+
+

चार दशकअघि गण्डकीमा भएको त्यो दोस्रो राष्ट्रिय खेलकुद …

राजा वीरेन्द्रले गरेका थिए उदघाटन, गण्डकीले जितेको थियो २१ स्वर्ण

विकास रोकामगर विकास रोकामगर
२०७९ भदौ १ गते १०:१२
प्रतियोगिताका विजेतालाई प्रमाणपत्र वितरण गर्दै तत्कालीन राजा वीरेन्द्र । भलिबलमा पहिलो भएको गण्डकीको टिम ।

१ भदौ, पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गर्दै आइरहेको राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण असोज अन्तिम साता पोखरामा हुँदैछ । नेपाली खेलकुद क्षेत्रमै सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा हेरिने राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा ३९ वर्षपछि दोस्रो पटक हुन लागेको हो ।

यसअघि तत्कालीन गण्डकी अञ्चल सदरमुकाम पोखरामा २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । त्यतिबेलाको खेलमा सहभागी खेलाडीका अनुसार तत्कालीन राखेपको सदस्य सचिव स्व. शरच्चन्द्र शाहले ०३८ सालमा काठमाडौंमा पहिलो राष्ट्रिय खेलकुद भएपछि दोस्रो संस्करण पोखरा गराउन जोडबल गरेका थिए ।

०४० चैत १२ देखि २० गतेदेखिसम्म भएको प्रतियोगिताको उद्घाटन तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहले गरेका थिए । प्रतियोगिताको लोगो थियो, राष्ट्रिय फूल अर्थात् लालिगुँरास ।

तत्कालीन समयमा अञ्चलस्तरीय प्रतियोगिता गरिन्थ्यो । सो प्रतियोगितामा सबैभन्दा बढी बागमती प्रदेशले ५० स्वर्ण जित्दै पहिलो भएको थियो भने गण्डकी प्रदेश २१ स्वर्णसहित दोस्रो भएको थियो ।

दोस्रो राष्ट्रिय खेलकुद पोखरामा हुँदा गण्डकीले उत्कृष्ट प्रदर्शनमात्रै नभएर राजाको समेत मन जितेको सम्झन्छन्, तत्कालीन प्रतियोगितामा भाग लिएका भलिबलका पूर्व राष्ट्रिय खेलाडी हरि पराजुली ।

प्रतियोगितामा भलिबलमा गण्डकी पहिलो स्थान ल्याएको थियो । ‘उद्घाटन एकदम भव्य थियो । धेरै प्रतियोगितामा मात्रै नभएर मार्च पासमा पनि गण्डकी पहिलो भएको थियो,’ पराजुली सम्झन्छन्, ‘हामीले पनि गोल्डमेडल ल्यायौं ।’

पोखरा रंगशालामा पर्याप्त पूर्वाधार नभएकै कारण पृथ्वीनारायण क्याम्पसको मैदानमा पनि दोस्रो राष्ट्रिय खेलकुद अन्तर्गतका धेरै खेल खेलाइएको थियो । ‘हाम्रो भलिबल पनि पिएन क्याम्पसकै ग्राउन्डमा भएको थियो । त्यतिबेला क्याम्पसको जस्तो राम्रो र सुविधायुक्त भलिबल कोर्ट रंगशालामा पनि थिएन,’ पराजुली सम्झन्छन् ।

दोस्रो राष्ट्रिय खेलकुदकै शिलशिलामा हालको पोखरा रंगशालामा मैदान स्तरोन्नतिका साथै फुटबल प्यारापिट निर्माण पनि गरिएको थियो । तर, उक्त प्यारापिट ०७२ सालको भूकम्पले क्षति पुर्याएपछि अहिले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक प्यारापिट निर्माण गरिएको छ ।

दोस्रो राष्ट्रिय खेलकुदमा लोकदोहोरी र लोकनृत्यलाई पनि पहिलोपटक खेल प्रतियोगिताकै रुपमा समावेश गरिएको थियो । त्यतिबेला दोहोरीमा गण्डकी दोस्रो भएको थियो । खेल प्रतियोगितामा दोहोरी समावेश गरिँदा प्रतियोगिताको गरिमासँगै राम्रा गायक–गायिकाको पनि उदय भएको बताउँछन्, लोकगायक प्रजापति पराजुली । ‘पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुदमा पहिलो पटक दोहोरी र लोकनृत्य पनि समावेश गरियो,’ गायक पराजुली भन्छन्, ‘त्यसमा कलाकार, खेलप्रेमीले यति मन पराउनुभयो कि साँच्चिकै खेलकुदलाई फड्को मार्ने प्रेरणा नै दोस्रो राष्ट्रिय खेलकुद भएपछि पोखराबाटै मिलेको हो भन्ने मैले सम्झन्छु ।’

२०४० सालमा पोखरामा आयोजित दोस्रो राष्ट्रिय खेलकुदमा मार्चपासमा सहभागीहरु । तस्वीर सौजन्य : सुदर्शन रञ्जित

खेलका रुपमा दोहोरीलाई भने २०३९ सालमा हेटौंडामा भएको अन्तरनगरस्तरीय खेलकुद प्रतियोगितामा पहिलो पटक समावेश गरिएको थियो । त्यसमा दर्शक तथा कलाकारले उल्लेख्य साथ दिएपछि पोखरामा भएको राष्ट्रिय खेलकुदमा पनि समावेश गरिएको गायक पराजुली बताउँछन् ।

राष्ट्रिय खेलकुद अन्तर्गतको दोहोरी प्रतियोगितामा भाग लिएरै प्रजापति पराजुलीसहित, कोमल वली, नारायण रायमाझी, अमर ‘विरही’ गुरुङलगायत पछि लोक गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भए । ‘दोस्रोमा म बाहिर थिएँ । तर, तेस्रो संस्करणदेखि लगातार भाग लिएर कहिले दोस्रो, कहिले पहिलो भइरह्यौं,’ प्रजापति सम्झन्छन् ।

पूर्वखेलाडी हरि पराजुली त्यतिबेलाजस्तो खेलाडीको सम्मान अहिले नभएको बताउँछन् । पहिले नियमित रुपमा खेल हुने र खेलाडीको जीवनयापनका लागि पनि विभिन्न संस्थान तथा संघसंस्थाले सहयोगी भूमिका निवाह गर्थे । तर, अहिले त्यो परम्परा हराउँदै गएको छ ।

पराजुलीका अनुसार पहिलेजस्तो नियमित प्रतियोगिता पनि अहिले हुन छोडेकाले खेलाडी पलायन पनि बढ्दै गइरहेको छ । ‘अहिले पुरस्कारको राशी बढ्यो । तर, खेलाडीको फ्युचर सेक्युर नै भएन । पहिले संस्थानहरुले खेल खेलाउने र जागिर दिने थियो । तर, अहिले त्यो जिम्मा विभागीय टिमको मात्रै भयो,’ उनले भने, ‘त्यो पनि एक–दुई जनालाई हो । खेलमा लागेर के गर्ने भन्ने नै भएन ।’

जो सेनाबाट छुट्टिमा आउँदा गोल्ड मेडलिस्ट बने

भारतीय सेनामा जागिरे पोखराका लोकबहादुर गुरुङ दोस्रो राष्ट्रिय खेलकुदको छेकोमा छुट्टिमा गृह जिल्ला फर्किएका थिए । भारतमा जागिरमा हुँदा उनी बक्सिङ खेल्थे ।

पोखरा आएर पनि उनी एकदिन पोखरा रंगशाला पुगेर एक्लै दिनको टन्टलापुर घाममा बक्सिङको ‘प्राक्टिस’ गर्दै थिए । त्यहीबेला संयोगले एकजना रसियन बक्सिङ कोच पोखरा घुम्न आएका रहेछन् । उनी तत्कालीन समयमा काठमाडौंमा भइरहेको बक्सिङको बन्द प्रशिक्षण दिन आएका रहेछन् ।

तत्कालीन राजा वीरेन्द्रबाट पुरस्कार ग्रहण गर्दै बक्सिङ खेलाडी लोक बहादुर गुरुङ । तस्वीर सौजन्य : सुदर्शन रञ्जित

रंगशालामा गुरुङलाई एक्लै उफ्रिरहेको देखेपछि नजिकै पुगेर सोधेछन्, ‘बक्सिङ तिमीमात्रै खेल्छौ कि अरु पनि छन् ?’

गुरुङले जवाफ दिए, ‘छ हजुर । विद्या मर्सानी खेल्नुहुन्छ ।’ उनले चिनेकै उनी थिए ।  (मर्सानीले पछि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको निर्देशकका रुपमा जिम्मेवारी सम्हाले । उनी २ वर्षअघिमात्रै सेवा निवृत्त भएका छन् ।)

‘ल ठिक छ । साँझ उसलाई लिएर लेकसाइडमा मलाई भेट्नू…’ रसियन कोचले भनेछन् ।

‘लेकसाइडमा सरकारी क्वार्टर रैछ । म र विद्या त्यहाँ गएर भेट्यौं । उहाँले बक्सिङका कटहरु हान्न लगाउनुभयो । हामीले गरेपछि उहाँले तिमीहरु एकदम फास्ट बक्सर रहेछौ । काठमाडौं बोलाउँछु, आउँछौ भन्नुभयो,’ गुरुङले सम्झिए, ‘हामी पनि गयौं । त्यहाँ ४२ दिन क्लोज क्याम्पमा बस्यौं ।’

गुरुङ भारतीय सेनाका राम्रा बक्सर मानिन्थे । ४० सालकै वरपर भारतमा हुने भनिएको एउटा राष्ट्रिय बक्सिङ टुर्नामेन्टमा उनी छनोट पनि भइसकेका थिए । तर, संयोगवस केही समयपछि सर्यो । त्यसपछि उनले दोस्रो राष्ट्रिय खेलकुदका लागि पूरा समय दिने मौका पाए ।

लोकबहादुर गुरुङ

‘त्यहाँ ट्रेनिङ सकेपछि हामीलाई आ–आफ्नो अञ्चलमा पठाइयो । यहाँ लोकल भाइहरु, बक्सर, इन्डियाका आर्मी साथीहरु रैछन् । यता आएर पनि सेलेक्सन गेम खेल्नुपर्ने भो,’ गुरुङले सम्झिए, ‘मलाई देखेर उनीहरुले निर्विरोधजस्तै छानेर पठाए । कुन वेटमा खेल्नुहुन्छ खेल्नुस् भनेर छोडिदिए ।’

भारतमा उनी ४८ किलो तौल समूहमा खेल्थे । तर, नेपाल आउँदा तौलमा केही वृद्धि भएको थियो । त्यसपछि उनी दोस्रो राष्ट्रिय खेलकुदमा ५१ किलो समूहमा खेले । उक्त तौल समूहमा पनि उनका प्रतिद्वन्द्वी ‘सजिला’ भने थिएनन् ।

‘मसँग फेरि नेपालकै राम्रा–राम्रा बक्सर पर्नुभयो । ओलम्पिक खेलेकै खेलाडी मसँग पर्नुभयो । तर, पनि फाइनल मैले जितें,’ गुरुङले भने । तत्कालीन समयमा पहिलो पटक ५१ किलो तौल समूहमा भिडेका उनले कोशी अञ्चलका प्रतिनिधित्व गरेर आएका अनुप लामालाई पराजित गरेका थिए ।

दोस्रो राष्ट्रिय खेलकुद बक्सिङ खेल्ने निश्चित भएपछि खेलाडी शम्भु श्रेष्ठले नाम दर्ता गरिदिएको गुरुङ सम्झन्छन् । ‘साउथ कमान्डमा च्याम्पियन थिएँ । नेपाल छुट्टि आएको बेला शम्भु गुरुङले तपाईंको नाम दर्ता गरिदिन्छु भनेर दर्ता गरिदिनु भयो, उहाँ मेरो दाइको साथी पनि हुनुहुन्थ्यो,’ उनले भने, ‘पछि खेलियो पनि जितियो पनि ।’

तत्कालीन प्रतियोगितामा ५१ किलो समूहमा गण्डकीबाट स्वर्ण विजेता लोकबहादुर गुरुङले मैदानमा दर्शकको खचाखच सम्झिँदा अहिले पनि ऊर्जा जाग्ने सुनाउँछन् । नेपालमा बक्सिङको विकास नभइसकेको अवस्थामा बक्सिङले धेरै दर्शकको ध्यान तानेको उनी सम्झन्छन् ।

‘बक्सिङ खेल नेपालमा खासै विकास भइसकेको थिएन । बक्सर पनि कम थिए,’ गुरुङले भने, ‘त्यो हुँदाखेरि त झन् सबै बक्सिङ हेर्न आएका थिए । रिङको वरिपरि मेलाजस्तै लागेको थियो । बाटो माथिबाट पनि अटाइन–अटाई हेरेका थिए ।’

गुरुङ नेपालका मात्रै राष्ट्रिय च्याम्पियन होइनन्, उनी भारतकै राष्ट्रिय उपाधि विजेता पनि हुन् । सन् १९८४/८५  र ८५/८६ मा लगातार भारतको राष्ट्रिय च्याम्पियन बनिसकेका छन् । उनी भारतको प्रतिनिधित्व गर्दै सन् १९८५ मै ‘एस प्रेसिडेन्ट च्याम्पियनसिप खेल्न इन्डोनेसिया पनि पुगेका थिए । ‘मैले बक्सिङ कोचिङमा डिप्लोमा पनि गरेको छु । यो पनि सन् १९८७ मै गरेको हुँ,’ उनले भने ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?