+
+
मुस्ताङ डायरी-१ :

कालीगण्डकीको तीरैतीर

सबै युवा विदेश, कोही अमेरिका कोही फ्रान्सतिर छन्। यहाँ काम गर्न म्याग्दी, रोल्पाका मान्छे आउँछन्। खेत बाँझै छन्। घर रुङ्नेमा हामी बूढाबूढी मात्र छौं। के गर्ने। अब नराम्रो भनुँ भने समय नै यस्तै छ। राम्रो भनौं भने अवस्था यस्तो छ।

जगबहादुर बुढा जगबहादुर बुढा
२०७९ भदौ ११ गते १९:००

कालीगण्डकीको तीर आफैंमा एउटा ऐतिहासिक महत्व बोकेको क्षेत्र हो। कालीगण्डकी नदीको उद्गमस्थलदेखि म्याग्दीको बेनीसम्मको कालीगण्डकी नदीको खोंच इतिहासका विभिन्न कालखण्ड पार गर्दै आयो। कालीगण्डकी नदीले रूप फेर्दै जाँदा त्यस वरपरका बस्ती र मानिसले पनि रूप फेरिरहे।

कालीगण्डकीको तीरमा हिन्दूहरूको लागि अति पूजनीय कालो रङको बाटुलो शिला शालिग्राम पाइन्छ। कालीगण्डकीको तीर गोर्खाली राज्य विस्तार र खम्पा विद्रोहको साक्षी पनि हो। कालीगण्डकीको तीरमा कुनै बेला नुन बोकी हिंड्ने ढाकरेको लाम हुन्थ्यो भने कुनै बेला भेडा र खच्चरको लाम। त्यसो त, कुनैबेला विदेशी पर्यटकको लाम हुने त्यहाँ अहिले गाडी र मोटरसाइकलको लाम देखिन्छ। त्यसैले कालीगण्डकीको तीर एउटा इतिहास हो। परिवर्तनको साक्षी हो। कालीगण्डकीको तीर एउटा कथा हो। नुन र अन्न साटासाट गर्ने एउटा विस्मृत मार्ग हो। यही रूप फेरिरहेको कालीगण्डकी तीरतीरै हिंड्दाको केही यात्रा अनुभव, केही अनुसन्धान हो यो आलेख।

कालीगण्डकीको तीर पछ्याउँदै पुगिन्छ मुस्ताङ। मुस्ताङ अर्थात् हिमाल पारिको देश। अर्को शब्दमा कालीगण्डकी नदीको उद्गमस्थल। लोवा अनि थकाली संस्कृतिको संगम, चाँदी झैं टल्किने नीलगिरि, अन्नपूर्ण र धवलागिरि जस्ता हिमश्रृङ्खलाहरूको समीप चिसो र रोमाञ्चक स्पर्श अनुभूति गर्दै यात्रा गर्न पाइन्छ यहाँ। मुक्तिनाथ धार्मिक क्षेत्रको अवस्थिति रहेको एउटा सुन्दर हिमाली जिल्ला पनि हो मुस्ताङ।

हेरेर नथाक्ने एउटा विराट भूमि। गुरु पद्मसम्भव लगायत सिद्ध पुरुषहरूले तपस्या गरेको भूमि। आकाश छुने घाट अनि त्यसभित्र अलौकिक रहस्यमय पाराका गुफाहरू। सदियौं वर्ष पुराना गुम्बा र रातो खैरो अनि माटे चट्टान। कालीगण्डकीको बायाँपट्टिको तीरैतीर कालीगण्डकी करिडोर छ जुन चीन-नेपालको सिमाना कोरला नाकामा गएर टुंगिन्छ।

एकताका सन् २००१ तिर डोल्पाबाट भेडा–च्याङ्ग्रा व्यापारको लागि जाने मौका जुरेको थियो। डोल्पाका तराली मगरहरूले डोल्पा, मुस्ताङ अनि चीनबाट समेत भेडा–च्याङ्ग्रा लिएर पोखरा र बेनीसम्म पुगेर दशैं र तिहारको बेला बिक्री गर्ने गर्दथे। यो तरालीहरूको पुरानो व्यवसाय हो। त्यसताका अनुभवको लागि म पनि गएको थिएँ। हामी डोल्पा तिछुरोङबाट काकोट, मुकोट अनि मुलुम्सुम्ना हुँदै साँटा पुग्यौं। साँटामा उता मुगुतिरबाट मुगालीहरूले भेडा–च्याङ्ग्रा ल्याएर आएका थिए। हामीले मुगालीबाट करिब ७०० भेडा–च्याङ्ग्रा किनेर कोही पोखरा र कोही बेनी बाग्लुङ पुग्यौं।

हाम्रो टिमका सात जनामध्ये तीनजना बाग्लुङ र बेनीतिर गए भने चार जना पोखरा गयौं। व्यापार राम्रो भयो र पछि फेरि भेडा–च्याङ्ग्रा लिन हामी उपल्लो मुस्ताङतिर गयौं। त्यतिबेला उपल्लो मुस्ताङ जान गाडीको बाटो थिएन। हामी हिंडेर पहिलो दिन जोमसोमबाट चैले पुगेर बास बस्यौं। दोस्रो दिन चैलेबाट सामार, तेस्रो दिन सामारबाट चराङ र चौथो दिन चराङबाट लोमान्थाङ पुग्यौं।

लोमान्थाङको चार दिनको बसाइ पश्चात् हामी फेरि भेडा–च्याङ्ग्रा लिएर पोखरा झर्यौं। त्यसपछि भने म उपल्लो मुस्ताङ जान पाइनँ। तर उपल्लो मुस्ताङ जाने धोको भने मनमा थियो। त्यही धोको सन् २०२२ को जुलाईमा आएर पूरा गर्न सकें।

उपल्लो मुस्ताङको हाम्रो यात्रा १४ जुलाईबाट सुरु भयो। म काठमाडौंबाट र १२ जुलाईको दिन सूर्य भान्जा डोल्पाबाट हिंड्ने योजना बन्यो। हामी दुई बेनीमा भेट्ने भन्ने कुरो थियो। म जुलाई १४ मा काठमाडौंबाट सीधै गाडीमा बेनी प्रस्थान गरें र त्यहाँ ५ बजेतिर पुगें। तर सूर्य भान्जा भने बेनीमा भोलिपल्ट बिहान मात्र आइपुग्ने भए। म बेनीमा एउटा होटलमा बसें र भोलिपल्ट १२ बजेतिर मात्र आइपुगे सूर्य भाञ्जा। भान्जा आएकै बसमा चढेर हामीले कालीगण्डकीको यात्रा सुरु गर्यौं। यसरी कालीगण्डकीको तीरैतीर यात्रा सुरु भयो।

कालीगण्डकी नदी नेपालको मुस्ताङ जिल्ला, हिमालयको तिब्बती पठारको उत्तरी भाग तिब्बतको सिमानाबाट सुरु हुन्छ। मुस्ताङको माथिल्लो भागको लोमान्थाङ नजिकै नुपछु र शारछु भनिने दुईवटा नदी मिल्छन्। यी नदी त्यसपछि मुस्ताङ खोलाको नामले चिनिन्छन् र दक्षिणपश्चिममा बग्छन्। छुसाङमा पुग्दा फराकिलो हुँदै दक्षिणतर्फ कागबेनीमा मुक्तिनाथबाट बग्ने प्रमुख सहायक नदी काक खोलासँग मिल्छन्। अब यो नदीलाई एकसाथ कालीगण्डकी नदी भनिन्छ।

त्यसपछि जोमसोम, मार्फा र टुकुचे हुँदै गहिरो भागसम्म पुग्छ। लेटेको क्षेत्रमा टुकुचेबाट लगभग दक्षिणमा खाडलबाट दाना र तातोपानी हुँदै बेनीतिर खोला फराकिलो हुन्छ। त्यसपछि कालीगण्डकीको दक्षिणमा गलेश्वरको राहुटखोला, बेनीमा म्याग्दी खोला, कुश्मा नजिक मोदी खोला र रुद्रबेनीमा बडिगाड नदी जोडिन्छ।

कालीगण्डकी घाट शताब्दीयौंदेखि भारत र तिब्बतबीचको व्यापारिक मार्गको रूपमा प्रयोग हुँदै आयो। त्यसबेला यो मार्ग ढाकरेहुँदै हरू नुन बोकी टुकुछे र मार्फासम्म पुग्थे। पछि यो खच्चर हिंड्ने प्रमुख बाटो बन्यो। पुनः यो पोखरादेखि मुक्तिनाथसम्म एक लोकप्रिय पदयात्रा मार्ग बन्यो। अन्नपूर्ण सर्किटको एक प्रमुख हिस्सा रह्यो। त्यतिबेला ढाकरे हिंड्ने बाटो विस्तारै पदयात्री हिंड्ने बाटो बन्यो। यहाँ विश्राम गर्ने घरहरू सुनसान थिए। अहिले यो मार्ग कालीगण्डकी करिडोरको रूपमा विकसित भएको छ।

समयकाल र परिस्थिति अनुरूप परिवर्तन हुँदै र गर्दै जानु मानव जातिको उद्विकासको नियम हो। कुनै पनि समाज यथास्थितिमा रहन सक्दैन र रहनु पनि हुँदैन। मानव जगतमा परिवर्तन हुँदै जाँदा नयाँ–नयाँ प्रविधिको आविष्कार भयो र यसले हाम्रो जीवन पद्धतिमा तीव्र परिवर्तन ल्याउन थाल्यो।

सुनसान गोरेटो बाटोहरू । तस्बिरः जगबहादुर बुढा

बेनीबाट १२ बजे सुरु भएको हाम्रो यात्रा गलेश्वर, तिप्ल्याङ, घासा, दाना, लेते, कोबाङ, टुकुचे, मार्फा हुँदै बेलुका ६ बजेतिर जोमसोम पुगेर विश्राममा बदलियो। जोमसोममा हामी पोतला गेस्टहाउसमा बस्यौं।

मलाई खम्पा विद्रोहीबारे केही जान्न इच्छा थियो। यही योजनामा भेटें भुपिन शेरचन दाइ। उनले खम्पा विद्रोहको बारे आफूले देखेका केही किस्सा सुनाउन थाले।

‘गे वाङ्दीले दुइटा घोडा चढेर जान्थे। एउटा सेतो चढ्छ। एउटा खाली हुन्थ्यो। कागबेनी जाने भनेर लेतेतिर जान्थे। एकातिर जान्छु भनेर अर्कोतिर जान्थे। केशाङ खम्पाहरूको मुख्य क्याम्प थियो। केशाङ राम्रो खर्क, घाँस भएको, सुरक्षाको हिसाबले उपयुक्त र पायक पर्ने ठाउँ हो। त्यसैले खम्पाहरूले केशाङलाई मुख्य क्याम्प बनाएका थिए। केशाङभन्दा पहिला खम्पाहरूको मुख्य क्याम्प ताङ्गे फुक थियो। ताङ्गे फुकभित्र ६ वटा ठाउँहरूमा खम्पाहरूको क्याम्प थियो। खम्पाहरूलाई आर्थिक रूपमा अमेरिका र भारतले सहयोग गरेको थियो। त्यसबेला खम्पाहरूसँग आइसी बाकसका बाकस हुन्थ्यो।’

शेरचन दाइ रोकिएनन्। उनले थपे, ’खम्पाहरूले एकदमै दु:ख दिएका थिए। घट्ट पिन्न गयो, त्यहीं बलात्कार गर्यो। आइमाईहरू जडिबुटी खन्न गयो त्यहीं बलात्कार। खम्पाले स्थानीयको जोपा काटेर खाने। स्थानीयको जोपामा दाउरा बोकाउने, काठ बोकाउने जस्ता काम समेत गरे। स्थानीयलाई दुःख दिन थाल्यो भनेपछि सुरक्षाको लागि नेपाल सरकारले जोमसोममा नेपाली सेनाको क्याम्प राख्यो। त्यसबेला जोमसोममा एउटा–दुइटा घरहरू मात्र थिए। जोमसोमको खास नाम ‘झोङसाम्बा’ हो। ‘झोङ्’ भनेको ‘कोट वा गढी’, ‘साम्बा’ भनेको ‘नयाँ’, अर्थात् नयाँ ‘कोट वा गढी, पछि अपभ्रंश भएर जोमसोम भएको हो। खम्पाहरू २०१३/१४ सालतिर आए र २०३० सालमा गए। गे वाङ्दुङ तिंकरमा मारिए। गे राकराक नख्खु जेलमा मरे। त्यसपछि खम्पा विद्रोह समाप्त भयो।’

भुपिन दाइसँगको कुराकानी पछि म होटलतिर लागें। राति सुत्ने बेला खम्पा विद्रोह बारेका किताबहरू सम्झन थालें। जोन केन्नेथ नाउसद्वारा लिखित ‘अर्फान्स अफ कोल्ड वार: अमेरिका एन्ड तिब्बेतियन स्ट्रगल फर सर्भाइवल’, केन्नेथ कोन्बोय र जेम्स मोरिसनद्वारा लिखित ‘द सीआइए’ज सेक्रेट वार इन तिबेत’ र ज्ञालो थोन्दुप र एन्नी एफ थोर्स्टोनद्वारा लिखित ‘द नुडल मेकर अफ कालिम्पोङ: अन टोल्ड स्टोरी अफ माइ स्ट्रगल इन तिबेत’ किताबहरू सरसर्ती हेरें र म सुतें।

जोमसोमदेखि लोमान्थाङ

बिहान जोमसोमबाट हामी करिब १० बजे लोमान्थाङ जाने जीपमा चढ्यौं। जीपमा सवार थियौं हामी आठ जना। जीप कालीगण्डकीको तीरैतीर एक्ले भट्टी, कागबेनी, छुसाङतिर बढ्यो। छुसाङबाट भने रातो अनि खैरो रंगका विशाल पहाड अनि त्यसभित्र स–साना गुफा जस्ता दृश्यहरू देखिन थाले।

छुक्साङ गाउँ । जगबहादुर बुढा

एकताका १६औं शताब्दीतिर मुस्ताङ जुम्ला राज्यको अधीनस्त थियो। त्यतिबेला छुक्साङ र तेताङमा नुन उत्पादन गरी व्यापार हुन्थ्यो (रमेश ढुङ्गेल, २०४१, शनिवासरीय, मंसिर ९, गोरखापत्र)।

छुक्साङको सम्बन्धमा स्थानीय श्याम कुमार गुरुङले केही जानकारी दिए। पहिला छुक्साङ गाउँका मानिसहरू गाउँभन्दा माथि लेकमा बस्थे। त्यस भेगमा अन्न उत्पादन हुँदैनथ्यो। अन्न उब्जनी हुने ठाउँको खोजीको क्रममा बसाइ सर्ने निधो भएछ। सबै जनाको छलफल पश्चात् भेडाको सिङमा तोरी (छुक) भरेर बगाउने र त्यो तोरी जहाँ उम्रिन्छ त्यहीं बस्ने निर्णय गरेछन्। त्यही तोरी अहिलेको ठाउँमा आएर उम्रेर त्यस ठाउँको नाम छुक्साङ रह्यो। मानिसहरू त्यहीं बस्ती बसे। स्थानीय भाषामा ‘छुक’ भनेको तोरी र ‘सा’ भनेको जमिन वा माटो अर्थात् तोरी उम्रेको जमिन वा ठाउँ भएर छुक्साङ रहन गएको हो।

छुक्साङबाट हामी सवार जीप चैलेहुँदै शाङमोचेनमा खाना खान रोकियो। खानापछि घिलिङ, घमि र चराङ हुँदै लोमान्थाङ पुग्दा तीन बज्यो। २० वर्ष पहिलेको लोमान्थाङ र अहिलेको लोमान्थाङ निकै परिवर्तन भइसकेको रहेछ। पहिला केही घरहरू मात्र पर्खाल बाहिर थिए भने अहिले पर्खाल बाहिर धेरै घरहरू बनेछन्। अहिलेको लोमान्थाङमा बडेमान घरहरू र बाटोतिर मोटरसाइकल र जीप अनि ट्रयाक्टरहरू गुडेको देखिन्छ।

हामी होटल खोज्न केहीबेर अल्मलियौं। हामीसँगै जीपमा आएकी एक बहिनीले उनकै होटलमा जान आग्रह गरिन्। हामी त्यतै गयौं। भर्खरै बनाएको होटल रहेछ जहाँ न राम्रो सुविधा थियो न त सस्तो पनि। हामी विकल्प खोज्ने निर्णयमा पुग्यौं तर द्विविधा हटेन।

एकजना साथी तिजी फेस्टिबलको बेला लोमान्थाङ आएको फोटो देखेथें र उनैलाई नै फोन गरी सोधें। उनले होटल लोटस गेस्ट हाउस र लोमान्थाङ गेस्ट हाउस गरी दुई होटलको नाम सुझाए। हामी लोटस गेस्ट हाउस खोज्दै हिंड्यौं। लोटस गेस्ट हाउस बाटोमै थियो र सोधपुछ गरी त्यहीं गएर बस्यौं।

लोमान्थाङमा अवस्थित मुस्ताङ्गी राजदरबार । तस्बिरः जगबहादुर बुढा

लोमान्थाङ पौराणिक मुस्ताङ राज्यको राजधानी हो। पहिला लोमान्थाङलाई मेन्थाङ मात्र पनि भनिन्थ्यो। जसको अर्थ, ‘मेन’ भनेको ‘औषधि’, ‘थाङ’ भनेको ‘चौर’ अर्थात् मेन्थाङ, ‘औषधि पाइने चौर’ मान्थाङ भएको रहेछ। लोमान्थाङमा धेरै औषधीय गुण भएका हिमाली जडीबुटीहरू पाइने चौरबाट मेन्थाङ भएको र पछि लोमान्थाङ भएको हो भन्ने पाइन्छ। ‘लो’ अर्थात् ‘दक्षिण’ मेन्थाङ, ‘औषधि पाइने चौर’ अपभ्रंश भई लोमान्थाङ भएको भन्ने पाइन्छ।

मुस्ताङ राज्यको उदय बाईसी–चौबीसी राज्यहरूको बेला भएको थियो। मुस्ताङ राज्य विशेषगरी खस राज्य (यात्से) को अवसानपछि भएको थियो। मुस्ताङको पहिलो राजा आमेपाल थिए। चराङ मोला र आमेपाल गुन्ठाङका एक जना सेनापति सेराव लामाका नाति थिए। सेराव लामाले १४औं शताब्दीको अन्त्यतिर जुम्लाका मल्ल साम्राज्यको अवनतिपछि लोमान्थाङ वरपरको क्षेत्र जितेका थिए। आमेपालको राज्य पश्चिममा गुगे पुराङ र डोल्पा, दक्षिणमा तल थाकखोलासम्म थियो। पछि उनीहरूको वैवाहिक सम्बन्ध र राजनीतिक गठबन्धन लद्दाखसँग पनि भयो। पछि १६औं शताब्दीको मध्यतिर तेन्जिङ नाम्ग्यालको शासनकालमा मुस्ताङ राज्यलाई जुम्ला राज्यले अधीनस्त पारे। त्यसपछि पुनः मुस्ताङ राज्य स्वतन्त्र भएर करिब २४० वर्षसम्म रह्यो।

गोर्खालीले जुम्लालाई हराएपछि नाम्ग्याल दोर्जेलाई स्थानीय शासकको रूपमा उचित मान्यता दिएको थियो। १८औं शताब्दीको अन्त्यमा यो राज्य नेपालमा गाभियो र १७९५ देखि नेपाल अधिराज्यको निर्भरता बन्यो भन्ने बारे रमेश ढुंगेलकृत पुस्तक ‘अ किङ्डम अफ लो (मुस्ताङ): अ हिस्टोरिकल स्टडी’ मा उल्लेख छ। नेपालमा गण्तन्त्रको उदय नहुँदासम्म मुस्ताङ राजाको उचित सम्मानस्वरूप रह्यो।

२०६२/६३ को जनआन्दोलन पश्चात् विधिवत् रूपमा नेपालमा राजतन्त्रको अन्त्यसँगै मुस्ताङ राजाको अस्तित्व पनि समाप्त भयो। तर पनि स्थानीय रूपमा राजाप्रतिको सद्भाव र मानसम्मान अझैसम्म पनि रहेको पाइन्छ।

एकछिन कोठामा बसेर यसो चिया खाएपछि भने हामी भने डोल्पाबाट मुस्ताङ आउने बाटो हेर्न भनी चार बजेतिर लोमान्थाङको दक्षिणतिर लाग्यौं। बाटो हेर्न जाने क्रममा वारिपारि डाँडाहरू सुख्खा थिए र बाटोहरू पनि सुख्खा नै थियो। लागिरहेको थियो पानी नपाएर घाँस उम्रेको थिएन र यस्तोमा भेडा–च्याङ्ग्रा पालकहरूले कस्तो गर्दा हुन् भनी मनभित्र प्रश्न उठ्यो र जान्न इच्छा जाग्यो।

केहीबेरपछि दुई हुल भेडा–च्याङ्ग्राको बथान तलतिर झर्दै थियो। हामी पनि उनीहरू भएको तिरै गयौं। शुरुमा डोल्पाबाट लोमान्थाङ आउने बाटोबारे जानकारी लियौं। उनीहरूले माथिको दुईवटा हिमालको बीचबाट आउने हो भनी सुझाए। उनीहरूले डोल्पादेखि लोमान्थाङ हाम्रो बाली नउठाउन्जेल अर्थात् असोज अगाडि बाहिरी मानिसहरू उता डोल्पाबाट हिमाल काटेर आउन पाइँदैन भने। यो अनौठो प्रचलनको कारण थाहा पाउन मन लाग्यो। जवाफमा उनले भने, ‘बाली उठाउनु अघि हिमाल काटेर प्रवेश गरे पानी नपर्ने, अतिवृष्टि र अनावृष्टि हुन्छ। त्यसैले बाली भित्र्याउनु अघि डोल्पाबाट लोमान्थाङ आउन पाउँदैन।’

मैले प्रसंग बदल्न चाहें। सोधें, ‘सधैं यस्तै सुख्खा हो ? घाँस देखिंदैन। के खान्छन् बस्तुभाउले ?’

उनले भने, ‘पहिला त यतिबेला पानी परिसक्थ्यो। यतिबेला घाँस उम्रेर हरियाली भइसक्थ्यो। अहिले त अझैसम्म पानी परेको छैन। घाँस पनि उम्रेको छैन। दिनभर भेडा–च्याङ्ग्रा चराएर पनि उनीहरू अघाउन मुस्किल छ। त्यसैले भेडा–च्याङ्ग्रा र अन्य बस्तुभाउ पाल्न गाह्रो छ।’

उनको कुराबाट अनुमान लगाउन सकिन्छ कि जलवायु परिवर्तनले हिमाली पशुपालकहरूलाई निकै कष्टकर अवस्थातिर लगिरहेको छ। उनीहरूसँग करिब आधा घन्टाको कुराकानी पश्चात् हामी होटलतिर फर्कियौं।

लोमान्थाङमा अवस्थित बौद्ध स्तूपा (छोर्तेन) । तस्बिरः जगबहादुर बुढा

साँझ पर्न लागेको थियो। केही बूढापाकाहरू लोमान्थाङ परिक्रमा (कोरा) गरिरहेका थिए। हामी पनि कोरा गर्न कोरा गर्नेहरूसँगै मिसियौं। हामी कोरा गर्दै मुस्ताङ राजदरबार अनि आसपासका छोर्तेन र मानीहरू अवलोकन गर्यौं।

अवलोकन गर्दै जाँदा करिब आठ बज्न लागेको थियो र हामी होटलतिर लाग्यौं। केहीबेरको सरसफाइपछि खाना खानतिर लाग्यौं।

हाम्रो चाहनाअनुसार त्यहाँको बारेमा कुरा गर्न साहुजी राजी भए। गफकै क्रममा होटल सञ्चालक पेमा वाङग्याल विष्टले मुस्ताङको बेलीविस्तार सुनाउन थाले। ‘मुस्ताङका राजा चौबीसौं राजा हुन्। ७०० वर्ष पुरानो। सुरुमा आमापालदेखि सुरु भएको हो। सुरुमा आमेपालको दरबार खेच्युझोङमा थियो। अब भएन एउटा गाउँ बनाउँछु भनेर एक दिन आमेपालले एउटा भेडालाई ‘म्योलाम’ आशीर्वाद दिएर नुन बोकाएर पठाए। भेडा नुन बोकेर अहिलेको लोमान्थाङमा आएर बस्यो। त्यसपछि उनले यहाँ दरबार बनाए। सुरक्षार्थ पूरै गाउँलाई भित्र पारेर पर्खालले घेरे। त्यो पर्खाल अझैसम्म पनि छ। त्यो गेट बन्द गरेपछि गाउँभित्र कोही पनि आउन पाउँदैनथ्यो।’

यसै क्रममा पहिला लोवाहरूको जीवनको बारेमा पनि उनले किस्सा सुनाए।

‘पहिला तिबेतबाट नुन ल्याउँथे, यहाँको मान्छेले नुन बोकेर घासाभन्दा तल तातोपानीतिर जान्थे। त्यहाँ नुनसँग साटेर चामल ल्याउँथे। पछि खसी र च्याङ्ग्राले नुन बोक्न थाले। यो अभ्यास बदलिंदै घोडाले नुन बोकेर जाने र चामल लिएर आउन थाल्यो। त्यसपछि तिब्बत चाइनाले लियो। नियम अलि अलि कडा हुन थाल्यो। लिक्ची भन्ने ठाउँतिर भने बाह्रै महिना खुल्ला थियो। यहाँको मान्छे लिक्चीमा गएर नुन र उन ल्याउने गरे। उता काठमाडौंतिर बनेका गलैंचा, सिको फाइभ घडी, लाइटर, नाइलानका टि–शर्टहरू उता बेच्ने गर्थे।’

‘लिक्ची पुग्न लोमान्थाङबाट तीन–चार दिन लाग्थ्यो। उता चाइनमा जति बसे पनि खुल्ला थियो। उताका मान्छे पनि यहाँ आउँथे। अलि खुल्ला जस्तो थियो। सन् १९९० मा कोटा प्रणालीमा उन दिन थालियो। प्रतिव्यक्ति उन पाइने भएर अभिभावकले केटाकेटी पनि लिएर उन लिन जाने प्रचलन बस्यो।’

‘अहिले बोर्डर ७-८ दिन मात्र खोल्छ। कोभिड अघि वर्षको दुईचोटि असार साउनतिर र असोजको अन्तिमतिर एक चोटिमा ७-८ दिन बस्न पाउँछ। कोभिडपछि त्यो पनि बन्द भयो। सीमा नाका बन्दको कारण उपल्लो मुस्ताङवासीलाई समस्या पारेको छ।’

पेमा वाङग्याल विष्टले अगाडि थपे, ‘यहाँ लोमान्थाङ तलबाट बाटो जोडिएकोले सीमानाका बन्द भए पनि खासै असर गरेको छैन। यहाँ सबै सामान तलबाट आइरहेको छ।’ साहुजीसँगको गफगाफपछि हामी सुत्यौं।

*** ***
बिहान सात बजेतिर हामीले चिया पिएर फेरि पर्खालले घेरिएको लोमान्थाङ परिक्रमा लगायौं। बिहानीमा केही वृद्धा आमाहरू (हिमाली धूप) को भाँडा साङ लिएर दरबार मन्दिर र गुम्बा परिक्रमा गरिरहेका थिए। कोही माने जपेर परिक्रमा गरिरहेका थिए। हामी पनि त्यही हूलमा मिसिएर परिक्रमा गर्यौं।

लोवा स्थानीय महिला मुस्ताङ राजारानीको तस्विरमा बिहानीको साङ पूजा गर्दै । तस्बिरः जगबहादुर बुढा

परिक्रमा गरिसकेपछि दरबारको गेटको ढोकामा एकजना बुढाबा बसिरहेका थिए। उनीसँग मैले कुरा थालें। उनले केही रोचक कुरा सुनाए।

‘पहिला त दु:ख थियो जहाँ पनि हिंडेरै जानुपर्ने। अहिले त सजिलो छ। घरको ढोकामै गाडी आएको छ। पहिला रोड नहुँदा लोमान्थाङबाट चार–पाँच दिनमा जोमसोम पुग्ने र बाटामा चराङ, घमि, चैले, छुसाङ, आदि भएर नेचाङको घरमा बास बस्ने अनि दुःखसुखका कुरा गर्ने गर्थ्यौं। त्यस्ता दिन अब कहिल्यै आउँदैनन्। अहिले लोमान्थाङबाट सीधै जोमसोम अनि त्यहाँबाट सीधै पोखरा र काठमाडौं। रोड आएको राम्रो हो तर अब अहिले सबै चिज तलबाट ल्याउनुपर्नेछ। तलबाट यहाँ भैंसीको मासुदेखि बोइलर कुखुराको मासुलगायत सबै तरकारी आउँछ। पहिलाको जस्तो भेडा, बाख्रापालन र खेती किसानी गर्दैनन्। सबै कुरा किनेर खानुपर्नेछ। सबै युवाहरू विदेशतिर, कोही अमेरिका कोही फ्रान्सतिर छन्। यहाँ काम गर्न म्याग्दी, रोल्पाका मान्छेहरू आउँछन्। खेतहरू पहिला धेरै रोप्थ्यौं। अहिले घरमा बूढाबूढी मात्रै छन्। कसले काम गर्ने ? खेत रोप्न पनि छोडे। पशुपालन पनि छोडे। पहिला यो गाउँमा ४००-५०० घोडा र २००-३०० गाई गधा हुन्थे। अहिले सबै तलबाट आउँछ। घर रुङ्नेमा त्यही हामी बूढाबूढीहरू मात्र छौं। के गर्ने। अब नराम्रो भनुँ भने समय नै यस्तै छ। राम्रो भनौं भने अवस्था यस्तो छ।’

बूढा बासँग गफकै दौरानमा खम्पा विद्रोही र सीमानाकाबारे केही जान्न र सुन्न मन लागेको थियो। उनले खम्पाहरूले लोमान्थाङ क्षेत्रमा त्यति दु:ख नदिएको बताए। तर खम्पा विद्रोहको कारणले तिब्बत आवतजावतमा कडाइ हुँदा नुनलगायत व्यापारमा प्रभाव भने परेको उनले सुनाए।

‘जावतमा सुरुमा त यताको मान्छे उता र उताको मान्छे यता आउने–जाने चल्थ्यो। तर जब तिब्बतमा चीनले कब्जा जमायो, त्यसपछि सीमामा कडाइ भयो। पछि खम्पाहरू तलतिर गए। घार गुम्बामा १० वर्षजति एउटा क्याम्प बस्यो।

दाकमारमाथि, याम्दाक, सामारको माथि, ताङ्गे फुक र मुख्य चाहिं जोमसोम माथि कैशाङतिर थियो। पछि भने फेरि अलि अलि विस्तारै सीमा खुल्ला हुन थाल्यो। त्यसपछि यता भेडाहरू आउन थाले। यहाँका मान्छेहरूले तिब्बतबाट भेडा किन्न थाले। चाइनाले अलि खुल्ला गर्यो। तर चाइनाले लक्ची जान दिएन। एक वर्ष व्यापार केन्द्र लोमान्थाङ राख्ने एक वर्ष उता उनीहरूको ठाउँमा राखे। त्यस्तो ५-७ वर्ष जति भयो। त्यसपछि उनीहरूको ठाउँमा मात्र राख्यो। २०७४/७५ देखि उनीहरूकोतिर राख्न थाले।’

बूढा बासँगको गफगाफपछि उनीसँग बिदा माग्दै हामी होटलतिर आयौं। अनि खाजा खाएर लोमान्थाङबाट ढि गाउँतिर लाग्यौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?