+
+

पोखरेल भन्छन् : नेपाललाई सिक्किम र फिजी बनाउन नागरिकता विधेयक ल्याइयो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २४ गते १४:३८
फाइल तस्वीर

२४ भदौ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले सीमापारीबाट विवाह गरेर ल्याएको भोलिपल्ट नै नागरिकता दिने र अर्को दिन जननिर्वाचित प्रतिनिधि बनाउने किसिमले नागरिकता विधेयक ल्याएको आरोप लगाएका छन् ।

संसदको राज्य, व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले ल्याएको प्रतिवेदन हटाइ सीमा मिचेर जो कोहीलाई पनि नागरिकता प्रदान गर्नेगरी बाटो खोलेको आरोप पनि उनले लगाए । उनले संसदका दुवै सदनबाट बहुमतले पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक राष्ट्रिय हीत र स्वाभिमान विपरीत रहेको दाबी गरे । नेपाललाई सिक्किम वा फिजी बनाउने गरी सरकारले काम गरिरहेको उनको आरोप छ ।

‘संसदको राज्य, व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले ल्याएको जो प्रतिवेदन हो, त्यो प्रतिवेदनलाई हटाएर अहिले नागरिकता प्रदान गर्ने कुरा जुन किसिमले गरिएको छ, त्यसलाई बाटो खोलिएको छ, यो खेद जनक छ, राष्ट्रिय हीत विपरीत छ । हाम्रो स्वाभिमान विपरित कुरा छ,’ उनले भने, ‘नेपाललाई सिक्किम वा फिजी बनाउने कुरासित यसको साइनो सम्बन्ध छ ।’

एमालेले आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ र जन्मेको बेलामा आमाबाबु अंगीकृत नागरिक छन् भने उनीहरुका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ भन्ने अडान लिएको उनले बताए ।

काठमाडौंमा नवनिर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्शा गायब गरेको भन्दै आपत्ति पनि जनाए ।

‘केपी ओली नेतृत्वको सरकारले जारी गरेको चुच्चे नक्शा लुकाएर बुच्चे नक्शा सार्वजनिक गरिँदैछ, यसप्रति खेद प्रकट गर्ने कि नगर्ने ?’ उनले भने, ‘दलको साँधसीमा राखेर होइन, राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्‍याउने, आँच पुर्‍याउने कुरा हो । यसप्रति दुःख व्यक्त गर्नुपर्छ ।’

उनले सत्तामा रहेकाहरुले सत्ता टिकाउने, सरकारमा बस्ने, प्रधानमन्त्री र मन्त्री हुनका लागि घृणित कामहरु गरिरहेको उनको अर्को आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?