+
+

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल ३ सय बेडमा स्तरोन्नति हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ११ गते २०:२९

बुटवल । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालको स्तरोन्नति हुने भएको छ ।

बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सञ्चालनमा रहेको अस्पतालमा २ सय बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो ।

एशोशिएशन अफ मेडिकल डक्टर्स अफ एशिया (आम्दा) इन्टरनेशनलका अध्यक्ष सिगेरू सुगानामीको उपस्थितिमा बसेको अस्पताल सञ्चालक समितिको बैठकले अस्पतालको स्तरोन्नति गर्न निर्णय गरेको हो ।

आम्दा नेपाल, बुटवल उपमहानगरपालिका र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको त्रिपक्षीय सहमतिमा २०५३ सालमा बुटवल उपमहानगरपालिका वडा नं. ७ (साविक वडा नं. ९) मा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) को स्थापना गरिएको थियो । ५० शय्याबाट सुरु भएको उक्त अस्पताल हाल सय शय्यामा सञ्चालन गरिएको छ ।

अस्पतालका अध्यक्षसमेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पताललाई ३ सय बेडको बनाउने र विशिष्टिकृत सेवा प्रवाह गर्ने निर्णय गरेको बताए ।

अस्पतालको स्तरोन्नतिका लागि बुटवल उपमहानगरपालिका, आम्दा र बुटवल उद्योग वाणिज्य संघले पहल गर्ने गरी समझदारी भएको उनले बताए । उनले महिला र बालबालिकाको स्वास्थ्य उपचारमा सबै खालका सुविधासहितको अस्पतालका रुपमा स्तरोन्नति गर्ने बताए ।

समझदारीका क्रममा आम्दा इन्टरनेशनलका अध्यक्ष डा. सिगेरू सुगानामीले आम्दाले बुटवलमा अस्पताल स्तरोन्नति गर्नका लागि आवश्यक सहकार्य गर्ने बताए । उनले अस्पतालमा बेड थप गर्ने मात्रै नभई अन्य सुविधा थप गर्ने गरी त्रिपक्षीय सहकार्य हुने पनि बताए ।

आम्दा नेपालका अध्यक्ष डा. अनिलकुमार दासले आम्दाले बुटवलको अस्पताललाई स्तरोन्नति गर्नका लागि आवश्यक सहकार्य गर्ने र श्रोत तय गर्नका लागि भूमिका निर्वाह गर्ने बताए ।

अस्पतालको अर्को साझेदार संस्था बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले अस्पताल स्तरोन्नति गर्न आवश्यक रहेको र संघले पर्याप्त भूमिका निर्वाह गर्ने बताए । उनले अस्पतालको स्तरोन्नति भएपछि बुटवल क्षेत्रमा एउटा विशिष्टीकृत सेवा भएको स्तरीय अस्पताल हुने बताए ।

यस्तै, आम्दा इन्टरनेशनलका अध्यक्ष सुगानामीलाई बुटवल उपमहानगरपालिकाले स्वागत तथा सम्मान गरेको छ ।

आम्दाका अध्यक्ष सुगानामी, आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दास, पूर्व अध्यक्षहरू डा. सरोज ओझा, डा. दिनेश पोखरेल तथा आम्दा इन्टरनेशनलका प्रतिनिधि अर्चना जोशी र आम्दा नेपालका प्रमुख प्रशासकीय अधिकृत सुदेश रेग्मीसहितको टोलीलाई उपमहानगरपालिकाले सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आम्दा इन्टरनेशनलसँगको सहकार्यमा बुटवलमा देशकै स्तरीय अस्पताल बनाउने गरी काम हुने बताए ।

आम्दा इन्टरनेशनलका अध्यक्ष डा. सिगेरू सुगानामीले बुटवलले अस्पताललाई स्तरोन्नति गर्ने राम्रो अवसर पाएको र त्यसको सदुपयोग गर्न लागेकोमा खुशी व्यक्त गरे ।

आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दासले आम्दा नेपालले बुटवललाई विशेष प्राथमिकतामा राखेको र बुटवलले अन्यत्रका अस्पताल भन्दा राम्रो अस्पताल स्थापना गर्न लागेकोमा सहकार्यका लागि तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?