+
+

फोहोरको थुप्रोले कालीमाटीको मुख्य प्रवेशद्वार नै बन्द

रासस रासस
२०७९ साउन २८ गते १८:३४

२८ साउन, काठमाडौं । नियमित रुपमा फोहोर व्यवस्थापन हुन नसक्दा कालीमाटी तरकारी बजार प्रवेश गर्ने मुख्य प्रवेशद्वार नै बन्द भएको छ । कालीमाटीबाट तरकारी बजार प्रवेश गर्नका लागि तीन प्रवेशद्वार रहेकामा दुई स्थानबाट सवारीसाधन आवतजावत गर्ने एउटा मानिसका लागि बनाइएको हो ।

दुई महिनादेखि कालीमाटी क्षेत्रको फोहोर व्यवस्थापन हुन नसक्दा तरकारी बजारबाट निस्केको फोहोर र घरबाट निस्केको फोहोरसमेत मानिस आवतजावत गर्ने प्रवेशद्वारमा फल्ने गरिएकाले अहिले उक्त स्थानबाट आवतजावत गर्न सकिने अवस्था छैन ।

फोहोरकै कारण मानिसले यो प्रवेशद्वार प्रयोग गर्न नपाएको कालीमाटीमा केरा बेच्दै आएकी रमिता लामाको भनाइ छ । उनका अनुसार दुई महिनादेखि यस क्षेत्रमा फोहोर उठाउने गाडी आएका छैनन् । कालीमाटीमा गाडी रोकेर यात्रु ओराल्ने र चढाउने स्थानमा पनि फोहोरको डङ्गुर थुपारिएकाले यात्रुलाई समस्या पर्नाका साथै फुटपाथमा आवतजावत गर्नसमेत कठिन छ ।

कालीमाटीमा मात्रै होइन उपत्यकाको अन्य स्थानमा पनि फोहोर थुप्रिएकाले दैनिक जनजीवनमा असर परेको छ । कलङ्की, कालीमाटी, बल्खु, अनामनगर, थापागाउँ, बानेश्वर, कोटेश्वरलगायत स्थानमा लामो समयदेखिको फोहोर सडक किनारामा हुँदा थुप्रिदा समस्या भएको हो ।

आजदेखि फोहोर व्यवस्थापन

यही साउन २२ गते काठमाडौँ उपत्यकाबाट फोहर बोकेर अन्तिम व्यवस्थापन स्थल जाने क्रममा सिसडोलवासीले गाडी तोडफोड गरेपछि व्यवस्थापन हुन नसकेको फोहोर शनिबारदेखि पुनः सुरु भएको छ ।

काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राई कहिले स्थानीयवासीको अवरोध, कहिले बाटोका कारण त कहिले गाडी तोडफोड हुँदा फोहोर व्यवस्थापनमा समस्या आएको र आगामी दिनमा अन्य अवरोध सिर्जना नभए नियमितरुपमा फोहोर व्यवस्थापन हुने बताउँछन् ।

पछिल्लो समय जटिल बनिरहेको उपत्यकाबाट उत्पादित कुहिने फोहोर व्यवस्थापनका लागि स्थान पहिचानको काम भइरहेको पनि काठमाडौं महानगरपालिकाले जनाएको छ । कामपाले अन्य स्थानीय तहसँगको सहकार्यमा कुहिने फोहोरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त भएको र सोही स्थानबाट नै काम सुरु गर्ने जनाएको छ ।

उक्त स्थानमा अहिले दैनिक ४० हजार किलो त्यस्ता फोहोर व्यवस्थापन गरी मल उत्पादन गर्ने सकिने बताइएको छ । उक्त स्थानमा हाल आठ वडाबाट उत्पादन हुने कुहिने फोहोर व्यवस्थापन गर्न सकिनेछ । उत्पादित मल सहुलियत दरमा बिक्री गर्ने तयारी पनि कामपाको छ ।

योसँगै उपत्यकाको अन्य स्थानमा पनि थप जग्गा खोज्ने काम भइरहेको छ । सबै किसिमका फोहोर बञ्चरेडाँडा पुर्‍याउँदा पटकपटक समस्या आएकाले प्रभावकारी रूपमा फोहरको दीर्घ समाधानका लागि स्थान पहिचानमा समय लागेको हो । बञ्चरेडाँडामा हानिकारक फोहोर व्यवस्थापन नगर्ने योजनाअनुरुप कामपाले यस किसिमको अभ्यास सुरु गरेको छ ।

कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार हाल अन्य सम्भावित स्थान पहिचान गर्ने काम पनि जारी छ । यसअन्तर्गत चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन, तारकेश्वर र उपत्यका बाहिर बनेपाका साथै अन्य स्थानमा पनि महानगर प्रमुख बालेन्द्र (बालेन) शाहको नेतृत्वमा जग्गा खोज्ने काम भइरहेको छ । हालसम्म उपलब्ध भएका जग्गामा ५० रोपनीदेखि एक सय ५० रोपनीसम्मको छ । अझै बढी उपयुक्त र कम खर्चिलो जग्गाको खोजीमा लागिरहेको उनले बताए ।

फोहोर स्रोतमै वर्गीकरण प्रभावकारी भएन

फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि कामपाले यही साउन एक गतेदेखि स्रोतमा नै फोहोर वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर फरकफरक तरिकाबाट व्यवस्थापनको काम सुरु गरेको थियो ।

सुरुका केही दिनमा वर्गीकरण गरिएको फोहर व्यवस्थापन गरिए पनि अहिले सबै किसिमका फोहोर एकै भाँडोमा राखेर आउने गरेको कामपाकै भनाइ छ । यसलाई आगामी दिनमा प्रभावकारी बनाउनका लागि नियमित अनुगमन गरी फोहोरमैला व्यवस्थापन ऐन २०६८ अनुसार दण्ड जरिवाना गर्ने तयारी गरिएको छ ।

कामपाको कूल ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । फोहर वर्गीकरण योजना भने ३२सै वडामा लागू गरिएको छ । कामपाले मात्रै फोहोर व्यवस्थापन गर्दै आएको नौ वडामा सबै दिन नियमितरुपमा फोहर व्यवस्थापन भइरहेको छ । निजी संस्थाले फोहोर व्यवस्थापन गर्दै आएको स्थानमा भने विगत दुई महिनादेखि फोहर व्यवस्थापन हुन नसकेको स्थानीयवासीले गुनासो गरेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?