+
+

नेपाल र स्विट्जरल्याण्ड सिधा हवाई सम्पर्कमा जोडिँदै

अच्युत पुरी अच्युत पुरी
२०७९ असोज १८ गते १४:५६

१८ असोज, काठमाडौं । नेपाल र यूरोपेली मुलुक स्वीट्जरल्याण्ड सिधा हवाई सम्पर्कमा जोडिने भएका छन् ।

नेपाल र स्वीट्जरल्याण्डका नागरिक उड्डयन प्राधिकरणबीच द्धिपक्षीय हवाई सम्झौताको प्रक्रिया अगाडि बढाउने र त्यस अगाडि नै वायुसेवा कम्पनीले चाहेमा उडान गर्न सक्ने गरी समझदारी भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार स्वीस इन्टरनेशनल एयरलाइन्सले सिंगापुर एयर र भारतको भिस्तारा एयरसँग ‘कोड शेयर’ सम्झौतामार्फत नेपाल उडान गर्न चाहेको छ ।

यस अवस्थामा स्विट्जरल्याण्ड र काठमाडौं सिधा हवाई सञ्जालमा जोडिने छन् । दुई मुलुकबीच हवाई सेवा सम्झौता भने आगामी डिसेम्बरमा गर्ने समझदारी समेत बनेको उनले जानकारी दिए ।

डिसेम्बरमा नाइजेरियामा हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको एक बैठकमा दौरान हवाई सेवा सम्झौतामा हस्ताक्षरको तयारी गरिएको छ ।

अधिकारीका अनुसार स्वीस इटरननेशनल एयरलाइन्सले गौतमबुद्ध र त्रिभुवन विमानस्थल दुबै विमानस्थलमा उडान गर्न सक्नेछन् ।

नेपालबाट पनि कुनै पनि एयरलाइन्सले सो मुलुक जान चाहेमा जान सक्ने गरी समझदारी बनेको उनले जानकारी दिए । दुई मुलुकबीच अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सम्मेलनका दौरान क्यानडामा यस्तो समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

अब कोड शेयरसँग सम्बिन्धत सम्झौता नेपालको मन्त्रालयमा बुझाएसँगै स्वीसले नेपाल उडानको अनुमति पाउने अधिकारीले जानकारी दिए ।

अमेरिकासँग समेत हवाई सम्झौताको तयारी

उता, नेपाल र अमेरिकासँग समेत हवाई सञ्जालमा जोडिने गरी तयारी अगाडी बढेको छ । ‘अमेरिकी नियामक निकायबाट हुने काम करिब पूरा भइसकेको छ, हाम्रो तयारी केही बाँकी रहेकाले मात्र अमेरिकासँग सम्झौता हुन बाँकी रहेको हो,’ महानिर्देशक अधिकारीले भने ।

यसले दुवै देशका वायुसेवालाई एक अर्का मुलुकमा जान सक्ने ढोका खुल्ने उनको भनाइ छ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?