+
+

हेपिएको महिला फुटबल

नमिता दाहाल नमिता दाहाल
२०७९ साउन ४ गते ७:२०

४ साउन, काठमाडौं । नेपालले लगातार दोस्रोपल्ट साफ महिला च्याम्पियनसिप फुटबलको आयोजना गर्दैछ । ऐतिहासिक उपाधिको प्रतीक्षामा रहेको नेपाली टिमको स्तर विकासमा भने नियामक निकाय अखिल नेपाल फुटबल संघ एन्फा उदासीन छ ।

दक्षिण एसियाली फुटबल फेडेरेसनले भदौ तेस्रो सातादेखि नेपालमा साफ महिला च्याम्पियनसिपको आयोजना गर्ने मिति तोकेको दुई साता भइसक्दा राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गरिएको छैन । यतिसम्म कि प्रशिक्षकको समेत टुंगो लागेको छैन ।

महिला टिमको तुलनामा पुरुष टिमलाई अधिक प्राथमिकता दिने एन्फाको परम्परागत समस्या हो । महिला टोलीका लागि प्रतियोगिता लक्षित तयारी हुँदै आएको छ । हरेक पल्ट फरक प्रशिक्षकले जिम्मा पाउने गरेका छन् ।

‘पुरुष टिमको नियमित प्रशिक्षण हुन्छ । प्रतियोगिताका लागि लामो तयारी हुन्छ । हामीलाई भने साफ च्याम्पियनसिपका लागि दुई महिनाको तयारी अवधि पनि दिइँदैन । अहिलेसम्म कसले प्रशिक्षण गराउने पनि थाहा छैन,’ राष्ट्रिय टिमकी एक सिनियर खेलाडी गुनासो गर्छिन् ।

साफको मिति घोषणा हुनुअघि नै नेपालले चीनको होङझोउमा हुने १९औं एसियाली खेलकुदमा महिला फुटबल समावेश गर्ने निर्णयअनुसार पछिल्लो एक महिनादेखि प्रशिक्षक बालगोपाल महर्जनले टिम सम्हालेका थिए । पुरुषतर्फ सफल नेपाली प्रशिक्षक महर्जनले साफका लागि पनि जिम्मेवारी पाउने निश्चित भएको छैन । राष्ट्रिय खेलकुद परिषद राखेपले अहिले एसियाड लक्षित प्रशिक्षण कार्यक्रम स्थगित गरेपछि खेलाडीहरु प्रशिक्षणविहीन छन् ।

पाँच संस्करणसम्म आउँदा चारपल्ट उपविजेता बनेको नेपाली टोलीका लागि भारत नै प्रमुख प्रतिस्पर्धी हो । महिला फुटबलमा पछिल्लो समय बंगलादेशले पनि फड्को मारेको छ । बन्द प्रशिक्षण नहुँदा भारतलाई हराउने आफ्नो लक्ष्यमा मनोवैज्ञानिक असर पर्न थालेको राष्ट्रिय टिमकी सिनियर खेलाडी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले बताइन् । ‘हामीले सधैं भारतसँग हार्नुको पछाडि पर्याप्त एक्सपोजर र तयारी नहुनु नै हो,’ अनलाइनखबरसँग एन्जिलाले भनिन् ।

एन्फा महिला विभाग प्रमुखसमेत रहेका र महिला टिमलाई प्रशिक्षणसमेत दिएका हरि खड्का घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य साकार पार्न मैत्रीपूर्ण खेलमा जोड दिनुपर्ने बताउँछन् । ‘एसियाडको तयारीकै प्रशिक्षण भइरहेको भए समस्या थिएन । राखेपले एसियाड तयारी रोके पनि महिला फुटबलको प्रशिक्षण नियमित भइराख्नुपर्ने थियो,’ राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत रहेका खड्काले बन्द प्रशिक्षण तत्काल सुरु गर्न एन्फासँग माग गरेका छन् ।

पछिल्लो पटक नेपाली महिला टिमले घरेलु मैदानमा बंगलादेशसँग खेलेको मैत्रीपूर्ण खेलमा नेपाल पहिलो खेलमा विजयी भए पनि दोस्रो खेल बराबरीमा रोकिएको थियो । अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुअघि बलिया टिमसँग मैत्रीपूर्ण खेल्न पाएको खण्डमा सिकेर प्रतियोगिता राम्रो खेल्न सक्ने खेलाडीहरुले बताए ।

नेपाली महिला फुटबलको इतिहासमा २०१४ पछि मलेसिया र बंगलादेश बाहेक अन्य कुनै देशसँग मैत्रीपूर्ण खेलेको छैन । ‘महिला टिमलाई दीर्घकालीन नीति र लगानीको जरुरत छ । नेपाली महिला फुटबलको प्रशिक्षण तथा एक्सपोजरमा ध्यान दिएमा महिला टिमले राम्रो गर्न सक्छ,’ खड्काले भने ।

भारतसँग मात्र पराजित

क्षेत्रीयस्तरमा महिला फुटबलको विकास लक्ष्यसहित सन् २०१० देखि सुरु भएको साफ महिला च्याम्पियनसिपको पाँच संस्करण सकिँदा नेपाल चारपल्ट उपविजेता बनेको छ । एकपल्ट सेमिफाइनलबाट बाहिरिएको छ । उल्लेखनीय कुरा के छ भने साफ च्याम्पियनसिपमा नेपालले भारतसँग मात्र पराजय बेहोरेको छ । बाँकी सबै देशविरुद्ध अपराजित छ । पाँचै संस्करण भारतले जितेको छ ।

साफमा भारतविरुद्ध नेपालको नतिजा

सन् २०१० : ०-१ (फाइनल)
सन् २०१२ : १-३ (फाइनल)
सन् २०१४ : ०-६ (फाइनल)
सन् २०१६ : १-३ (सेमिफाइनल)
सन् २०१९ : १-३ (फाइनल)

१२ वर्षको इतिहासमा नेपालले आफ्नो स्तर बढाउन सकेको छैन भने भारत निरन्तर उकालो लागिरहेको छ । नेपाली टिमको स्तर बढ्न नसक्नुमा सरोकार निकायले प्राथमिकता नदिनु नै मुख्य कारण रहेको खेलाडीहरुको अनुभव छ ।

‘भारतलाई हामी दक्षिण एसियाकै बलियो प्रतिस्पर्धी भनेर मान्छौं । भारतीय महिला टिमको प्रशिक्षण वर्षभरि नै हुन्छ । उनीहरु नियमित मैत्रीपूर्ण खेल खेलिरहेका छन् । त्यहाँका खेलाडीहरु युरोपको लिग खेल्नसक्ने भइसकेका छन्,’ एन्जिला भन्छिन् ।

हरेक प्रतियोगितामा नेपालको लक्ष्य भारतलाई हराएर उपाधि जित्ने हुन्छ । तर, उपाधि जित्ने गरी टिमको तयारीमा एन्फाको प्राथमिकता कति छ भन्ने अहिलेको यक्ष प्रश्न हो । नेपालकी गोलमेसिन सावित्रा भण्डारीको भनाइ पनि त्यस्तै छ ।

‘ठूला प्रतियोगिताअघि कम समयको प्रशिक्षणले हामी कहिल्यै माथि पुग्न सक्दैनौं । भारतलाई हराउने लक्ष्य राखेरमात्र हुँदैन त्यहीअनुसार सुविधा हुनुपर्छ । हामीले अत्यावश्वक प्रशिक्षण नै पाइरहेका छैनौं,’ पछिल्ला तीन संस्करणमा नेपालको अग्रपंक्ति संहालेकी सावित्राले अनलाइनखबरसँग भनिन् ।

सिनियरमा भारतको बाधा उस्तै छ । उमेरसमूहको प्रतियोगितामा नेपाल बंगलादेशसँग पनि पराजित हुन थालेको छ । मंसिरमा भएको यू-१९ महिला साफ र चैतमा भएको यू-१८ महिला साफमा नेपाल भारत र बंगलादेशसँग पराजित रहृयो । चैतमा भएको प्रतियोगितामा नेपाल जितविहीन हुन पुगेको थियो ।

‘स्थायी प्रशिक्षक र प्रशिक्षण भएन’

सावित्राको नजरमा महिला टिम स्तरोन्नतिको मुख्य बाधक भनेको प्रशिक्षक र प्रशिक्षणको अनिश्चितता नै हो । राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षक स्थायी छैनन् । प्रतियोगितालक्षित प्रशिक्षक नियुक्ति हुँदा खेलाडीहरु द्विविधामा पर्ने गरेका छन् ।

पछिल्लो समय टिमको जिम्मेवारी लिएका अष्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्सले छाडेपछि एक महिना अघिदेखि महर्जनलाई जिम्मेवारी दिइएको थियो । एसियाड स्थगित भएसँगै प्रशिक्षण रोकिएको छ । एन्फाले साफको लागि प्रशिक्षणको जिम्मेवारी कसलाई दिने हो टुंगो छैन ।

फरक प्रशिक्षकको फरक रणनीति र कम समयमा ठूलो प्रतियोगिता खेल्नुपर्ने दबाब खेलाडीलाई पर्ने गरेको एन्जिलाले बताइन् ।

साफ महिला च्याम्पियनसिप आयोजना र राष्ट्रिय टिम तयारीबारे निर्णय गर्न सोमबारका लागि बोलाइएको एन्फा कार्यसमिति बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि स्थगित भएको छ । बैठक बिहीबार बस्दैछ ।

एसियाडको लागि भनेर नियुक्त गरिएका प्रशिक्षक महर्जन पनि साफ च्याम्पियनसिपको जिम्मेवारी कसले पाउने हो अन्योलमा छन् । ‘मलाई एसियाडका लागि जिम्मा दिइएको थियो । त्योभन्दा अगाडि साफ हुँदैछ त्यसबारे अहिलेसम्म कुनै निर्देशन आएको छैन,’ महर्जनले अनलाइनखबरसँग भने ।

महिला फुटबलमा प्राथमिकता कम

अन्तर्राष्ट्रिय सहभागितामा मात्र होइन घरेलु फुटबलको संरचनामा पनि महिला फुटबललाई निकै कम प्राथमिकता दिइएको छ । पुरुष टिमको तुलनामा महिलाका प्रतियोगिता नगण्य हुन्छन् । एन्फा आफैंले गर्ने प्रतियोगिता पनि सीमित र कम समयमा सम्पन्न गर्नेगरी तयार गरिएका छन् ।

एन्फाले आयोजना गर्ने महिला राष्ट्रिय लिगको दोस्रो चरणका खेल नै आयोजना भएको छैन । गत चैतमा चितवनमा पहिलो चरणको प्रतियोगिता सम्पन्न भएपछि सोही महिनाको अन्तिमदेखि दोस्रो चरणको प्रतियोगिता मोरङमा गर्ने तय भएको थियो । तर, दोस्रो चरणका २८ खेल अहिलेसम्म आयोजना भएको छैन ।

एन्फाको अघिल्लो कार्यसमितिले महिला फुटबललाई प्राथमिकतामा राख्ने भन्दै रौतहटमा एकेडेमी निर्माण प्रक्रिया सुरु गरेको थियो । अदालती झमेलाले अहिलेसम्म एकेडेमी स्थापना गर्न सकिएको छैन । अघिल्लो महिना भएको निर्वाचनमा अध्यक्षमा चुनिएका नेम्वाङले एकेडेमी सञ्चालन गर्न पहल गर्ने बताएका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?