाँले घटेको देखिन्छ ।

 

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?