+
+

पोखराका करोडपति मेयर

पोखरा र काठमाडौंमा ४ वटा घर, २५ करोडको सेयर

अमृत सुवेदी अमृत सुवेदी
२०७९ साउन ४ गते २०:१६

४ साउन, पोखरा । पोखरा महानगरपालिका मेयर धनराज आचार्यले बुधबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सम्पत्ति विवरण अनुसार उनले पुर्ख्यौलीबाहेक ५० करोड रुपैयाँ निजी आर्जन गरेका छन् ।

उनले पोखरा र काठमाडौंमा चारवटा घर र जग्गा रहेको खुलाएका छन् । श्रीमती पुष्पाकुमारीको नाममा दुई ठाउँमा घर जग्गा देखाएका छन् । पोखरा महानगरपालिका–९ मा २८९ वर्गमिटर जग्गामा उनको दुईवटा घर छ । त्यसको मूल्य ९ करोड २५ लाख रुपैयाँ रहेको आचार्यले उल्लेख गरेका छन् ।

श्रीमती पुष्पाकुमारीकै नाममा काठमाडौं सीता पाइलामा मेयर आचार्यको ९२५ वर्गफिटको २ कित्ता जग्गामा उनको घर छ । जसको मूल्य १ करोड ८५ लाख रुपैयाँ रहेको मेयर आचार्यले खुलाएका छन् ।

पोखरा महानगरपालिका–११ मा आफ्नै नाममा दुई कित्ता जग्गा र घर रहेको मेयर आचार्यले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । तर, त्यहाँ कति क्षेत्रफल छ भन्ने नखुलाएका मेयर आचार्यले त्यसको मूल्य भने ३ करोड ५० रुपैयाँ पर्ने विवरणमा सार्वजनिक गरेका छन् ।

यसैगरी दोलखामा ५८ रोपनी ७ आना जग्गा मेयर आचार्यले खरिद गरेका छन् । जसको मूल्य ८७ लाख रुपैयाँ पर्ने उनले खुलाएका छन् ।

नगद र बैंक मौज्दात गरी १५ लाख नगद मौज्दात राखेका मेयर आचार्यको २५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सेयर र विभिन्न कम्पनीमा लगानी छ । कुन/कुन कम्पनीमा कति सेयर छ भन्ने विषय भने मेयर आचार्यले खुलाएका छैनन् ।

मादी गाउँपालिकास्थित सुपर मादी हाइड्रो र हेवा खोला हाइड्रो पावरका प्रमुख सञ्चालक रहेका आचार्यसमेत संलग्न तमोर जलविद्युत आयोजना निर्माणको चरणमा रहेको छ । उनको मेगा बैंक र सिटी डेभलपमेन्ट बैंकमा मेयर आचार्यको प्रमुख सेयर छ ।

मेयर आचार्यले आफूसँग २ करोड रुपैयाँ बराबरको कार, भ्यान र ३ वटा स्कुटर रहेको खुलाएका छन् । टोयटा र्‍याभ फोर, रेनल्र्ट क्विड कार, ओम्नी भ्यान एक वटा र ३ वटा स्कुटर आफूसँग रहेको मेयर आचार्यले सम्पत्ति विवरणमा सार्वजनिक गरेका छन् ।

जम्माजम्मी ४३ करोड ६१ लाख ४५ हजार ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सम्पत्ति देखाएका मेयर आचार्यले २ करोड ८५ लाख रुपैयाँ ऋण पनि देखाएका छन् । अहिले ऋणबाहेक ४० करोड, ७६ लाख, ४५ हजार ६ सय रुपैयाँ बराबरको आफूसँग सम्पत्ति रहेको मेयर आचार्यले सार्वजनिक गरेका छन् ।

यस्तै मेयर आचार्यसँग ५ तोला हिरा, ५४ तोला सुन र ३८ तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

पोखरा पृथ्वीनारायण क्याम्पसको कोषाध्यक्षको जिम्मेवारीमा हुँदा व्यवसाय सुरु गरेका पोखरा मेयर धनराज आचार्यको स्वामित्वमा दुई दर्जन भन्दा बढी व्यवसाय छन् ।

२०४९ सालमा सानो लगानीमा पोखरा महानगरपालिका–१ बगर पृथ्वीनारायण क्याम्पसको गेटबाहिर प्रोभिजनल स्टोर्सबाट व्यवसाय सुरु गरेका मेयर आचार्य ३० वर्षपछि करोडौंको मालिक बने ।

पोखरा महानगरपालिका–३३, साविक भरतपोखरी गाविसमा जन्मिएका आचार्यले विद्यार्थी राजनीति गर्दै गर्दा व्यवसायमा हात हालेका थिए । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबाट २०५१ सालमा आचार्य पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति बनेका थिए । स्ववियु सभापतिपछि राजनीतिभन्दा बढी व्यवसायमा केन्द्रित बनेका आचार्य अहिले आधा अर्बको सम्पतिको मालिक बनेका हुन् ।

प्रोभिजनल स्टोर्स, हेलो स्टेशनरी, युनाइटेड पब्लिकेसन हुँदै व्यवसायमा अघि बढेका आचार्यसँग अहिले जलविद्युत, शैक्षिक सामग्री उद्योग, स्कुल कलेज, मल उद्योग, कृषि, पर्यटन, बैंकिङ, हस्पिटालिटी जस्ता साना ठूला २ दर्जन व्यावसायिक प्रतिष्ठानको स्वामित्व छ ।

एमाले फुटेपछि तत्कालीन माले र फेरि एमालेमै फर्किएर विभिन्न पेशागत संगठनमा आवद्ध आचार्य यसपटक भने फेरि एमाले फुटको फाइदा उठाउँदै एकीकृत समाजवादीबाट पोखराको मेयर बन्न सफल भएका छन् ।

पछिल्लो समय राजनीतिभन्दा ब्यापार व्यवसायमा केन्द्रित भएर फेरि पैसाको बलमा राजनीतिमा फर्किएको भन्दै उनीमाथि प्रश्न उठ्ने गरेको थियो । त्यही बेला मेयर भएलगत्तै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने बताएका आचार्यले मेयर बनेको ६० दिनभित्रै सम्पत्ति सार्वजनिक गरेका हुन् ।

मेयर आचार्यले उपमेयर मञ्जुदेवी गुरुङ र अन्य वडाध्यक्षहरुलाई पनि सम्पत्ति विवरण सार्वजनिक गर्न आग्रह गरेको बताए । यसअघिका मेयर मानबहादुर जिसी, उपाध्यक्ष मञ्जुदेवी गुरुङ र अन्य पालिकाका जनप्रतिनिधिले सम्पत्ति विवरण सार्वजनिक गरेका थिएनन् ।

मेयर आचार्यले सार्वजनिक पद धारण गरिसकेपछि जनतासामु आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको र अब पनि जनताले प्रश्न उठाउने ठाउँ नराख्ने प्रतिवद्धता जनाए । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा जेठ ११ गते मेयरमा निर्वाचित आचार्यले १२ गते पदभार सम्हालेका थिए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?