+
+

रुसद्वारा युक्रेनको बन्दरगाह शहर ओडेसामा आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते ६:५९
Photo Credit : Reuters

८ साउन, काठमाडौं । रुस र युक्रेनबीच कालो सागर हुँदै अन्न निर्यात गर्ने सम्झौता भएको २४ घण्टामै युक्रेनको बन्दरगाह शहर ओडेसामा रुसले मिसाइल आक्रमण गरेको छ । युक्रेनको विदेश मन्त्रालयले यही आक्रमणका कारण यदि अन्न निर्यात सम्झौता कार्यान्वयन नभएमा त्यसको जिम्मेवार रुस हुने चेतावनी दिएको छ ।

युक्रेनी सेनाका अनुसार ओडेसामा चार मिसाइल प्रहार भएका थिए, तीमध्ये दुईवटालाई निष्कृय पारिएको थियो । दुई वटा क्यालिबर क्रुज मिसाइल भने बन्दरगाहमा खसे । युक्रेनले मिसाइल आक्रमणबाट क्षति पुगे पनि अन्न निर्यातको तयारी भने जारी रहेको जनाएको छ ।

ओडेसाबाट मन्त्री बनेका ओलेक्सी गोन्चारेन्कोले रुसले बन्दरगाहमा आक्रमण गरेर सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘सम्झौता अनुसार रुसले कुनै पनि बन्दरगाहमा आक्रमण गर्ने छैन किनभने यसबाट निर्यात प्रभावित हुनसक्छ । यस आक्रमणको नतिजा के हुन्छ मलाई थाहा छैन तर अन्न ढुवानी गर्ने जहाजको आउ–जाउमा समस्या हुनसक्छ ।’

संयुक्त राष्ट्रसंघले आक्रमणको निन्दा गरेको छ र अन्न निर्यात सम्बन्धी सम्झौता लागू गर्न आवश्यक रहेको जनाएको छ ।

यसैगरी युरोपेली संघका विदेश नीति मामिलाका प्रमुख जुसेप बुरेलले अन्न निर्यातका लागि महत्वपूर्ण स्थानमा हमला गरेर रुसले अन्तर्राष्ट्रिय नियमको उल्लंघन गरेको जनाएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार्यालयले रुसले खाद्य संकट सिर्जना गर्न योजनाबद्ध आक्रमण गरेको आरोप लगाएको छ । रुसबाट भने यसबारे कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।

शुक्रबार युक्रेन र रुसका अधिकारीहरूबीच युक्रेनबाट दशौं लाख टन खाद्यान्न निर्यात खोल्ने सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौतामा रुसले अन्न बोकेका पानीजहाज र बन्दरगाहलाई आक्रमण नगर्ने लगायतका बुँदा उल्लेख रहेको बीबीसीले जनाएको छ । तर शनिबार बन्दरगाह शहरमै आक्रमण गरेपछि रुसको आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?