+
+

कांग्रेस निकट पत्रकारलाई देउवाको निर्देशन : चुनावलाई सहयोग हुने गरी कलम चलाउनुहोस्

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १३:४३

६ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुन लागेको चुनाव स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सहयोग पुग्ने गरी कलम चलाउन पत्रकारलाई अनुरोध गरेका छन् ।

नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनलाई हेटौंडामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकार छिट्टै प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने तयारीमा रहेको बताए ।

हरेक परिवर्तनमा प्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले कोरोनाकालमा नेपालको सञ्चार क्षेत्रले निभाएको भूमिकाको प्रशंसा गरे । निष्पक्ष र स्वतन्त्र पत्रकारितासँगै पत्रकारिता क्षेत्रले नयाँ नयाँ प्रविधिलाई पनि ग्रहण गर्दै अघि बढ्नुपर्ने उनले बताए । पत्रकारिता क्षेत्र थप जिम्मेवार र उत्तरदायी रहन आवश्यक रहेको भन्दै निष्पक्ष पत्रकारिताको माध्यमबाट मात्रै नेपालको लोकतन्त्र बलियो हुने उनले बताए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई अक्षुण्ण राख्न सरकार प्रतिबद्ध रहेको बताए । नेपाल श्रीलंका पथमा जाँदैछ भन्ने अफवाह चिर्नका लागि स्वतन्त्र पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने उनले बताए । ‘नेपालको अर्थतन्त्रमा समस्या छ तर श्रीलंका पथमा जाँदैन’, उनले भने, ‘नेपाल चाँडै दक्षिण एसियामा सबल अर्थतन्त्र भएको मुलुकको रुपमा उदाउनेछ ।’

हेटौंडामा सुरु भएको नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा देशभरबाट १ हजार ६४० प्रतिनिधि सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?