+
+

तातोपानी र रसुवागढी नाका तत्कालै खोल्न चीन तयार

राष्ट्रपतिसँगको भेटमा चिनियाँ नेताले भने : दुबै नाका तत्कालै सञ्चालन हुन्छन्

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १७:२५

२९ भदौ, काठमाडौं । नेपालसँगको दुईवटै नाका सञ्चालन गर्न चीन तयार भएको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका तत्कालैदेखि सञ्चालन हुने जानकारी गराएका हुन् ।

चिनियाँ नेता लीले राष्ट्रपति भण्डारीसँग भेट्नुअघि व्यापारिक क्षेत्र हेर्ने चिनियाँ अधिकारीसँग कुरा गरेको भन्दै तत्कालैदेखि नाका खुल्ने बताएका राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए ।

‘यहाँ आउनुअघि मैले व्यापारिक क्षेत्र हेर्ने चिनियाँ अधिकारीसँग कुरा गरेँ, यो सन्देश हाम्रो राष्ट्रपति सि जिनपिङसमक्ष पनि पुगेपछि अब म राष्ट्रपतिज्यूसँग भन्न सक्छु कि नाकाहरु तत्कालै सञ्चालन हुनेछन्’ चिनियाँ नेता ली को भनाई उधृत गर्दै ढकालले भने ।

नेपाल र चीनबीचको दुबै नाका सञ्चालन नहुँदा नेपाली व्यापारीहरुले समस्या भोगिरहेका छन् । उनीहरुले यी नाका सञ्चालनको पहल गर्न नेपाल सरकारलाई पटक पटक आग्रह गरेका थिए ।

भेटमा नेता लीले विश्व शान्ति, चीनसँगको मित्रतापूर्ण सम्बन्धलाई निरन्तरता दिएको र एक चीन नीतिप्रति प्रतिवद्धता व्यक्त गरेकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद दिए ।

उनले राष्ट्रपति भण्डारीको नेतृत्वमा नेपाली महिलाहरुको सहभागितासहितको राजनीतिक प्रणाली बनेको भन्दै यो विषय चीनका लागि पनि सिक्नलायक रहेको बताए ।

राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको भन्दै नेपालको विकासमा चीनले गरेको सहयोगका लागि धन्यवाद दिइन् । उनले सहकार्यपूर्ण सम्बन्ध अझै बलियो बनाउँदै लैजान अनुरोध गरेको सञ्चार विज्ञ ढकालले जानकारी दिए ।

तिब्बत क्षेत्रमा कोभिड-१९ संक्रमण बढेको भन्दै २१ साउनदेखि रसुवागढी र २५ साउनदेखि तातोपानी नाका सिल गरेको थियो । कोभिडका कारण चीनले कडा मापदण्ड लागू गर्दा पछिल्लो तीन वर्षदेखि चीन-नेपालबीच स्थलमार्गबाट हुने व्यापार प्रभावित हुँदै आएको छ ।

चीनले स्थलमार्ग हुँदै नेपालबाट वस्तु निर्यातमा रोक लगाएको छ भने आफ्नो वस्तु पनि नेपाल पठाउन कोटा प्रणाली लागू गरिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?