+
+

गोरखामा नारायणकाजीको जय नेपाल, सुरेन्द्र पाण्डेको लाल सलाम

विकास मरहट्टा विकास मरहट्टा
२०७९ असोज ३० गते १५:३५

३० असोज, गोरखा । गोरखाबाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दिएका पुष्पकमल दाहाल प्रचण्डले बिहीबार सिरानचोकलाई चीनको चिनकाङसाङसँग तुलना गरे ।

चिनकाङसाङ जहाँबाट चीनमा छापामार युद्ध सुरु भएको थियो, चिनियाँ क्रान्तिका नेतृत्वकर्ता माओत्सेतुङ ४० वर्षपछि त्यहाँ पुगेको स्मरण गर्दै प्रचण्डले पनि आफू सशस्त्र युद्धको सुरुवाती थलोमा आएको टिप्पणी गरेका थिए ।

प्रचण्डले गर्वका साथ सुनाएको सो कुरा र युद्धको आधार क्षेत्रमा बस्नेको पीडा भने फरक हुन्छ । द्वन्द्वको क्रममा राज्य र विद्रोही पक्षको दोहोरो चेपुवामा परेका कतिपयले त ज्यानै गुमाउनुपर्छ ।

त्यसको परिणाम फरक विचार राख्ने शक्तिबीच दूरी बढ्छ । गोरखामा पनि नेपाली कांग्रेस र माओवादीबीच यस्तै दूरी रहँदै आयो । तर चुनावी तालमेल र गठबन्धनले दुई दलबीचको दूरी घटाएको छ ।

हुँदाहुँदा माओवादीका नेताहरू चुनावी सभा र प्रशिक्षणहरुमा जय नेपालको अभिवादन गर्न थालेका छन् भने कांग्रेसका नेताहरु लाल सलामको अभिवादन ।

शनिबार गोरखा सदरमुकाममा आयोजित सत्तारूढ गठबन्धनको संयुक्त चुनावी अभिमुखीकरणमा यस्तै दृश्य देखियो । कार्यक्रममा सम्बोधनको क्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूले जय नेपाल र लाल सलामको मिश्रित अभिवादन गरे ।

‘जय नेपाल’ भन्दै आफ्ना भनाइ राख्न सुरु गरेका नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानले अन्तिममा ‘लाल सलाम’ समेत भनेर बिदा भए ।

सम्बोधनकै क्रममा कांग्रेसका सुरेन्द्रराज पाण्डेले पहिले ‘जय नेपाल’ भने र लगत्तै थपिहाले, ‘लाल सलाम अन्तिममा भन्छु ।’ हलका मानिसको हाँसो रोकिएन । उनले थपे, ‘यहाँ लालसलाम नभन्ने हो भने यो फरक विचारधाराको रहेछ भन्ने परिसक्यो, त्यसैले लाल सलाम पछि भन्छु ।’ आफ्नो भनाइ सक्नुअघि ‘जय नेपाल, लाल सलाम’ भनेर उनी बिदा भए ।

पाण्डेपछि नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बोले । उनले पनि अन्तमा ‘मैले पनि भन्नुपर्‍यो होइन !’ भन्दै ठट्यौली गर्दै ‘लाल सलाम, जय नेपाल’ भने ।

मञ्चमा रहेका भट्टराईले उम्मेदवारहरूले मात्र भन्ने हो भन्दै श्रेष्ठसँग ठट्टा गरे । सम्बोधनको क्रममा नेता बाबुराम भट्टराई र पुष्पकमल दाहाल प्रचण्डले भने लाल सलाम र जय नेपाल केही भनेनन् ।

यसअघिका अधिकांश भाषणमा प्रचण्डको आलेचना गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले शनिबार प्रचण्डको प्रशंसा गरे । तत्कालीन सशस्त्र द्वन्द्वको घाउलाई अब नकोट्याउन आग्रह गर्दै उनले कांग्रेस र माओवादी एकअर्काका सच्चा मित्र भएको बताए ।

‘द्वन्द्वको घाउलाई कोट्याएमा अब गिरिजाप्रसाद कोइरालाको सपना विरुद्ध हुन्छ, देशको परिवेश र परिस्थिति अनुसार हामीले हाम्रो धारणा परिवर्तन गर्दै लानुपर्छ, विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्ने प्रचण्ड शान्तिको खलनायक हुन सक्दैनन्’, उनले भने ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?