+
+

नागरिकता मागेका कारण हत्या

सुरेश बिडारी सुरेश बिडारी
२०७९ असोज ३ गते १७:४१
तेतरीको हत्या भएको ठाउँ ।

३ असोज, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–७ कि तेतरी देवीको हत्या नागरिकता बनाइदिन आग्रह गरेका कारण भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

सौताको छोरा जयप्रकाशले धारिलो हतियार प्रहार गरेर तेतरी देवीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीले हत्यामा प्रयोग भएको धारिलो हतियार समेत बरामद गरेको छ । घटनापछि जयप्रकाश र उनकी आमा धनमन्ती देवी फरार छन् ।

तेतरीले श्रीमान शिवनारायण यादवलाई नागरिकता बनाइदिन आग्रह गर्दै आएकी थिइन् । नागरिकता बनाएपछि अंश दिनुपर्ने भएकाले उनीहरुले हत्या गरेको प्रहरीको दाबी छ ।

‘मृतकको नागरिकता बनाइदिएका रहेनछन्, त्यसै विषयमा घरमा विवाद हुने गरेको रहेछ’, उनले भने, ‘धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको हो, हत्यारा परिवारकै सदस्य हुन्, पहिचान भइसकेको छ ।’

कसरी भयो हत्या ?

तेतरीको विवाह शिवनारायणसँग ४० वर्षअघि भएको थियो । उनीहरुको सन्तान जन्मिएको थिएन । प्रहरीका अनुसार वंश विस्तारका लागि सन्तान चाहिने भन्दै तेतरीको समेत सहमतिमा शिवनारायणले धनमन्तीसँग विवाह गरे ।

उनीहरुको दुई सन्तान भए । शिवनारायणले धनमन्ती र उनका २ छोराको नागरिकता बनाइदिएका थिए । तर तेतरी देवीको नागरिकता बनाइदिन भन्दै सहयोग गरेनन् ।

सन्तान नभएकै कारण उनीमाथि हेंला हुने गरेको थियो । तेतरीले शिवनारायणसँग नागरिकता बनाइदिन बारम्बार अनुरोध गर्थिन् । ‘हुन्छ बनाइदिन्छु’ भने पनि शिवनारायणले नागरिकता बनाउन प्रक्रिया सुरु गर्न कहिल्यै चासो दिएनन् ।

नागरिकता बनाइदिएपछि तेतरीलाई अंश दिनुपर्ने हुँदा कान्छी धनमन्तीले श्रीमानलाई नागरिकता नबनाउन दबाव दिन्थिन् । यही विषयलाई लिएर घरमा झै–झगडा भइरहन्थ्यो ।

बिहीबार तेतरी घाँस काट्न गएकी थिइन्, अरु सदस्यहरु घरमै थिए । उनी घाँस लिएर घर आउनेवित्तिकै भकारीको छेउमा बसिरहेको अवस्थामा धारिलो हतियार प्रहारबाट हत्या भएको प्रहरीको भनाइ छ ।

३ जनाविरुद्ध जाहेरी, श्रीमान पक्राउ

घटनापछि मृतक तेतरीका दाजु लक्ष्मी राउतले श्रीमान ६० वर्षीय शिवनारायण यादव, सौता धनमन्ती देवी र सौताको छोरा जयकिशोर यादव विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् ।

तेतरी देवीलाई श्रीमान, सौता र उनका छोराहरु मिलेर अंश नदिने उद्देश्यले नागरिकतासमेत नबनाइदिएको, खान लाउन माग्दा घरमा विवाद हुने गरेकाले उनीहरुले नियोजित ढंगले हत्या गरेको जाहेरीमा उल्लेख छ ।

प्रहरीले शिव नारायणलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ । फरार रहेका अभियुक्तहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

हत्यापछि उनीहरु भारततर्फ भागेको हुन सक्ने आशंकामा नेपाल प्रहरीमा नै कार्यरत मृतकका आफन्तसहितको टोलीलाई खोज्न खटाइएको उनले बताए ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?