+
+

नारायणगढ-मुग्लिन, सुनौली-पोखरा र बेंसीसहर-चामे सडक अवरुद्ध

बेनी–जोमसोम सडक पनि अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २० गते ९:२२

२० असोज, काठमाडौं । अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।

पानी परिरहँदा र बाटो बन्द हुँदा दशैंको टीका तथा आशीर्वाद थाप्नका लागि आफन्तकोमा आउने–जानेहरु समस्यामा परेका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ ।

यस्तै मकवानपुरको त्रिभुवन राजपथको बागझोर खोला बढेको छ, जसले गर्दा राजपथ (हेटौंडा–पालुङ–काठमाडौं) सडकखण्ड र भिमफेंदी–कुलेखानी सडकखण्ड अवरुद्ध भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

यस्तै ललितपुरको टाकर्चेमा पहिरो गएपछि कान्तिलोकपथ पनि अवरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ ।

सुनौली–पोखरा खण्ड पनि अवरुद्ध

यसैगरी सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ–गल्याङखण्ड पनि पहिरोले अवरुद्ध भएको छ । आज बिहान ४ बजेतिर गल्याङ–८ झोल्पेमा पहिरो खस्दा सडक अवरुद्ध भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।

त्यस्तै स्याङ्जा र कास्कीको सीमास्थित कुभिण्डेमा अवरुद्ध भएको सिद्धार्थ राजमार्ग भने एकतर्फी खुलाइएको छ ।

बेनी–जोमसोम सडक पनि अवरुद्ध

गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक खण्डलगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडकहरु अवरुद्ध भएका छन् ।

बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौरलगायत दर्जन बढी सडक बाढी पहिरोका कारण अवरुद्ध भएका सम्वन्धित स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । कतिपय स्थानमा सडक भासिएको छ ।

बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार म्याग्दीको घुमाउने ताल, बैसरी, बेग खोला, तातोपानी भिर, जलथले, गुइठे भिर, रुप्से झरना र काभ्रेभिरलगायतका स्थानमा सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएपछि बेनीबाट मुस्ताङ तथा उत्तरी म्याग्दीमा जानेहरु बेनीमा र मुस्ताङबाट बेनी फर्कनेहरु मुस्ताङमा नै रोकिन बाध्य भएका छन् । बेनी–मालढुङ्गा–पोखरा सडक पनि बिचबिचमा अवरुद्ध भएको छ ।

म्याग्दी र कालीगण्डकी नदीको सतह बढेपछि तटीय क्षेत्रमा सतर्कता अपनाइएको छ ।

बेंसीसहर–चामे सडक अवरुद्ध

निरन्तरको वर्षाका कारण लम्जुङको बेंसीसहर र मनाङको चामे जोड्ने सडक अवरुद्ध भएको छ ।

मनाङको नासों गाउँपालिका–३ खोत्रोमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

खोत्रोमा सडकको बीच भागमा नै भल बगेकाले यात्रा जोखिमपूर्ण बनेको उनले बताए ।

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको असर उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा नेपालमा पनि निरन्तर वर्षा भइरहेको मौसमविदले बताएका छन् । यस्तो अवस्था अझै केही दिन जारी रहने भएकाले सतर्कता अपनाउनुपर्ने मौसमविदको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?