+
+

जितिया पर्व र स्वास्थ्य

धार्मिक, संस्कृतिको रूपमा अलग पहिचान बनाएको महान् पर्व जितियाको आफ्नै महत्व छ । यसलाई राज्यले राष्ट्रिय सम्पत्ति र पहिचानको रूपमा संरक्षण गर्नु आवश्यक छ । सबै मिली यसको पैरवी गरौं । राष्ट्रिय पर्वको रूपमा स्वीकार गरौं ।

सूर्यनारायण चौधरी सूर्यनारायण चौधरी
२०७९ असोज २ गते १४:०३

नेपाल एक बहुभाषिक, बहुधार्मिक र धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो । १२५ जात–जाति एकअर्काको रीतिरिवाज, धर्म, संस्कृति, परम्परा र मान्यतालाई कदर गर्दै नेपालीको पहिचान विश्वमै उच्च बनाएर एकआपसमा मिलेर बसेका छन् । विभिन्न जातजातिले मनाउने जितिया पर्वले पनि सामाजिक एकतालाई जोड्दै सामाजिक, मानसिक अनि शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव परिरहेको छ ।

तराईमा बसोबास गर्ने कुल जनसंख्या ५०.२७ रहेकोमा २०७८ सालको प्रारम्भिक राष्ट्रिय जनगणनाको नतिजा अनुसार ५३.६६ पुगेको देखाएको छ । यसको अर्थ प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जितियाको प्रभाव ५३ प्रतिशतभन्दा बढीमा पुगेको छ र जितिया पर्व राष्ट्रिय पर्वको रूपमा स्थापित हुँदैछ ।

देश संघीयतामा प्रवेश गरेसँगै स्थानीय जनताको पहिचान, संस्कृति र परम्परा झन् मजबुत भएर जोडिएर आउँछ । संस्कृति र परम्पराले जातीय अस्तित्वलाई संरक्षणको साथै जीवन्त राखेको हुन्छ । यसले जातजातिको गौरव र इतिहास जोडिदिएको हुन्छ । बसुधैवकुटुम्बकम्को संस्कृतिलाई स्वीकार गर्न सक्नु नै नेपालीको पहिचान हो ।

संघ–संस्थाको भूमिका

जितिया पर्व विवाहित महिलाहरूले संस्कृति प्रवद्र्धन, संरक्षण, सन्तानको सुस्वास्थ्य र परिवारको सदस्यको दीर्घायुको लागि कठोर व्रत बसी धुमधामसँग मनाउने गर्छन् । स्कुल तथा विश्वविद्यालयले यही बीचमा परीक्षा राखेर रमाइलो गरी मनाउने पर्वलाई खल्लो बनाउने कार्य नगरिदिए सुनमा सुगन्ध हुन्थ्यो ।

जितिया पर्व राष्ट्रिय पर्वको रूपमा अगाडि बढिरहँदा स्थानीय सरकारले व्रतालुहरूको लागि विदा सुविधा दिनु राज्यले सम्मान गरेको बुझिन्छ । संघसंस्थाले सार्वजनिक विदा दिंदा व्रतालु महिलाहरू सामाजिक र मानसिक रूपले पूर्ण तयार हुन पुग्छ ।

सांस्कृतिक विश्वास र स्वास्थ्य

तराईमा बसोबास गर्ने आदिवासी थारू समुदायको लागि जितिया महान् पर्र्व हो । थारू जातिले यसलाई आफ्नै मौलिक परम्परा र विधि–व्यवहारबाट मनाउने गर्दछन् । थारू समुदायसँगै तराईमा बसोबास गर्ने मधेशी लगायत अन्य समुदायले पनि धार्मिक निष्ठाका साथ जितिया पर्वलाई मनाउँदै आएका छन् ।

खासगरी तराईमा विवाहिता महिलाले राख्ने महान् र कठोर व्रतको रूपमा चिनिन्छ । यसलाई थारू भाषामा ‘खर जितिया’ भनिन्छ ।

पहिलो पटक जितियाको व्रत आरम्भ गर्नेलाई थारू समुदायमा जितिया उठाउनु वा जितिया पाथ्नु भनिन्छ । शनिबारको राति बिहान दर (ओटघन) खाएर आइतबार निराहार व्रत बसी सोमबार व्रत समापन गर्ने तिथि मिलेको जितियालाई खर अर्थात् शुद्ध जितिया मानिन्छ ।

यसअघि २०७६ सालमा खर जितिया पर्व परेको थियो । त्यसको चार वर्षपछि फेरि यो वर्ष खर जितिया परेको छ । खर अर्थात् शुद्ध जितियाले सन्तानको भविष्य तथा परिवारको सुख, शान्ति र दीर्घायु कायमै रहन्छ भन्ने सामाजिक तथा धार्मिक विश्वास छ ।

जितियामा परिवारको भूमिका र स्वास्थ्य

थारू समाजमा विवाहित दिदीबहिनी, छोरी–चेलीलाई माइतीपक्षका दाजुभाइ अनिवार्य रूपमा ल्याउन जानुपर्छ । यो वर्षौंदेखिको चलन हो । यदि माइती पक्षबाट लिन नगएमा छोरी–चेलीहरूलाई माइतीले अब माया मा¥यो भन्ने भान हुन्छ । त्यसकारण घरमा दाजुभाइ नभए पनि बुवाले नै छोरीचेलीलाई लिन जान्छन् ।

माइतीबाट आउने दाजुभाइलाई परेवाको मासु र टाउको खुवाउने चलनले दिदीभाइको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग गर्छ । फर्किंदा सँगै फर्किनुपर्छ भन्ने मान्यता पनि छ । छोरीचेली माइत आउँदा तेलमा पकाएको तेलपौर रोटी, दही, पुरानो धानको चिउरा कोसेलीको रूपमा ल्याउने गर्छन् । उक्त कोसेली तयार गर्न सासूको भूमिकाले सासू र बुहारीको सम्बन्धलाई आमा–छोरीको सम्बन्ध जस्तो बलियो बनाउन सहयोग गर्छ ।

छोरीचेलीले माइतमा ल्याएको कोसेलीलाई छरछिमेकमा पनि बाँड्ने गर्छन् । यसले थारू समाजमा सामाजिक आत्मीयतालाई बढाउँछ । वर्ष दिनको पर्वमा छोरी, चेली माइत आउँदा माइतीमा खुसीले बसन्त छाउँछ ।

माइतीमा आएका बेला आफूसँगै खेले हुर्किएका साथीहरूको भेटघाटले झन् उमंग थपिदिन्छ । साथीभाइ, परिवारसँगको उक्त भेटले जितियाको व्रत बितेको पत्तै हुन्न । यही परम्परा र विशेषताका कारण थारू समाजमा सामाजिक, शारीरिक र मानसिक रूपमा व्रतालु महिलाहरूलाई थप उत्साह, उमंगसँगै स्वस्थ रूपमा जितिया सम्पन्न गर्ने हौसला प्रदान गर्दछ ।

खाना परिकार र स्वास्थ्य

थारू समाजमा जितिया पर्वको महत्वपूर्ण पक्ष हो ओटघन (दर) । उक्त ओटघन तयारीको लागि माइती पक्षले विशेष परिकारको व्यवस्था गरेको हुन्छ, जसमा ओल (माटो मुनि पाइने तरकारी जसमा अधिक मात्रामा आइरन तत्व पाइन्छ), माछाको परिकार लगायत रहन्छन् ।

ओटघन मध्यरातबाट सुरु हुन्छ । ओटघन खानको लागि आमा, दिदीबहिनीहरू राति नै उठ्छन् । विभिन्न माछा फ्राई, परवल, आलु, भिन्डी, लौका आदिको तरुवा भुजुवाको मिठा–मिठा परिकार बनाउँछन् । ओटघनमा माछा अनिवार्य रहन्छ । उक्त परिकारहरू पकाउँदा स्वाभाविक रूपमा भाडाकुँडाहरूको आवाज आउने र बालबालिका उठ्ने भएकाले आमाहरूले लोरी गीत गाउँदै पुनः सुताउने प्रयास गर्छन् र ओटघन खान्छन् ।

यही कारणले थारू समाजमा अहिले यसबारेमा एउटा भनाइ नै प्रसिद्ध छ– ‘जितिया पावैन बर भारी, धिया पुताके ठोइक सुताबे आपना लेलेक भैर थारी’ अर्थात् जितियाको पर्व धेरै कठिन भएकाले बालबच्चालाई सुताएर भए पनि दर अघाउञ्जेल खानुपर्छ किनकि बिहानदेखि कठोर अनि निराहार व्रत पार गर्नुछ ।

ओटघन खानको लागि बनाएका विभिन्न मिठा परिकारहरू भाले बास्नु अगाडि नै खाइसक्नुपर्छ भन्ने सामाजिक मान्यता छ ।

व्रत बसेको दिन व्रतालु महिलाहरू जितमहान भगवानको कथा सुन्ने र पूजापाठ गर्छन् । खासगरी गाउँमा यो दिन पोखरी बनाएर सामूहिक पूजा गर्ने चलन पनि बढ्दै गएको छ । व्रतालुहरूले पाँचवटा केरा, जितमहानको फूल, पान, दुई वटा धानको मोइर (धान राख्ने भकारीको प्रतीक), सिन्दुर, बौटरा, घिरौंलाको फूल पात, सुपारी, अछता, तुलसी, दियो कपडाको गुडिया, केराको थामको घोडा र कुशको तीर, विषमान, केराको पातको धनुष बनाई डालीमा राख्ने गर्छन् ।

पूजा गर्ने ठाउँमा सानो पोखरी जस्तो बनाएर बीचमा जितमहानको मूर्ति राखेको हुन्छ । व्रतालु महिला दिदी–बहिनीहरूले जितमहानको कथा सुन्दै पोखरीको डिलमा कथा सकिएसँगै पूजा गर्छन् । कथा सकिएपछि केराको थामबाट बनाइएको घोडामा चढेर दाजुभाइले प्रतीकात्मक रूपमा दिदीबहिनीलाई धनुषले छुने अनि पोखरी तार्ने गर्छन् ।

स्वास्थ्यमा ध्यान

जितिया पर्वमा स्वास्थ्यको विशेष ध्यान दिनुपर्छ । ओटघनमा माछा खाँदा हतार नगरी खानुपर्छ । हतार हतार खाँदा काँडाले घाउ बनाउने, घाँटीमा अड्किने हुनसक्छ । बालबच्चालाई काँडा निकालेर खान दिनुपर्छ । तरकारी, मासु राम्ररी पकाएर खानुपर्छ । धेरै पिरो, चिल्लोले स्वास्थ्यमा नकारात्मक असर गर्छ ।

राम्ररी नपाकेको खानाले पेट बिगार्ने, गोलो जुका पर्ने, बंगुरको मासुले टेनिया सोलियम हुनसक्ने, सडेगलेको भए झाडापखाला लाग्न सक्ने सम्भावना हुन्छ । दीर्घ रोगीहरू निर्जल व्रत नबसेको नै राम्रो । धेरै व्रत बस्ने बानी भए ग्यास्ट्रिक हुनसक्छ ।

ग्यास्ट्रिक बिग्रेर जटिल अवस्थामा पुग्न सक्छ । व्रतालुले स्वास्थ्य बिग्रन नदिन आवश्यकता अनुसार चिया, फलफूल खान सकिन्छ । ठूलो आवाजमा गीत बजाउँदा यसले विद्यार्थी तथा रोगीहरूलाई मानसिक रूपमा असर गर्छ ।

निचोड

धार्मिक, संस्कृतिको रूपमा अलग पहिचान बनाएको महान् पर्व जितियाको आफ्नै महत्व छ । यसलाई राज्यले राष्ट्रिय सम्पत्ति र पहिचानको रूपमा संरक्षण गर्नु आवश्यक छ । सबै मिली यसको पैरवी गरौं । राष्ट्रिय पर्वको रूपमा स्वीकार गरौं । आफ्नो सन्तान र परिवारको खुसी, सुस्वास्थ्य, दीर्घायुको लागि गरिने पर्वमा छोराछोरीले पनि आफ्नो दायित्व सम्झिनुपर्छ ।

जितिया पर्वले पितृ–मातृत्व नाता–सम्बन्धलाई बलियो बनाई आफन्तबीच आत्मीयता निभाउन प्रेरित गर्ने भएकाले आफ्नो खुसी र क्षमताले जे दिन्छ, त्यसलाई छोरीचेलीले स्वीकार गरी बुद्धिमानी चेलीको नमूना बन्नुपर्छ । सुख र दुःख सबैमा साथ दिनुपर्छ ।

महान् जितिया पर्वको उपलक्ष्यमा सबैमा सुख, शान्ति र सुस्वास्थ्यको मंगलमय कामना !

(लेखक कोशी हेल्थ एण्ड साइन्स क्याम्पसका उप–प्राध्यापक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?