+
+

मिटर ब्याज : साहुसँग तमसुक प्रमाण, पीडितसँग ऋण मात्र

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ भदौ ९ गते २०:००
मिटरब्याज पीडित उषा नेपाली

९ भदौ, दाङ ।  दाङको घोराही उपमहानगरपालिका–६ की उषा नेपालीको परिवार उनकै कपडा सिलाउने पेशाले जेनतेन चलिरहेको थियो । तीन वर्षअघि उनका श्रीमान् एकाएक विरामी परे । श्रीमानको उपचार गर्न र घर बनाउँदा लागेको ऋण तिर्न भनेर उनले आफन्ती ढाटी दमाईबाट आठ लाख रुपैयाँ कर्जा लिइन् ।

साहु ढाटीले घरायसी कागज गराएर मिटर व्याजी ऋण दिएकी थिइन् । त्यसअनुसार आठ लाख रुपैयाँको सावाँ–ब्याज चार वर्षमा २५ लाख पुग्यो । उषाले घर निखन्न लिएको ऋणले त्यही घर लिलामी हुने अवस्था आयो । डेढ वर्षअघि साहुलाई घर छोडेर हिँड्न बाध्य भइन् उनी ।

दाङकै तुलसीपुर उपमहानगरपालिका–८ की राधा परियारको पीडा पनि उषा नेपालीको जस्तै छ । मिटर व्याजी ऋणको फन्दामा परेकी उनको पनि घरजग्गै लिलाम हुने अवस्था छ ।

उनले ५०–५० हजार गरेर दुईपटक गरी लिएको एक लाख रुपैयाँ ऋणको सावाँ–व्याज एक वर्षमै तेब्बर पुग्यो । ‘ब्याजसहित ऋण नतिरे साहुले घर लिलाम गर्ने कागज गराएका छन्’, उनी भन्छिन्, ‘सावाँ–व्याज चुक्ता गर्ने भाका पनि आइसक्यो । साहुले ताकेता गरिरहेकी छन् ।’

मिटरब्याज पीडित राधा परियार

घोराही उपमहानगरपालिका–१६ की पार्वती नेपालीको अवस्थाले पनि दाङमा मिटर ब्याज कति चर्काे छ भनेर बुझाउँछ । उनले छोरालाई विदेश पठाउन र आफ्नो बुटिक व्यवसाय बढाउन भनेर चार वर्षअघि विभिन्न व्यक्तिबाट २२ लाख रुपैयाँ ऋण लिएकी थिइन् ।

गाउँकै सरला गिरी, सिता वली, दीपा वली, कुमार श्रेष्ठ, राजन वली, निमा श्रेष्ठ, सरिता वली र ढाटी दमाईबाट लिएको ऋणले उनको तत्कालको समस्या त टर्याे । तर, उनी मिटर ब्याजको पासोमा परिसकेकी थिइन् । अहिले उनले तिनुपर्ने भनिएको ऋण १ करोडभन्दा बढी पुगेको छ ।

‘चार वर्षमा ८० लाख त ब्याजमात्रै तिरिसकें’, पार्वती भन्छिन्, ‘तिर्दातिर्दै सबै सम्पत्ती सकिसक्यो, तर साहुहरु अझै करोडभन्दा बढी बाँकी छ भन्दै धम्काइरहेका छन् ।’

घोराही र तुलसीपुर उपमहानगरपालिका मात्र होइन, दाङका गाउँ–गाउँमा मिटर ब्याजीको धन्दा मौलाएको छ । अप्ठ्यारोमा परेकाहरुलाई मिटर ब्याजमा रकम दिएर छोटो अवधीमै मोटो रकम असुल्ने, ऋणीको जायजेथा नै हडप्ने समस्या जताततै देखिएको छ ।

पार्वती नेपाली

लघु वित्तीय तथा मिटर व्याजी पीडित संघर्ष समिति, दाङका अनुसार ५ हजार मिटर व्याज पीडित सम्पर्कमा आएका छन् । समितिकी संयोजक पार्वती नेपाली मिटरब्याजको फन्दामा परेर घरबारविहीन भएका कतिपयले आत्महत्या गरेको बताउँछिन् ।

‘ऋणका कारण घरमुलीले आत्महत्या गरेपछि एउटा परिवार भारत पलायन भएको पाइयो’, उनले भनिन्, ‘अधिकांश पीडित सहेर बसेका छन् । उजुरी दिन हाम्रो सम्पर्कमा आएका थोरै नै हुन् ।’

महिला नै शिकार

मिटरब्याज पीडित दाङका महिलाहरू

मिटर ब्याजको फन्दामा परेर सम्पत्ती गुमाउनेमा अधिकांश महिला छन् । व्यक्ति वा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न, घरव्यवहार चलाउन वा छोराछोरी पढाउन चर्काे ब्याजदरको ऋण लिने अधिकांश महिला निरक्षर छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले मिटर ब्याजको समस्या ठूलै देखिए पनि उजुरी भने कमै आएको बताए । मिटर ब्याजी ऋण लेनदेनमा गरिने तमसुकले ऋणीलाई कमजोर पारेको उनी बताउँछिन् ।

‘साहुसँग तमसुक प्रमाण हुन्छ, पीडितसँग कानुनी प्रक्रियाका लागि चाहिने प्रमाणहरु हुँदैन’, उनी भन्छन्, ‘यसले गर्दा कानुनी कारबाही र न्याय निरुपणमा अप्ठ्यारो परेको छ ।’

जिल्ला प्रशासन कार्यालय दाङमा ४७ जना मिटर ब्याज पीडितले उजुरी दिएका छन् । सरकारले मिटर ब्याज पीडितलाई निवेदन दिन सार्वजनिक सूचना निकालेपछि जिल्लामा दुई साताको अवधिमा ४७ जनाले उजुरी दर्ता गराएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?