+
+

ओलम्पियनलाई हराएर २ स्वर्ण जितेकी फुलमती भन्छिन् : अर्को पटक कीर्तिमान बनाउँछु

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ कात्तिक २ गते ११:३४

२ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरामा रंगशालामा ८०० मिटर दौडमा एपीएफकी फुलमती रानाले स्वर्ण जितिन् ।

यसअघि १५०० मिटरमा पनि स्वर्ण जितेकी उनले ८०० मिटर दौडमा ओलम्पियन सरस्वती भट्टराईलाई पछि पारिन् ।

फुलमतीले निर्धारित दुरी २ मिनेट २७.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्दा रजत जितेकी त्रिभुवन आर्मीकी सरस्वती भट्टराईले २ मिनेट २७.५० सेकेन्डको समय निकालिन् ।

यसअघि दाङमा भएको आठौं राष्ट्रिय खेलकुदमा फुलमतीले ८०० र १५०० दुवैमा तेस्रो हुँदै कांस्य जितेकी थिइन् भने दुवैमा सरस्वतीले स्वर्ण ।

२०७० सालमा जागिरका क्रममा विभागीय टोली एपीएफमा आबद्ध भएकी ३१ वर्षीया फुलमतीले यसपाली दुवैमा सरस्वतीलाई नै पछि पारेर स्वर्ण जितिन् ।

‘दुई वटामै सरस्वतीलाई हराएर स्वर्ण जिते । जित्छु भनेर नै आएको थिएँ । त्यही अनुसार तयारी गरेको थिएँ र सफल भएँ,’ उनले भनिन् ।

कैलालीकी ३१ वर्षीय फुलमतीले प्रतिस्पर्धात्मक दौडमा स्वर्ण जितेपछि जित्छु भन्ने आत्विश्वास साथ दौडिएकाले तै सफल भएको बताइन् । ‘खेल हो, हार जित हुन्छ, जसले अन्तिममा पावर लगाएर दौडन्छ उसैले जित्छ,’ फुलमतीले भनिन्, ‘ओलम्पियनलाई हराउन पाउँदा खुशी छु । मलाई जित्छु भन्ने थाहा थियो । जित्नका लागि टेक्निकल्ली राम्रो हुनुपर्छ र पावर हुनुपर्छ ।’

कीर्तिमानसहित स्वर्ण जित्ने लक्ष्यका साथ पोखरा आएकी उनको अर्को कीर्तिमानको लक्ष्य भने पूरा भएन । ‘यसपटक नै कीर्तिमान तोड्ने लक्ष्य राखे पनि पूरा हुन सकेन । अर्को पटक कीर्तिमान बनाउनेछु’, उनले लक्ष्य सुनाइन् ।

८०० मिटर महिलाको कीर्तिमान राजकुमारी पाण्डेको नाममा छ । उनले सन् १९८९ मा पाकिस्तानको इस्लामावादमा २ मिनेट ११.०५  सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाएकी थिइन् ।

फुलमतीले १५०० मिटरमा भने ४ मिनेट ३८.१९ सेकेण्डको समय निकाल्दै स्वर्ण जितेकी थिइन् । १५०० मिटर  महिलातर्फ कीर्तिमान भने सरस्वती भट्टराईकै नाममा छ । सरस्वतीले २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा ४ मिनेट ३३.९४  सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?