+
+

उद्योगमैत्री वातावरण नै प्रदेश समृद्धिको मूल आधार : मुख्यमन्त्री राउत

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १७ गते १८:००

१७ साउन, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्योगमैत्री वातावरण नै प्रदेशको समृद्धिको मूल आधार भएको बताएका छन् । उद्योगमैत्री वातावरणविना प्रदेश वा देशको समृद्धिको परिकल्पना गर्न नसकिने उनको भनाइ थियो ।

बाराको सिमरामा आयोजित मधेश प्रदेश औद्योगिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले उद्योगहरुको स्थापनादेखि सञ्चालनसम्मका विभिन्न समस्यालाई समाधान गर्न प्रदेश सरकार एकद्वार प्रणालीमार्फत अघि बढेको बताए । उनले वीरगञ्जमा उद्योग विभाग स्थापनाको निर्णय सरकारले गरेको जानकारी समेत गराए । उनले प्रदेशमा रोजगारी बढाउन उद्योगीहरुलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले मधेश प्रदेशका उद्योगीले अन्य प्रदेशमा बिजुली उत्पादन गरेर मधेश प्रदेशमा ल्याउन सक्ने बताए । त्यसका लागि पावर ह्लीङलगायतको व्यवस्था आवश्यक पर्ने उनले बताए । उनले अन्य प्रदेशका विद्युत् उत्पादकसँग मधेश प्रदेशका उद्योगहरुले सोझै विद्युत् खरिद गर्न पाउने गरी व्यवस्था मिलाउन आग्रह गरे ।

परिसंघका उपाध्यक्ष राजेश अग्रवालले समृद्धिका लागि निजी क्षेत्रसँग निरन्तर वार्ता, छलफल आवश्यक पर्ने बताए । लगानीकर्तालाई लगानी ल्याउने, विस्तार गर्ने वातावरणमा सहजीकरण आवश्यक पर्ने भन्दै उनले निजी क्षेत्रलाई नयाँ कानून र नियमावलीको बारेमा जानकारी गराउनुपर्ने बताए ।

परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले पूर्वाधार विकासको महत्वपूर्ण आधार भएकाले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकता, नीतिगत लगायत सुधारका लागि सरकार एवं सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन परिसंघले नेपाल पूर्वाधार सम्मेलन आयोजना गर्दै आइरहेको जानकारी गराए ।

पाण्डेका अनुसार आगामी २३ र २४ भदौमा चौथो नेपाल पूर्वाधार सम्मेलन हुनेछ । सम्मेलन उद्घाटनमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले मधेश प्रदेशमा ठूलो आर्थिक सम्भावना रहेको बताइन् । यो सम्मेलन सार्वजनिक निजी सम्वाद र सहयोगका लागि महत्वपूर्ण प्लेटफर्म भएको उनको भनाइ छ ।

सम्मेलनबाट बारा–पर्सा उद्योग संघ गठन भएको छ । संघको अध्यक्षमा वीरेन्द्र संघाई चयन भएका छन् । नेपाल उद्योग परिसंघले संगठन विस्तार गर्ने क्रममा बारा–पर्सा उद्योग संघ गठन गरेको हो । परिसंघले आर्थिक वृद्धि एवं लगानीको विषयलाई केन्द्रित गरी सम्मेलन आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?