+
+

झापा ५ मा माओवादीको बटमलाइन : प्रदेश ख नछोड्ने

बिनु सुवेदी बिनु सुवेदी
२०७९ भदौ २७ गते ८:५४
झापा क्षेत्र नम्बर ५ (ख)का लागि सिफारिस माओवादी नेताहरु वायाँबाट- गगन पुरी, वीरेन्द्र बस्नेत, वेदु गौतम र डम्बर पुलामी कर्मा ।

२७ भदौ, दमक (झापा) । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि ०७४ को स्थानीय तह निर्वाचन लगत्तै छुट्टिएका नेपाली कांग्रेस र माओवादी केन्द्र पुनः एकै ठाउँ आए । ओलीको सरकार ढाल्न माओवादी र तत्कालीन एमालेकै एउटा खेमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अहोरात्र खटिए, झण्डै पाँच महिनाको मिहिनेत पछि ०७८ असार २९ गते देउवा मुलुकमा प्रधानमन्त्री भए । त्यतिखेरै कांग्रेस, माओवादी र एमालेको विद्रोही खेमा ०७९ मा हुने स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावसम्मै गठबन्धन गर्न सहमत भएका थिए ।

३० वैशाखको स्थानीय निर्वाचनमा गठबन्धन गर्न पार्टीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा दर्जनौं म्याराथन बैठक गरे, उनीहरुले चाहेझै गठबन्धन त हुन सकेन, तालमेल भने अधिकांश ठाउँमा भयो ।

त्यही तालमेलका क्रममा भागबण्डा मिलाउँदै जाँदा झापा दमक नगरपालिका परेको थियो माओवादी केन्द्रलाई । माओवादीले उम्मेदवार उठाएको थियो गगन पुरी, जो ०७४ को स्थानीय तह निर्वाचनमा पनि दमक नगरपालिकामा मेयर उठेर पराजित भएका थिए । तर ५४ र ७४ को स्थानीय निर्वाचनमा एमालेले लगातार जितेको दमक नगरपालिका कांग्रेससँग मात्रै तालमेल गरेर माओवादीले जित्न सक्ने अवस्था थिएन, राप्रपाले मेयरमा माओवादीका उम्मेदवारलाई समर्थन गर्ने कुरै भएन ।

बरु राप्रपाबाट दमकको मेयरमा उम्मेदवारी दिएका राम थापालाई एमालेले सूर्य चिह्नबाट चुनाव लडे सघाउने प्रस्ताव गरिरहेको थियो । यसअघि दमक ७ मा लगातार ‘१५ वर्षसम्म वडा अध्यक्ष भइसकेका र अघिल्लो स्थानीय तह निर्वाचनमा पनि माओवादीले भन्दा धेरै मत ल्याएका राप्रपा नेता राम थापाको दमकमा व्यक्तिगत मत नै बेसी थियो । तर थापा र पार्टी अध्यक्ष राजेन्द्र लिङदेन दुई खेमाका हुन् । त्यसैले थापा मेयर उठ्दा पनि पार्टी अध्यक्ष लिङ्देन एक दिन पनि उनका लागि भोट माग्न गएनन् । थापासँग दमकमा कम्तीमा एकपटक निर्वाचित मेयर नै बनौं भन्ने सपना अधुरै थियो, तर राप्रपाको मात्रै भोटले उनले जित्न सक्ने सम्भावना भने पटक्कै थिएन ।

यही परिस्थितिलाई देशभरबाट एमालेलाई पराजित गरौं भन्ने अभियानमा लागेको माओवादीले उपयोग गर्ने प्रस्ताव ल्यायो, कांग्रेसले साथ दियो । दमकबाटै एमाले हराउँदा अध्यक्ष ओलीसँगको रिस फेर्न सकिने अभियानमा माओवादी केन्द्र थियो । ‘राप्रपालाई पनि गठबन्धनमा सामेल गराउने प्रस्ताव मैले नै गरेको थिएँ, त्यसबेला मैले आफूले पाएको मेयरको टिकट राम थापालाई सुम्पिएँ, उहाँलाई काँधमा बोकेर भोट माग्न हिंडें,’ माओवादी केन्द्र प्रदेश १ का कोषाध्यक्ष गगन पुरीले भने, ‘नत्र दमकको मेयर बन्ने कुरा कोरा कल्पनामा मात्रै सीमित थियो ।’

गगन पुरी

राप्रपालाई समर्थन गर्दा दमकको मेयरमा एमालेलाई हराउन सकिने आकलनपछि माओवादी, कांग्रेस र राम थापाको बैठक विराटनगरमा बस्यो । उनै पुरीले थापालाई मेयरका रुपमा प्रस्ताव गरे ।

त्यतिखेर राप्रपाका थापालाई मेयर, कांग्रेसलाई उपमेयर र माओवादीलाई झापा ५ (ख) दिने सहमतिपत्रको ड्राफ्ट भयो, उक्त सहमतिलाई कांग्रेस र माओवादीका शीर्ष नेताले पनि स्वीकार गरे ।
तुलनात्मक रुपमा माओवादीका नेता पुरी यस क्षेत्रमा बलियो उम्मेदवारका रुपमा मानिन्छन् । प्रतिनिधिसभामा एमाले अध्यक्षले ओलीले प्रतिस्पर्धा गरुन्जेल अरु उम्मेदवारले जित्न नसक्ने आकलन कांग्रेस र माओवादीकै नेताहरुले गरेझैं एमालेका नेताहरु समेत यस प्रदेशमा पुरी उम्मेदवार हुँदा उनले जित्न सक्ने स्वीकार गर्छन् ।

त्यसैले झापा प्रदेश ५ (ख) लाई माओवादीले आफ्नो प्रतिष्ठाको विषय बनाएको छ । ‘माओवादी पार्टी थिएन भने राम थापा मेयर हुने कुरा सधैँलाई हाइपोथेटिकल हुन्थ्यो, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उहाँले हामीलाई सघाउने समझदारी गरेरै उहाँलाई हामीले दमकको मेयर बनाएका हौं,’ पुरीले भने, ‘उहाँ जिम्मेवार नेता भएकाले हिजोको सहमतिबाट दायाँबायाँ गर्नुहुन्छ भन्ने मैले सोचेकोसम्म पनि छैन ।’

माओवादीले झापाका २ क्षेत्रमा उम्मेदवारी दिनुपर्छ भनेर पार्टीका शीर्ष नेताहरुलाई दबाब दिइरहेको छ । संघीय निर्वाचनमा झापा १ र २ मध्ये एउटा र झापा ५ मा माओवादी केन्द्रको उम्मेदवार हुनुपर्ने केन्द्रीय सदस्य रञ्जित तामाङले बताए । माओवादी केन्द्र झापा ५ का इन्चार्ज वीरेन्द्र बस्नेत पनि माओवादीले संघ र प्रदेशमा २ मध्ये एउटा सिट पाउनुपर्ने दावी गरिरहेको जानकारी दिए ।

तर प्रदेश १ का कोषाध्यक्ष समेत रहेका पुरी चाहिं संघ र प्रदेश मध्ये एउटा रोज्नुपर्ने परिस्थिति आयो भने माओवादी केन्द्रले संघ छोडेर प्रदेशबाट उम्मेदवारी दिनुपर्ने बताउँछन् । ‘जनताले यसपटक माओवादीको ५ को ख जित्छ छोड्नुहुँदैन भनिरहेका छन् । यो छोडेर संघ लिने कुरा हामीले कल्पना गर्न सक्दैनौं,’ पुरीले भने, ‘यदि नेतृत्वले क्षेत्रको मनोविज्ञान कुल्चिएर झापा ५ (ख) छोडेर संघ लिन निर्णय गर्यो भने हामी विरुद्धमा उत्रिन्छौं । जित्ने संभावना भएको प्रदेश छोडेर दायाँबायाँ भयो भने हामीले त्यो निर्णय कार्यान्वयन गर्दैनौं । ख छोड्दैनौँ ।’

माओवादी केन्द्रले झापा ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, गगन पुरी र रमेश गुरागाईंको नाम सिफारिस गरेको छ । यस्तै प्रदेशसभा ;ख’का लागि गगन पुरी, विरेन्द्र बस्नेत, बेदु गौतम र डम्बर पुलामी ‘कर्मा’को नाम सिफारिस भएको छ ।

झापाको क्षेत्र न.. ५ (ख) भित्र दमक नगरपालिका र कमल गाउँपालिकाका वडा नं. ५, ६ र ७ पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?