+
+

सञ्चालनमा आयो दोर्दी करिडोर प्रसारण लाइन

निजी क्षेत्रका आयोजनाको बिजुली खेर नजाने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २६ गते १८:४३

२६ भदौ, काठमाडौं । लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।

नेपाल विद्युत् प्राधिकरणले लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइनमा आइतबारदेखि विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको हो ।

१३२/११ केभी कीर्तिपुर सबस्टेसन यसअघि आंशिक रुपमा सञ्चालनमा आइसकेको थियो । अब सबस्टेसन पनि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ ।

प्रसारण लाइन सञ्चालनमा आएसँगै त्यस करिडोरमा निजी क्षेत्रले निर्माण गरेका ४ जलविद्युत् आयोजनाको ७२ मेगावाट विद्युत् कीर्तिपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ ।

प्रसारण पूर्वाधार अभावमा ती आयोजनाको विद्युत् खेर जाने अवस्थाको अन्त्य भएको दोर्दी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलले बताए । गत वर्षको बाढीले क्षति पुर्‍याएको एउटा टावर निर्माणको अन्तिम चरणमा रहेको उनले बताए ।

‘उदीपुरबाट दोर्दी खोला–१ जलविद्युत् आयोजनासम्म हाम्रो लाइन र त्यहाँबाट कीर्तिपुर सबस्टेसनसम्म दोर्दी खोला–१ को प्रसारण लाइन प्रयोग गरी लाइन सञ्चालनमा ल्याएका छौं । प्रसारण लाइन अभावमा विद्युत् जोड्न नपाउने हो कि भन्ने चिन्ता र चासो त्यस क्षेत्रका निजी लगानीकर्ताहरुलाई थियो, अब लाइन सञ्चालना आएपछि कुनै पनि आयोजनाको बिजुली खेर जाँदैन’ उनले भने ।

करिब ८५ करोड रुपैयाँ अनुमानित लागत रहेको दोर्दी करिडोर प्रसारण लाइन सरकारको लगानीमा निर्माण गरिएको हो । प्रसारण लाइनको लम्बाइ १० किलोमिटर छ । आयोजनाले नै कीर्तिपुरमा १३२ केभीको सबस्टेसन निर्माण गरेको हो । निर्माण सम्पन्न भएको प्रसारण लाइनको गत वर्षको असारमा दोर्दी खोलामा आएको बाढीले ४ वटा टावर बगाइदिएको थियो । त्यसमध्ये ३ वटा टावर निर्माण सम्पन्न भएको छ भने एउटा अन्तिम चरणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?