+
+

राजनीतिबाट सन्यास लिँदैछु : विमल श्रीवास्तव

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते १९:२१

६ असोज, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता विमल श्रीवास्तवले राजनीतिबाट सन्यास लिने बताएका छन् । लोसपा परित्याग गरेर उनी एमालेमा प्रवेश गर्ने चर्चा चलिरहेका बेला राजनीतिबाट सन्यास लिन लागेको बताएका हुन् ।

केहिदिन अघि उनले चुनाव नलड्ने मनस्थिति मात्रै बनाएको बताएका थिए । लोसपाका कार्यकारिणी सदस्य समेत रहेका श्रीवास्तवले अनलाइनखबरसँगको कुराकानीमा आफू राजनीति नै नगर्ने भन्ने निर्णयमा पुगेको बताए ।

‘राजनीतिमा नयाँ युथहरुलाई मौका दिनुपर्छ नि, सधैं हामी नै चुनाव लड्ने, सधैं हामीले नै पार्टीमा नेतृत्व गर्ने कुरा पनि त भएन नि’, उनले भने ‘त्यसैले राजनीतिबाट नै सन्यास लिने सोच बनाएको छु । बरु सामाजिक काममा लाग्छु । ’

५५ वर्षदेखि राजनीतिमा सक्रिय श्रीवास्तव एक पटक वडा अध्यक्ष, चार पटक मेयर, दुई पटक सांसद र एकपटक मन्त्री समेत भइसकेका छन् ।

७३ वर्षीय श्रीवास्तवले स्वतन्त्र विद्यार्थी मण्डल संगठनबाट राजनीति सुरु गरेका थिए । पञ्चायतकालमा एकपटक वडाध्यक्ष र तीनपटक वीरगञ्जको मेयर बनेका उनी बहुदल आएपछि पनि राजनीतिमा चर्चामा रहे ।

उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि एकपटक मेयर बनेका थिए । २०४६ सालको जनआन्दोलनपछि राप्रपामा सक्रिय श्रीवास्तव गणतन्त्र आएपछि भने महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीमा गएका थिए ।

उनले तमलोपाबाटै संविधानसभा सदस्यमा चुनाव जितेका थिए । तमलोपा सहितको मधेसी दल मिलेर राष्ट्रिय जनता पार्टी बनेपछि उनी त्यसैमा सक्रिय थिए । तर २०७४ सालको स्थानीय चुनावमा वीरगञ्जको मेयरमा राजपाले राजेशमान सिंहलाई टिकट दिने भएपछि श्रीवास्तव विजयकुमार गच्छदार नेतृत्वको तत्कालिन नेपाल लोकतान्त्रिक फोरमबाट मेयरमा उठे । तर उनी पराजित भए ।

चुनावमा होमिनका लागि जुनसुकै तरिका अपनाउन सक्ने व्यक्तिको रुपमा परिचत उनी मेयरमा पराजित भएपनि रोकिएनन् । तत्कालै संघीय समाजवादी फोरममा प्रवेश गरेर पर्सा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडे । मेयरमा पराजित भएका उनी प्रतिनिधि सभा सदस्यमा भने विजयी भए ।

उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली नेतृत्व सरकारमा १८ दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री समेत बने । स्थानीय निर्वाचनमा वीरगञ्जमा एमालेसँग चुनावी तालमेल गराउन सक्रिय भूमिका निर्वाह गरेका श्रीवास्तव हाल लोसपामा नै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?