+
+

बिरयानी खाने हो ? यी हुन् काठमाडौंको ८ रोज्जा रेस्टुरेन्ट

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ असोज ११ गते १२:५४

काठमाडौं । नेपाली दाल, भात, तरकारीमा स्वाद भिजेकाहरुलाई खास लाग्न सक्छ, बिरयानी । यो एक परिपूर्ण व्यञ्जन हो, जहाँ एकै थालीमा स्वादको विविधता पाउन सकिन्छ ।

चामलमा घिउ, प्याज, जाइफल, दालचिनी, तेजपत्ता, धनियाँ, ल्वाङ, केशर आदिको मिश्रणबाट बिरयानी तयार गरिन्छ । त्यसमा मासु मिसाउने वा अण्डा ? आफ्नो स्वाद र मर्जी अनुसार थपघट गर्न सकिन्छ ।

खासमा यो भारतीय व्यञ्जन हो । भनिन्छ, बिरयानी भारतमा मुगल शासनकालमा सुरु भएको हो । अतः नेपाली जिब्रोलाई पनि बिरयानीले लोभ्याएको छ । त्यसैले त सहरमा यस्ता थुप्रै रेस्टुरेन्ट सञ्चालनमा छन्, जसको खास व्यञ्जन बिरयानी हो ।

मुगल बिरयानी हाउस, लाजिम्पाट

सात वर्षअघि स्थापना भएको मुगल बिरयानी पनि बिरयानीको लागि लोकप्रिय छ । मुगल बिरयानीले लाजिम्पाट, ठमेल र झम्सिखेलमा गरी तीन ठाउँमा आफ्नो शाखा विस्थापित गरिसकेको छ ।

मुगलमा तामाको भाँडोमा बिरयानी पस्किने गरिन्छ । इन्डियन रेस्टुरेन्टहरुमा पनि तामाको भाँडोमा दिइने शैलीलाई पछ्याउँदै मुगलले तामाको भाँडोमा बिरयानी सर्भ गर्छ । यहाँ हैदरावादी, पार्सी बिरयानी र कश्मिरी प्रकारको बिरयानी उपलब्ध छ ।

मुगलमा मटन, चिकेन, फिस, प्राउन र भेज बिरयानी पाइन्छ । यहाँ ७५० एमएल मटन बिरयानीको ६८५ रुपैयाँ, चिकेनको ५५५ रुपैयाँ, प्राउनको ८२५ रुपैयाँ, फिसको ६२५ रुपैयाँ र भेजको ४१० पर्छ ।

हाँडी बिरयानी, डिल्लीबजार

हाँडी बिरयानीको दुईवटा शाखा छ, डिल्लीबजार र कुमारीपाटी । यहाँ हैदरावादी बिरयानी र लखनौको दम बिरयानी दुई प्रकारको बिरयानी पाइन्छ । मटन, चिकेन, भेज, प्राउन र अण्डा गरी पाँच प्रकारको बिरयानी यहाँ पाइन्छ ।

यहाँ पनि आकारको हिसाबमा बिरयानी उपलब्ध हुन्छ । एक जनालाई पुग्ने आकारको मटन बिरयानीको ४०० रुपैयाँ, चिकेनको ३५० रुपैयाँ, प्राउनको ४०० रुपैयाँ, अण्डा बिरयानीको ३५० र भेज बिरयानीको ३०० रुपैयाँ पर्छ ।

बिरयानीमा १९ प्रकारको मसला प्रयोग भएको हुन्छ ।

चुल्हो टेस्ट अफ हैदरावाद, बौद्ध

बौद्धमा रहेको चुल्हो टेस्ट अफ हैदरावाद पनि बिरयानीको लागि लोकप्रिय छ । यहाँको विशेष परिकार नै हैदरावाद दम बिरयानी हो । यहाँ मटन, चिकेन, चुल्हो स्पेसल बोनलेस चिकेन बिरयानी र भेज बिरयानी पाइन्छ ।

हैदरावादी बिरयानीमा मसलाको फ्लेभर अलि धेरै हुन्छ । अन्य केही रेस्टुरेन्टले पनि हैदरावादी बिरयानी भनेर बेच्ने भए पनि त्यसमा प्रयोग हुने सबै प्रकारको मसला प्रयोग गरेका हुँदैनन् । तर चुल्होमा भने हैदरावादी बिरयानीमा प्रयोग हुने सबै प्रकारको मसला प्रयोग गरिने सञ्चालक बताउँछन् । केही मसला भारतबाट पनि आयात गरिन्छ ।

यहाँका सेफ १७ वर्ष भारतको हैदरावादमा काम गरेर आएका हुन् ।

यहाँ मटन बिरयानीको ७०० रुपैयाँ, चिकेनको ५७५ रुपैयाँ, भेजको ४५० रुपैयाँ पर्छ । ग्राहकको आवश्यकता अनुसार फिस र प्राउन बिरयानी पनि यहाँ तयार गरिन्छ ।

बिरयानी हाउस सेकुवा केभ, बालुवाटार

बालुवाटारस्थित बिरयानी हाउस सेकुवा केभको चार वर्षअघि खुलेको हो । हैदरवादी बिरयानीकै लागि रुचाइएको यहाँ चिकेन, मटन, अण्डा र भेज बिरयानी पाइन्छ ।

यहाँ एक जनाको लागि पुग्ने मटन बिरयानीको ६५० रुपैयाँ, चिकेनको ४९५ रुपैयाँ, अण्डाको ३७५ रुपैयाँ र भेज बिरयानीको ३५० रुपैयाँ तिर्नुपर्छ । बिरयानी हाउस सेकुवा केभमा होम डेलिभरीको पनि व्यवस्था छ ।

ब्याम्बो बिरयानी, मैतिदेवी

दुई वर्षअघि सञ्चालनमा आएको मैतिदेवीको ब्याम्बो बिरयानी पनि बिरयानी पारखीहरूको रोजाइको रेस्टुरेन्ट हो । बाँसमा पकाइने भएकाले यहाँको बिरयानी अन्य ठाउँको भन्दा अलि फरक छ । यहाँ मटन, चिकेन र भेज बिरयानी पाइन्छ ।

ब्याम्बो बिरयानीमा मटन बिरयानीको ५०० रुपैयाँ, चिकेनको ४०० र भेज बिरयानीको पनि ४०० रुपैयाँ पर्छ । भेज बिरयानीमा पनिर राखिएको हुन्छ । हरियो बाँसमा खाना पकाएर  खाने चलन नयाँ भने होइन । भुटान र बर्मामा पनि केही खानाको परिकार बाँसमा नै पकाइन्छ । त्यही कन्सेप्टको आधारमा ब्याम्बो बिरयानीको स्थापना भएको हो ।

बिरयानी अड्डा, बालुवाटार

बालुवाटारमै रहेको बिरयानी अड्डा बिरयानी पारखीहरूको लागि अर्को राम्रो विकल्प हो । यहाँ अकबरे बिरयानी, मटन, चिकेन, फिस, प्राउन र भेज सबै प्रकारको बिरयानी पाइन्छ ।

यहाँ हैदरवादी बिरयानी पाइन्छ भने माटोको भाँडो मट्कामा सर्भ गरिन्छ । सानो मट्का चिकेन बिरयानीको ४८० रुपैयाँ, मटनको ४९५ रुपैयाँ, फिसको ४९५ रुपैयाँ, प्राउनको ६०० रुपैयाँ र भेज बिरयानीको ३७५ रुपैयाँ पर्छ ।

यहाँ पाइने बिरयानीको विशेषता भनेको बिरयानी बनाउनेदेखि सर्भ गर्ने सबै सामान नेपालमा नै बनेको प्रयोग गरिन्छ ।

बिरयानी आँगन, पुरानो बानेश्वर 

बिरयानी आँगनमा मटन, चिकेन र भेज बिरयानी पाइन्छ । यहाँको बिरयानीको विशेषता भनेको दम बिरयानीमा नेपाली फ्युजन हो । यहाँ मटन बिरयानीको ५०० रुपैयाँ, चिकेनको ४०० र भेजको ३०० रुपैयाँ पर्छ ।

बिरयानी आँगन पाँच महिनाअघि मात्रै खुलेको हो ।

बिरयानी मोमेन्ट, शंखमूल

शंखमूलमा रहेको बिरयानी मोमेन्ट पनि बिरयानी पारखीको रोजाइको रेस्टुरेन्ट हो। यसले हालसालै मात्र चितवनको नारायणगढमा नयाँ शाखा समेत खोलेको छ ।

यहाँ मटन, चिकेन र भेज बिरयानी पाइन्छ भने ग्राहकहरुलाई मट्कामा सर्भ गरिन्छ । हैदरावादी मटन बिरयानीको ७१५ रुपैयाँ, चिकेन ४७५ रुपैयाँ र भेजको ३९९ रुपैयाँ पर्छ । बिरयानी मोमेन्टमा होम डेलिभरीको पनि व्यवस्था छ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?