+
+

राष्ट्रिय खेलकुदको मिति नजिकिँदै, मैदानकै छैन टुंगो

विकास रोकामगर विकास रोकामगर
२०७९ भदौ ५ गते १९:२१

५ भदौ, पोखरा । ०७५ सालमा नेपालगञ्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समानकै बेलामा नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा गर्ने घोषणा गरिएको थियो । उक्त घोषणा अनुसार २०७७ सालमै नवौं खेलकुद हुनुपर्ने हो, तर कोरोना महामारी एवं तयारी अभाव देखाउँदै राष्ट्रिय खेलकुद परिषद्ले पटक–पटक नयाँ मिति तोक्दै र सार्दै आइरह्यो ।

पछिल्लो पटक असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकीमा प्रतियोगिता हुने मिति तोकिएको छ । हालसम्म सोही मितिमा प्रतियोगिता गर्ने गरी तयारी तीव्र पारिएको छ ।

प्रतियोगिता सुरु हुन अब ५३ दिनमात्रै बाँकी छ । आसन्न प्रतियोगितामा ३६ वटा प्रतियोगितात्मक र २ प्रदर्शन खेल गरी ३८ वटा खेल समावेश गरिएको छ । प्रतियोगितामा प्रतियोगी छनोट गर्न शुक्रबारदेखि नै गण्डकी प्रदेशले विशेष प्रशिक्षणसमेत सुरु गरिसकेको छ ।

तर, प्रतियोगिता मिति नजिकिँदै गर्दासमेत कुन खेल कहाँ खेल्ने भन्नेबारे अझै टुंगो लागेको छैन । खेलस्थल व्यवस्थापन उपसमिति संयोजक राजेश गुरुङ सकभर सबै खेल गण्डकीमै खेलाउने गरी खेलस्थलको खोजी र तयारी भइरहेको बताउँछन् ।

उनका अनुसार अहिले खेलस्थलका निरीक्षणका लागि गण्डकीका विभिन्न जिल्लामा अवलोकन, निरीक्षण गर्ने काम भइरहेको छ ।

‘अहिले हामी ठाउँ हेरिरहेका छौं । गण्डकीका जिल्लाहरु घुमिरहेका छौं । मनाङ, मुस्ताङ र लमजुङ जिल्ला हेर्न बाँकी छ,’ गुरुङले अनलाइनखबरसँग भने, ‘प्रारम्भिक रुपमा मोटामोटी तयार भएको छ । यसमा बसेर छलफल गर्नुपर्नेछ ।’

पुरुष क्रिकेट प्रतियोगिता भने काठमाडौंको कीर्तिपुर मैदानमा गर्ने प्रारम्भिक तयारी छ । तर, बाँकी खेल हुने स्थलको विषयमा भने १५ भदौसम्म टुंगो लाग्न सक्ने गुरुङले जानकारी दिए ।

महिला तथा पुरुष फुटबलको विषयमा पनि छलफललाई तीव्र बनाइरहेको राखेपले जनाएको छ । यसका लागि खेलस्थल व्यवस्थापन उपसमितिले पोखराका रंगशालास्थित फुटबल मैदान र अन्य मैदानको पनि अध्ययन अवलोकन गरेको थियो ।

‘फुटबलको पनि मोटामोटी अध्ययन भइसकेको छ । टेक्निकल कमिटी भोलि (सोमबार) पोखरा आउँदैछन् । उनीहरुसँग बसेर के गर्ने, कसो गर्ने छलफल हुन्छ,’ गुरुङले भने । निर्माणाधीन पोखरा फुटबल स्टेडियममा यसअघि १३ औं साग अन्तर्गत महिला फुटबल प्रतियोगिता सञ्चालन गरिएको थियो ।

सबैभन्दा बढी दुविधामा रहेको स्वीमिङ र सुटिङ पनि सकभर पोखरामै गर्ने गरी तयारी भइरहेको खेलस्थल व्यवस्थापन उपसमितिको दाबी छ । ‘स्वीमिङ पनि पोखरामा हुने जस्तो देखिन्छ । अर्को समस्या भनेको सुटिङको हो, यसलाई पनि पोखरामै गर्ने कि भन्ने कुराकानी भइरहेको छ । हेरौं, टेक्निकल कुरा कस्तो हुन्छ ?’ संयोजक गुरुङले भने ।

मैदानभन्दा पनि खेलाडीको उचित व्यवस्थापन नै अहिलेको चुनौती रहेको गुरुङले सुनाए । ‘खेल खेलाउने ठूलो कुरा भएन । खेलाडी महत्वपूर्ण हो नि ! त्यसका लागि हस्पिटालिटी, ट्रान्सपोर्टेसन, उनीहरुका लागि ट्रेनिङ भेन्यू चाहियो, पहिले त्यसको व्यवस्थापन हुनुपर्छ’, गुरुङले भने, ‘एक ठाउँमा गएर खेलाएरमात्रै हुँदैन । उनीहरुको अभ्यासमा पनि ध्यान दिनुपर्छ ।’

कार्यकारी समितिको सचिवालय उद्घाटन

आइतबार पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको कार्यकारी समितिको सचिवालय उद्घाटन भएको छ । पोखरा रंगशालामा बनाइएको समितिको सचिवालय युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सचिवालय खुलेसँगै अब नवौं राष्ट्रिय खेलकुदका सबै गतिविधि पोखराबाटै हुने मन्त्री गहतराजले जानकारी दिए । ‘यसको तयारी, खेल र खेलपश्चात पनि सम्पूर्ण गतिविधि यहाँबाटै हुनेछन्’, उनले भने, ‘सुरुवातका केही गतिविधि काठमाडौंबाट भए पनि त्यसपछिका फङ्सन यहींबाट हुनेछ ।’

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले ४ दशकपछि पोखरामा हुन लागेको राष्ट्रिय खेलकुदलाई सफल बनाउन कुनै कसर बाँकी नराखिने बताए । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रतियोगिताको स्थानीय आयोजक भएकाले महानगर कटिबद्ध भएर लागेको सुनाए । ‘प्रतियोगिताका लागि पोखरा आउने पाहुनाहरुको आतिथ्यमा कुनै कमी हुन दिँदैनौं,’ उनले भने ।

३६ खेलका लागि खेलाडी, प्रशिक्षक, पदाधिकारीसहित ८ हजारभन्दा बढी गण्डकी प्रदेशमा आउने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । यसअघि २०४० सालमा तत्कालीन गण्डकी अञ्चलमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?