+
+

नवौं राष्ट्रिय खेलकुद : एनआरएनएको विजयी सुरुवात, तीन खेल रद्द

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते १८:१९

२३ भदौ, काठमाडौं । असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एनआरएनएले विजयी सुरुवात गरेको छ । टी-२० फर्म्याटमा खेलाइएको प्रतियोगिता पहिलो दिन चार खेलको तालिका भए पनि वर्षाका कारण तीन वटा खेल रद्द भए ।

बाँकी एक खेल ६-६ ओभरमा खेलाइएको थियो । कीर्तिपुरस्थित टीयू मैदानमा भएको समूह बी को खेलमा एनआरएनएले सुदूरपश्चिमलाई १२ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको एनआरएनएले राष्ट्रिय टिमका पूर्व खेलाडी सागर पुनले अविजित ४६ रन बनाएपछि ४ विकेट गुमाएर ७४ रन बनाएको थियो ।

सागरले पुनले १९ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे । कप्तान सुनाम गौतमले ११ बलमा २४ रन बनाए । सुदूरपश्चिमका लागि हेमन्त धामी र शेर मल्लले २-२ विकेट लिए ।

७५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ६ विकेट गुमाएर ६२ रन बनायो । सुदूरपश्चिमका लागि खडक बोहराले १२, कप्तान राजु रिजालले ११ र वसन्त खत्रीले १० रन जोडे ।

एनआरएनएका आशिष पोखरेल र दीपक क्षेत्रीले ३-३ विकेट लिए । सागर पुन खेलको म्यान अफ दि म्याच घोषित भए ।

टीयू मैदानमै तय भएको समूह बी अन्तर्गत बागमती प्रदेश र प्रदेश १ तथा मुलपानी क्रिकेट मैदानमा तय भएको समूह ए अन्तर्गतको गण्डकी प्रदेश र मधेश प्रदेश तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीचको खेल भने वर्षाका कारण रद्ध भयो ।

प्रतियोगिताअन्तर्गत शुक्रबा कीर्तिपुरमा नै एनआरएनए र एपीएफ तथा सुदूरपश्चिम र बागमती प्रदेशबीच खेल हुने तालिका छ ।

मुलपानी मैदानमा नेपाल पुलिस क्लब र मधेश प्रदेश तथा त्रिभुवन बर्मी क्लब र कर्णाली प्रदेशबीच खेल हुनेछ छ । भदौ ३१ गतेसम्म सञ्चालन हुने क्रिकेट प्रतियोगितामा सहभागि ११ टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइएको छ ।

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने भए पनि क्रिकेट भने अहिले नै सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?