+
+
पुस्तक समीक्षा :

पल्पसा क्याफे, महाभारा, विमुक्ति र म

मध्यम वर्गको दृष्टिकोणबाट यी पुस्तकहरू नियाल्दा त्यहाँभित्र लेखकहरूको विचारमा फ्युजन, कन्फ्युजन, आशा र निराशा देखिन्छ ।

हिसिला यमी हिसिला यमी
२०७९ भदौ ४ गते १८:०५

आज विश्व युद्धमय भएको छ । युद्धको कुरा आएपछि शान्तिको पनि कुरा आउँछ । युद्ध र शान्तिको परिस्थिति आफ्नै आँखाले देखेकी छु ! भोगेकी छु र शब्दमा उतारेर पुस्तक नै लेखेकी छु । मेरो पछिल्लो पुस्तक ‘हिसिलाः अ रेभ्युलुसनरी टु फस्ट लेडी’ यस्तै अनुभूतिका फूलहरू उनिएको माला हो ।

उक्त पुस्तक लेखेपछि मैले नेपालमा ‘जनयुद्ध’ सम्बन्धमा लेखिएका पुस्तक खोजी-खोजी पढ्न थालेकी छु । मैले देखेको र भोगेको युद्धलाई अरूले कसरी बुझेका रहेछन् भनेर जान्ने कौतूहल हरेक पुस्तक पढेपछि झन् बढेर आउँछ ।

‘पल्पसा क्याफे’, ‘महाभारा’ र ‘विमुक्ति’ तीनवटै पुस्तक पढें । यी पुस्तकहरूलाई मैले आफ्नै मध्यमवर्गीय मनस्थितिबाट हेर्न थालें । आखिरमा यी तीनै पुस्तकमा के के समानता र फरक छन् ? केही अनुभूति शब्दमा उतार्न मन लाग्यो ।

यी तीनै पुस्तक ‘जनयुद्ध’ सम्बन्धी उपन्यास हुन् । पल्पसा क्याफे ‘जनयुद्ध’ चलिरहँदा नै लेखिएको हो भने विमुक्ति ‘जनयुद्ध’लगत्तै लेखिएको हो । तर, महाभारा भने ‘जनयुद्ध’ रोकिएपछि मात्र नभएर माओवादी पार्टी पटक-पटक सत्तामा गएपछि लेखिएको पुस्तक हो ।

मजाको कुरा केमा छ भने तीनै वटा पुस्तकका लेखक क्रमशः नारायण वाग्ले, मल्ल के सुन्दर र बसन्त बस्नेत पत्रकारिता पृष्ठभूमिका हुन् भने मल्ल के सुन्दर त एक प्रतिष्ठित नागरिक अगुवा पनि हुन् । त्यसैले त ‘पल्पसा क्याफे’ मदन पुरस्कार विजेता नै बन्न सफल भयो । अहिले ‘महाभारा’ पनि मदन पुरस्कार विजेता बन्ने दौडमा समावेश भएको छ ।

अझ विमुक्ति त मेरो विचारमा मदन पुरस्कार विजेता नै हुनुपर्ने हो । सायद यो पुस्तक नेपाली भाषामा अनुवादित भएर नपाएको हो कि ? नेपाल भाषामा लेखेको पुस्तक ‘व लँपु ध्व पलाः’ बाट अनूवादित पुस्तक हो ‘विमुक्ति’ । जो असाध्यै फरक परिस्थिति र परिवेशमा लेखेको पुस्तक हो ।

यी पुस्तकहरू पढ्दा तीनै लेखक युद्ध पत्रकार भएको अनुभूति हुन्छ । किनकि ‘जनयुद्ध’मा माओवादी र पुरानो सत्ता दुवै पक्षबाट भएका घटनाहरूलाई गहिराइमा गएर कलात्मक ढंगले कहानीमा उनेको देखिन्छ ।

मध्यम वर्गीय लेखकहरूद्वारा लिखित तीनै पुस्तकमा लेखकीय वर्ग चरित्र झल्किन्छ । स्वभावतः ती पुस्तकहरूमा फरक-फरक पात्र, क्षेत्र, वर्ग, सन्दर्भ र दृष्टिकोण अभिव्यक्त भएका छन् । घटना एउटै हो, तर लेखकअनुसार फरक दृष्टिकोण हुनसक्छ भन्ने कुरा यहाँ दिनको घामजस्तै छर्लङ्ग भएको छ ।

पल्पसा क्याफेले जनयुद्धलाई एउटा मध्यम वर्ग मात्र नभएर अभिजात वर्गीय स्वच्छन्दतावादी चित्रकारको आँखाबाट हेरिएको छ । उपन्यासमा काठमाडौं र न्यूयोर्कमा बसिरहेका मध्यम वर्गका दुई प्रेमी-प्रेमिका दृश्य र पल्पसाको बुझाइ उतारिएको छ । ‘जनयुद्ध’को क्रममा कसरी जनमुक्ति सेना र नेपाली सेनाको द्वन्द्वबाट घटित घटनाहरूबाट उनीहरू पीडित भए भन्ने कुरालाई कलात्मक ढंगले उपन्यासमा चित्रण गरिएको छ ।

अब म आफूलाई बढी मध्यम वर्गको धरातलमा उभ्याउन खोजिरहेकी छु । तसर्थ, मध्यम वर्गको दृष्टिकोणबाट यी पुस्तकहरू नियाल्दा त्यहाँभित्र लेखकहरूको विचारमा फ्युजन, कन्फ्युजन, आशा र निराशा देखिन्छ

मुख्य पात्र दृश्य चित्रकार हुन्छन् र उनीसँग पे्रममा लपेटिंदै गएकी प्रेमिका पल्पसा डकुमेन्टरी फिल्म मेकर हुन् । उनीहरूबीचको अनौठो लुकामारी प्रेमकथाले यो किताबलाई कलात्मक दृष्टिले मगमग बसाएको आभास हुन्छ ।

वाइन-क्याफे, कफी-क्याट, गल्र्स-ग्यालरी, इमेल-इङ्ग्लिस, पेन्टिङ, पर्यटनले भरिपूर्ण यो पुस्तकले काठमाडौंमा हुर्कंदै गएको आधुनिक स्वच्छन्दतावादी मनोविज्ञानलाई राम्ररी चित्रण गरेको छ । आफूले बारम्बार म अराजनीतिक हुँ भन्दाभन्दै राजनीतिक वातावरणमा लत्पतिंदै अन्त्यमा बेपत्ताको सिकार हुन गएको कथा पुस्तकमा उतारिएको छ । यो कथावस्तुमा निराशावादी दृष्टिकोण प्रयोग गरेर ‘जनयुद्ध’को ‘अनुहार’ अभिजात वर्गीय अभीष्ट अनुसार प्रस्तुत गर्न खोजिएको छ ।

पल्पसा क्याफेभन्दा निकै फरक प्रसंग, क्षेत्र, वर्ग, समुदाय र परिवेशमा लेखिएको ‘महाभारा’ मूलतः एउटा लम्पट सर्वहाराको प्रतीक डुक्पाको माध्यमबाट ‘जनयुद्ध’ लाई नियालिएको छ । इलामको पृष्ठभूमिमा कसरी डुक्पा ट्रक ड्राइभर हुने आकांक्षा लिएर मधेश झरे ? अनायासै कसरी माओवादी संगठनमा जोडिन पुगे ? उपन्यासमा राम्ररी चित्रण गरेको छ ।

कसरी लम्पट सर्वहारा वर्गीय स्टाइलमा तामाङ केटो डुक्पा आफूभन्दा जेठी, बढी पढेकी, तुलनात्मक रूपमा धनी लिम्बू केटी सुकमतीसँग प्रेममा फसे ? यो कथा कोरिरहँदा स्थानीय भाषा, शैली, मनोविज्ञान र मौलिकतालाई उतारिएको छ, जुन पुस्तकको सबल पक्ष हो ।

पात्रहरूको स्थानीय ढुंगा-माटोप्रतिको विश्वासले त्यो मातृभूमिप्रतिको अपनत्वलाई राम्ररी चित्रण गरेको छ । तर डुक्पासँगको यो विछोडले कसरी सुकमती अनायासै लारुम्बाको धार्मिक संस्थामा लेपेटिन पुगिन् ? यहीबीचमा सुरु हुन्छ प्रेम, राजनीति र धर्मबीचको अन्तरविरोध !

अन्त्यमा दुवै पात्र साधारण जीवनमा र्फकन्छन् र मिलनविन्दुमा पुर्‍याएर कथा टुङ्गन्िछ । यो पुस्तकको पात्र, ठाउँ र परिवेश बढी यथार्थको नजिक देख्छु । कारण ग्रामीण क्षेत्रमा हुने विवरण एउटा लम्पट सर्वहारा वर्गका पात्र र साथै अर्धसंगठित माओवादी पात्र जो ‘जनयुद्ध’को दौरानमा धेरैको संलग्नता थियो ।

‘विमुक्ति’ पुस्तक ‘पल्पसा क्याफे’ र ‘महाभारा’ भन्दा धेरै फरक पृष्ठभूमि, स्टाइल र विचारमा आधारित छ । यो पुस्तकमा अचारजस्तो चाटीचाटी स्वाद लिन कुनै प्रेम सम्बन्ध छैन । दुई पात्र हुन्छन्, दुवै महिला । दुवै पूर्णकालीन कार्यकर्ता । दुवैले घरगृहस्थी छोडेका छन् । एउटा भिक्षुणी ‘विश्राम’ भएर विहारमा कार्यरत हुन्छिन् भने अर्की विद्रोही ‘मुक्ता’ भएर पार्टीमा कार्यरत छिन् ।

पहेंलो र हरियो वस्त्रधारण गर्ने भन्ने वादविवाद र संवादमा जुट्छन् । यही संवादमा आधारित यो पुस्तकमा ‘जनयुद्ध’को परिवेशलाई यसरी प्रवेश गराइएको छ कि क्रान्ति कि शान्तिको बहसलाई निकै कलात्मक ढंगले बुनिएको देखिन्छ । वर्ग र वर्ग समन्वयको विषय थाहा नै नपाइकन पात्रहरू रूपान्तरण भएको देखिन्छ ।

पुस्तकले घटना र परिवेशले दुवैलाई एकैठाउँमा ल्याएर बन्दुक, विहार र विचारलाई झक्झकाइराख्छ ।

म आफैं जन्मले बुद्धिस्ट हुँ । बुद्ध भन्छन्, ‘आफूले आफैंलाई चिन्नु र अरूको आँखाबाट आफूलाई चिन्नू ।’ यो भनाइले मलाई पनि बेलाबखत छोइराख्छ । ‘जनयुद्ध’मा आफैं सहभागी भएको बेला मैले आफ्नो मध्यम वर्गीय धरातल छोडेकै हो र, सर्वहारा वर्गको धरातलमा टेक्न कोसिस गरेकै हो ।

तर अब मैले माओवादी पार्टी छाडेकी छु । देशको समृद्धिको लागि समावेशी लोकतन्त्र र समावेशी विचार अँगालेकी छु । अब म आफूलाई बढी मध्यम वर्गको धरातलमा उभ्याउन खोजिरहेकी छु । तसर्थ, मध्यम वर्गको दृष्टिकोणबाट यी पुस्तकहरू नियाल्दा त्यहाँभित्र लेखकहरूको विचारमा फ्युजन, कन्फ्युजन, आशा र निराशा देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?