+
+

खेल मैदान नहुँदा इन्द्रावती बगरमा भलिबल प्रतियोगिता

रासस रासस
२०७९ असोज ९ गते १५:०४

९ असोज, सिन्धुपाल्चोक । चार्डपर्व नजिकिएसँगै जिल्लामा खेलकुदका गतिविधि पनि बढ्न थालेका छन् । जिल्लाको विभिन्न मुख्य खेल प्रतियोगिता हुने मेलम्चीमा खेल मैदान नहुँदा आयोजकहरु इन्द्रावती बगरमा प्रतियोगिता आयोजना गर्न बाध्य छन् ।

शनिबार सम्पन्न नगरस्तरीय भलिबल इन्द्रावती बगरमा रहेको निमार्णाधिन बसपार्कमा आयोजना गरिएको थियो । घाम लाग्दा गर्मी र पानी पर्दा हिलो भएर प्रतियोगिता सञ्चालन गर्न कठिन भएको आयोजक ओम वाइबा गुनासो गर्छन् । जिल्लामा जुनसुकै खेलकुद प्रतियोगिता गर्न कुनै चाडपर्व वा मेला कुर्नुपर्ने र भइहाले पनि कहाँ सञ्चालन गर्ने भन्ने ठूलो चिन्ता आयोजकलाई भइरहन्छ ।

भलिबल, फुटबल, क्रिकेट, कराँतेलगायत विभिन्न खेलकुदमा सक्रिय सहभागिता हुँदै उत्कृष्ट नतिजासमेत हासिल गर्दै आएको सिन्धुपाल्चोकमा पछिल्लो समय कोराना, बाढी तथा पहिराका कारण कम भएको खेलकुदका गतिविधि बढ्न थालेको छ । चाडपर्वको मुखमा मात्र आयोजना हुने खेलकुदका गतिविधिमा खेलाडीको भने त्यति उत्साह पाइँदैन ।

पूर्वखेलाडी सीपी दुलाल बनेका संरचना बाढीले बगाएपछि खेल मैदानलगायत पूर्वाधार अभावका कारण खेल क्षेत्र नै शिथिल भएको बताउँछन् । ‘खेल क्षेत्रलाई उकास्न तिनै तहका सरकार क्रियाशील रहन आवश्यक छ’ उनले भने ।

१४ करोड रुपैयाँको लागतमा निमार्णाधीन रङ्गशाला गत वर्षको बाढीले बगाएको थियो । हेलम्बुका पनि खोला आसपास सबै बगर भएपछि खेल मैदान अभाव छ ।

सबै क्षेत्रमा जस्तै खेलमा पनि राजनीति भित्रिँदा कतिपय राम्रा खेलाडीले स्थान पाउन सकेका छैनन् । खेलप्रेमी सुशान्त सिग्देल खेल क्षेत्रलाई राजनीतिकरण नगरी स्वतन्त्ररुपमा छोड्नुपर्ने बताउँछन् ।

जिल्लामा खेलकुदको राम्रो सम्भावना हुँदाहुँदै पनि अन्योल भविष्यका कारण खेलाडीको लगनशिलता पाइँदैन । कोही विदेशिएका छन् भने कोही जागिरको सिलसिलामा अन्यत्र छरिएका छन् । तिनै तहको सरकारसँग समन्वयात्मक भूमिका निर्वाह गर्दै खेलक्षेत्रलाई उकास्ने योजना रहेको जिल्ला भलिबल सङ्घ सिन्धुपाल्चोकका अध्यक्ष रमेशकुमार खड्का बताउँछन् ।

इन्द्रावती, सुनकोसी, चौतारा, लिसङ्खुपाखरबाहेकका पालिकामा पर्याप्त खेल मैदान नभएको जिल्ला खेलकुद विकास समितिका पूर्वध्यक्ष शिव देउजाको भनाइ छ ।

मेलम्ची नगरपालिकामा अघिल्लो कार्यकालमै निर्माण भएको खेल मैदान कर्भडहल गत वर्षको बाढीले बगाएपछि अहिले खेल मैदानको खोजीमा नगरपालिका लागिपरेको नगर प्रमुख आइतमान तामाङ बताउँछन् । उनी खेल क्षेत्र र खेलाडीलाई उकास्न नगर सधैँ तयार रहेको उल्लेख गर्छन् ।

सिन्धुपाल्चोकमा थुप्रै खेलाडी भए पनि पछिल्लो समय अन्यत्र पलायन हुँदा नयाँ खेलाडी उत्पादन हुन सकेका छैनन् । राज्यले खेलाडीको मनोबल उकास्नका लागि खेलक्षेत्रमा पर्याप्त लगानी गर्न आवश्यक रहेको खेलप्रेमी बताउँछन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?