+
+

मकवानपुर–१ : चुनाव नफापेका तीन नेताको कडा प्रतिस्पर्धा

विनोद चौलागाईं विनोद चौलागाईं
२०७९ असोज २३ गते २०:२८
बाँयाबाट क्रमश: कमल थापा, महालक्ष्मी उपाध्याय र दीपक सिंह

२३ असोज, हेटौंडा । पञ्चायतकालदेखि नै कमल थापाका सारथि थिए दीपक सिंह । तीन दशक कमल थापासँगै रहेका हाल एमालेमा रहेका खिलप्रसाद चौलागाईं भन्छन्, ‘कमल दाइले दीपकलाई गणेश थापा जत्तिकै भाइ मान्नुभयो, दीपक सिंहले पनि प्रकाश सिंहलाई जस्तै दाइ मान्नुभयो ।’

चार दशकसम्म कमल थापाको हरेक राजनीतिक निर्णयमा साथ दिएका सिंह २०७८ फागुनबाट भने अलग भए । राप्रपाको अध्यक्षमा चुनाव हारेका थापाले राप्रपा नेपाल ब्युँताउनेतिर लागेपछि सिंहले साथ दिएनन् । त्यसको ७ महिनामै थापा र सिंह एकाअर्कासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि कमल थापा, दीपक सिंह र महालक्ष्मी उपाध्याय डिनाले उम्मेदवारी दर्ता गरेका छन् । राप्रपा नेपालका अध्यक्ष थापा एमालेकै चुनाव चिह्न लिएका छन् भने कांग्रेस सहमहामन्त्री डिनालाई सत्ता गठबन्धनको साथ छ । सिंह भने राप्रपाका उम्मेदवार हुन् ।

सांसद बन्न त्रिपक्षीय प्रतिस्पर्धामा रहेका तीन नेतालाई संसदीय चुनाव भने फापेको रेकर्ड छैन ।

चतुर, तर चुनावी राजनीतिमा असफल

एमालेले रामेश्वर रानालाई दिइसकेको टिकट फिर्ता गराएर उनले मकवानपुर क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएका छन् । त्यसका लागि उनले आफैं अध्यक्ष रहेको राप्रपा नेपालको तीर चिह्न छाडेर एमालेकै सूर्य चुनाव चिह्न लिन समेत राजी भए ।

२०७४ को चुनावमा पनि इन्द्रबहादुर बानियाँलाई प्रदेशसभामा झारेर नेपाली कांग्रेसको समर्थनमा चुनाव लडेका थिए । यसर्थमा उनी सत्ता राजनीतिका चतुर खेलाडी हुन् ।

तर संसदीय चुनाव नफाप्ने थोरै नेतामा पर्छन् थापा । २०४८ देखि २०७० बाहेक सबै चुनाव लडेका उनले एक पटक मात्र जितेका छन् । २०४८ मा मकवानपुर १ मा प्रतिनिधिसभा सदस्य चुनाव लडेका उनी एमालेका कृष्णप्रसाद दाहालसँग पराजित भए ।

२०५२ मा मकवानपुर १ र ३ दुवै क्षेत्रमा उम्मेदवार बने । १ मा जितेका उनी ३ मा पराजित भए । २०५६ मा १ र ३ मा उठेका उनी दुवै क्षेत्रमा पराजित भए । २०६४ मा काठमाडौं–५ र मकवानपुर ३ मा चुनाव लडे, तर दुवैमा हारे ।

२०७० मा समानुपातिक पद्धतिमा बसेर संविधानसभा सदस्य भएका थापा २०७४ मा कांग्रेसको समर्थनमा मकवानपुर १ मा उम्मेदवार बनेका थिए, तर फेरि पराजित भए । एमालेका कृष्णप्रसाद दाहाल ४० हजार ६३१ मतका साथ विजयी हुँदा थापाले ३४ हजार ६५८ मत पाएका थिए ।

थापा मात्र होइन, मकवानपुर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना र राप्रपाका दीपक सिंहको पनि चुनावी रेकर्ड राम्रो छैन ।

डिना र दीपकको पनि उस्तै रेकर्ड

कांग्रेस सहमहामन्त्री समेत रहेकी डिना यसपटक सत्ता गठबन्धनकी साझा उम्मेदवार हुन् ।

उनले २०४८ सालमै प्रतिनिधिसभाको चुनाव लडेकी थिइन् । त्यतिबेला मकवानपुरका ३ क्षेत्र थियो, जसमध्ये क्षेत्र नम्बर २ मा तत्कालीन हेटौंडा नगरपालिका तथा गाविसहरु बसामाडी, पदमपोखरी, मनहरी, राक्सिराङ, काँकडा र सरिखेत क्षेत्रमा पर्थे ।

डिनासँगै रुपचन्द्र विष्ट, विरोध खतिवडासहितका ८ जना उनका प्रतिस्पर्धी थिए । एमालेका विरोध खतिवडाले चुनाव जिते ।

२०५१ मा पनि डिना कांग्रेसबाट चुनाव लडिन् । त्यो बेलामा नेपाली कांग्रेसकै नेता विश्वराज उप्रेती विद्रोही उम्मेदवार उठेका थिए । तर यो पटक पनि एमालेका विरोधसँग पराजित भइन् । २०५६ मा चुनाव नलडेकी उनी २०६४ र २०७० मा समानुपतिकमा बसिन् । २०७४ को चुनावमा फेरि उनी प्रत्यक्ष चुनाव लडिन्, तर वाम गठबन्धनको साझा उम्मेदवार बनेका एमालेका विरोधसँगै पराजित भइन् ।

डिनासँगै अर्का उम्मेदवार दीपक सिंहले पनि प्रतयक्ष चुनाव जित्न सकेको छैनन् । २०५४ सालमा पहिलोपटक मेयरमा चुनाव उठेका सिंह एमालेका डोरमणि पौडेलसँग करिब १२०० मतान्तरमा पराजित भए । २०५६ सालको प्रतिनिधिसभामा मकवानपुर–२ मा चुनाव लडेका उनी विरोध खतिवडासँग पराजित भएका थिए ।

२०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर–३ मा राप्रपा नेपालबाट उम्मेदवार बनेका सिंह एमालेका अनन्तप्रसाद पौडेलसँग पराजित भए । ३० वैशाख २०७९ को स्थानीय चुनावमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा पनि उनी पराजित भए ।

४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चुनाव नफापेका तीन नेताको कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतका आधारमा हेर्ने हो भने सत्ता गठबन्धन अगाडि देखिन्छ । किनकि कांग्रेस एक्लैको ३४ हजार ७२ मत छ भने माओवादी केन्द्रको १६ हजार ५६२ र एकीकृत समाजवादीको ३ हजार २८३ मत छ ।

एमाले एक्लैको ३८ हजार ५६ मत छ भने राप्रपाको ४ हजार ७० । तर दलहरुको यो मत कायम रहँदैन भन्ने स्थानीय निर्वाचनमा मेयरले पाएको मतले देखाउँछ । एकीकृत समाजवादीकी मीनाकुमारी लामाले गठबन्धनको सबै मत पाउन सकिनन् भने एमालेका अनन्तप्रसाद पौडेलले आफ्नो दलको मत जोगाउन सकेनन् ।

राप्रपाका दीपक सिंहले भने दलको भन्दा झण्डै चार गुणा बढी मत पाएका थिए । २३ हजार ७५ मत पाएर मिना मेयरमा चुनिँदा एमालेका पौडेलले २० हजार ९०८ र दीपकले २० हजार ५३१ मत पाएका थिए ।

प्रतिनिधिसभा सदस्य बन्न चौथो पटक चुनावी मैदानमा होमिएकी डिनालाई सत्ता गठबन्धनको साथ छ । टिकट वितरणलाई लिएर सत्ता गठबन्धनमा असन्तुष्टि त देखिएको छैन, तर गठबन्धनको भोट सबै आफूतिर तान्न सहज मानिएको छैन ।

कमल थापाले आफ्नै नेतृत्वको दलको तीरलाई छाडेर सूर्य चुनाव चिह्न नै लिएका छन् । तर थापालाई समर्थन गरेको विरोधमा एमाले नेता कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । यसले एमालेको सबै मत पाउन सहज नभएको देखिन्छ । तर लामो समयदेखि मकवानपुरको राजनीतिमा रहेका उनको व्यक्तिगत भोट पनि छ ।

राप्रपाका दीपक सिंहलाई पनि दलको मतको भरले पुग्दैन, व्यक्तिगत भोटमा भर पर्नुपर्छ । त्यसैले यो पटक मकवानुपर १ मा त्रिपक्षीय प्रतिस्पर्धा रोचक मानिएको छ ।

मकवानपुरको क्षेत्र नम्बर १ मा हेटौंडा उपमहानगरपालिकाको १९ वडामध्ये १५ वटा वडा पर्छन् भने बकैया गाउँपालिका, बागमती गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको ४ वटा वडा पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?