+
+

‘काउली बुढी’ भ्वाइस अफ नेपालमा, ‘लौ बर्बाद भो’ भन्दै कोचलाई हँसाइन्

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते ११:५७

काठमाडौं । उनको खास नाम सन्ध्या बुढा हो । सुर्खेतकी सन्ध्यालाई आफ्नो वास्तविक नामले भन्दा ‘काउली बुढी’ उपनामले दर्शकले बढी चिन्छन् । युट्युबमा ‘काउली बुढी’ नामको कमेडी शोबाट उनी दर्शकलाई हँसाउँछिन् ।

गायनमा समेत उत्तिकै रुचि राख्ने यिनै ‘काउली बुढी’ गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ मा भाग लिन आएकी छन् । शनिबार प्रसारण भएको शोको ब्लाइन्ड अडिसनमा ‘जुनी जुनीलाई’ गीत गाएकी सन्ध्या ब्याटल राउन्डका लागि छनोट भइसकेकी छन् । चार जना कोचमध्ये उनको गायकी मन पराएर कोच प्रविशा अधिकारी फर्किएकी थिइन् ।

स्टेजमा उक्लिनुअघि सन्ध्याले आफ्नी आमालाई सम्झेर आँसु झारिन् । ‘आमाको सपना म गायिका बनेको हेर्ने थियो, तर बाल्यकालमै छाडेर जानुभयो,’ १३–१४ वर्षको उमेरमा आमा गुमाएको क्षण सम्झिंदै सन्ध्या भक्कानिइन् । संगीत आफ्नो सुखदुःखको साथी रहेको बताउँदै उनले संगीतप्रति आफू समर्पित रहेको सुनाइन् । आफ्नो लक्ष्य असल गायिका बन्ने रहेको र आमाको आशीर्वाद जहाँ भए पनि सधैं आफूसँग रहिरहने उनले बताइन् ।

सन्ध्याको परिचय गायनमा मात्रै होइन्, कमेडीमा छ । केही हास्य श्रृंखलामा अभिनय गरेर दर्शकको मन जितेकी उनी युट्युबमा काउली बुढी शोका कारण बढी चर्चित छिन् । काउली बुढीमा उनी बुढी आमाको नक्कल गरेर अभिनय गर्छिन् र स्वर पनि दुरुस्तै निकाल्छिन् । भ्वाइ अफ नेपालको स्टेजमा पनि कोचहरुको आग्रहमा उनले केहीबेर काउली बुढीको अभिनय समेत गरिन् ।

सन्ध्यालाई देखेपछि ओ काउली भन्दै जजले कोचले स्वागत गरेका थिए । कोच प्रमोद खरेलले उनको गीतमा फर्किन नपाए पनि फेरि गीत सुनाउन आग्रह गरे । प्रमोदको आग्रहलाई सन्ध्याले काउली बुढीको बुढ्यौली स्वरमा ‘तपाईं फर्किनु भएन म अब के भन्नु । म अब लाग्छु घरतिर’ भनेर हँसाएकी थिइन् ।

अर्का कोच राजेशपायल राईले आई एम एक्सट्रिम्ली सरी यार भन्दा सन्ध्याले हाँस्दै ‘तपाईं त यार मेरै दोस्त हो नि के भयो र’ भन्ने जवाफ दिइन् । उनको जवाफ सुनेर कोच र दर्शकमा हाँसो छरियो ।

काउलीले नातिनीकै स्वरमा भए पनि गीत गाउनुपर्‍यो भन्ने प्रमोदको आग्रहमा सन्ध्याले काउली बुढीको आवाजमा ‘जेसुकै होस् बर्बाद भइहाल्यो है अब के भन्नु’ भनिन् ।

उनी आमालाई सम्झिंदा भावुक बनेपछि कोच प्रविशाले उनलाई शान्त बनाइन् । आफ्नो मन चारै जान कोचलाई आफूतिर फर्काउने भएको, तर तीन जनालाई भने फर्काउन नसकेको भन्दै सन्ध्या हाँसिन् ।

सन्ध्याले नेपाल आइडलको सिजन २ मा पनि भाग लिएकी थिइन् । उनी त्यसबेला टप २० सम्म पुगेर बाहिरिएकी थिइन् । नेपाल आइडलको अडिसनमा ‘फूलको थुंगा बहेर गयो, गंगाको पानीमा’ गीत गाउँदा जजहरुले निकै प्रशंसा गरेका थिए ।

सन्ध्याले केही गीतमा स्वर दिइसकेकी छन् ।

भ्वाइस अफ नेपाल हरेक शुक्रबार र शनिबार राति ९ बजेदेखि हिमालय टीभीमा प्रसारण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?