+
+

नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन सुरू

यस्ता बिषयमा हुनेछ छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १३:२२

४ असोज, काठमाडौं । नेपाल चिकित्सकको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आजदेखि सुरू भएको छ । सम्मेलनको पहिलो दिन मंगलबार तीनवटा विषयमा र दोस्रो दिन बुधबार चार वटा विषयमा छलफल हुने नेपाल चिकित्सक संघ जनाएको छ ।

सम्मेलन कार्की ब्यांकेटमा हुने र प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनको पहिलो दिन संघको ‘पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धी’, ‘सुर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेहको असर’ र ’चिकित्सा र स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेशमै हौसला, अवसर र प्रेरणा’ विषयमा छलफल हुनेछ ।

यस्तै बुधबार, महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसरहरु’, ’खोप, औषधि र उपकरणहरुको उचित भण्डारण, ढुवानी र वितरण’, नेपालमा स्वास्थ्य पर्यटनको संभावना’ र ’चिकित्सा शिक्षामा असर र अवसर’ विषयमा छलफल हुने संघका अध्यक्ष डा. लोचन कार्कीले जानकारी दिए ।

जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन सुरुवात भएको सेप्टेम्बर महिनालाई प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रुपमा मनाउने संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार गत वर्षदेखि राष्ट्रिय सम्मेलन गर्न थालिएको डा. कार्कीले बताए ।

अध्यक्ष डा. कार्कीका अनुसार सम्मेलनमा विज्ञहरुसँग अन्तरक्रिया गरी निस्कने निचोडलाई कार्यपत्र बनई सरकारलाई सुझावको रुपमा पेस गरिने छ । ‘यो सम्मेलनमा विभिन्न विषयहरुमा गहन छलफल हुनेछ,’ उनले भने, ‘ नेपालको स्वास्थ्य प्रणाली सुधार गर्दै जारी रहेको कोरोना महामारी र आगामी दिनमा पनि आउन सक्ने यी र यस्तै स्वास्थ्य संकटका सामना गर्न सवल स्वास्थ्य प्रणाली निर्माणका लागि टेवा पुर्याउने विश्वास छ ।’

‘अहिले पनि राज्य स्वास्थ्य जनशक्ति बढाउने र भएका जनशक्तिको व्यवस्थापन गर्ने स्पष्ट खाका तयार गर्ने बाटोमा छैन । यी सबै तथ्यले हामी समस्या आइरहँदा क्षणीक र निरीह व्यवस्थापनको तरीका अवलम्बन गरिरहेका मात्र छौँ भन्ने देखाउँछ,’ डा. कार्कीले अगाडी थपे ,‘हामीले सामना गरेका समस्याबाट सिकेर भविष्यमा यी र यस्तै विपत्ति आउँदा गर्नुपर्ने कामको एउटै बुझाई तय गरेर राज्यका नीति, योजना, कार्यक्रम, ऐन र नियममा सुधार गर्नु प्रमुख आवश्यकता हो ।’

संघका महासचिव डा. बद्री रिजालले सम्मेलनमा देशभरबाट १ हजार बढी चिकित्सक तथा स्वास्थ्य क्षेत्रका विज्ञहरुले सहभागिता जनाउने अनुमान रहेको बताए ।

ती विषयवस्तुमा स्वास्थ्यका राजनीतिक, प्रशासनीक नेतृत्वकर्ता, योजना तर्जुमा तथा कार्यन्वयन गर्ने ठाउँमा बसेका अधिकारी एवं विज्ञहरुसँग छलफल गरिनेछ ।

सम्मेलन पश्चात प्रस्तुत भएको वैज्ञानिक कार्यपत्रसहित छलफलबाट निस्किएका निचोडलाई एकीकृत गरी भविष्यमा देखापर्ने यस्ता विपत्ति, र महामारीको सामना, व्यवस्थापनका लागि आवश्यक कानून निर्माण, योजना तर्जुमा तथा कार्यन्वयन ल्याउन सहयोगी होस् भन्ने उदेश्यले ‘पोलिसी ब्रिफ’ बनाएर विभिन्न निकायमा बुझाइने डा. रिजालले बताए ।

दोस्रो सम्मेलनका लागि संघले आयोजक समिति बनाएर काम गरिरहेको छ । संघका पूर्व अध्यक्ष अञ्जनीकुमार झाको अध्यक्षतामा गठित आयोजक समितिमा संघका अध्यक्ष डा. लोचन कार्की, महासचिव डा. बद्री रिजाल, डा. एन्जल मगर र डा. चन्दा कार्की रहेका छन् ।

सम्मेलनको सल्लाहकार समितिमा डा. रमेशकान्त अधिकारी, डा केदारनरसिंह केसी, डा. किरण रेग्मी, डा. कुसुम थापा र डा. मिता सिंह छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?