+
+

गण्डकीको मुख्यमन्त्री दौडमा सुरेन्द्र र खगराज

अमृत सुवेदी अमृत सुवेदी
२०७९ कात्तिक ३ गते १८:००
नेपाली कांग्रेसका सुरेन्द्र पाण्डे (वायाँ) र एमालेका खगराज अधिकारी

३ कात्तिक, पोखरा । वाम गठबन्धन गरेर अघिल्लो निर्वाचनमा झण्डै दुई तिहाइ बहुमतसहित मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले सोचेकै थिएनन्, कार्यकाल पूरा नगरी सरकारै ढल्छ । न त कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले नै सोचेका थिए, नेकपा विवादले गठबन्धनको सरकार ढल्छ र मुख्यमन्त्रीको ढोका खुल्छ भन्ने ।

अघिल्लो निर्वाचनमा एमाले–माओवादी गठबन्धनको सरकार बन्ने चुनावअघि नै निश्चितजस्तै भएकाले पृथ्वीसुब्बा र किरण गुरुङ एमालेबाट मुख्यमन्त्री बन्ने योजनासहित उम्मेदवार बनेका थिए तर कांग्रेसले मुख्यमन्त्रीको विषय नै उठाएको थिएन ।

यसपालिको निर्वाचनको दृश्य भने फरक छ । अहिले एमाले–जसपा तालमेल एकातिर र कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन अर्कोतिर छ । तर, तिनै गठबन्धनका घटक कांग्रेस, माओवादी र एमालेका नेताहरुले आफू मुख्यमन्त्रीको दाबेदार रहेको भन्दै चुनावी अभियान चलाइरहेका छन् ।

फेरि गण्डकीको मुख्यमन्त्री बन्ने योजनासहित प्रदेशसभामा उठ्न चाहेका पृथ्वीसुब्बालाई उछिन्दै प्रदेशको टिकट हात पारेका खगराज अधिकारीले गठबन्धन नटिक्ने र ढिलो/चाँडो एमाले नेतृत्वमा सरकार बन्ने एजेण्डा जनताबीच राख्दै प्रतिस्पर्धामा उत्रिएका छन् ।

खगराजले मुख्यमन्त्रीको दाबी गरिरहँदा प्रदेशमा टिकट पाएर चुनाव लडिरहेका संविधान सभा सदस्य जमिन्द्रमान घलेलाई संकेत गर्दै पृथ्वीसुब्बाले लमजुङले नै मुख्यमन्त्री पाउने उद्घोष गरे ।

नेपाली कांग्रेसले भने गण्डकीमा सरकार गठन गर्ने अवस्थामा मुख्यमन्त्री बन्ने उद्देश्यसहित केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेलाई प्रदेशसभामा उम्मेदवार बनाएको छ । गण्डकी प्रदेश सभातर्फ उम्मेदवार बनेका कांग्रेसका नेतामध्ये वरिष्ठमा उनै पाण्डे छन् ।

यसपालिको निर्वाचनमा गोरखा–२ बाट कांग्रेसले पाण्डेको नाम सर्वसम्मत सिफारिस गरेको थियो । तर, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै गोरखा–२ मा चुनाव लड्न आइपुगेपछि पाण्डेलाई कांग्रेसले गोरखा २ (ख) को उम्मेदवार बनाएको छ ।

‘२०७० सालदेखि निरन्तर नाम सिफारिस भइरहेको छ । २०७४ मा बाबुरामजीलाई छोड्नुपर्ने भएपछि राष्ट्रिय सभामा पुग्ने र संसदीय दलको नेता बन्ने अवसर मिल्यो,’ पाण्डेले अनलाइनखबरसँग भने, ‘नेताहरुले भनेरै प्रदेशमा झरेको हुँ ।’

५ दलीय गठबन्धनमा नेपाली कांग्रेसले प्रदेश सभाका २१ सिट पाएको छ । अघिल्लो निर्वाचनमा गण्डकी प्रदेश सभाका १२ सिट जितेको नेकपा माओवादी केन्द्रले यसपटक पनि गठबन्धनमा त्यति नै सिट पाएको छ ।

एकीकृत समाजवादी र नेपाल समाजवादीका एक÷एक सिट छ भने सत्ता गठबन्धन र एमाले दुबैको समर्थनमा मनाङ प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र उम्मेदवार राजीव गुरुङ दीपक मनाङे सर्वसम्मत निर्वाचित भइसकेका छन् ।

गठबन्धनमा कांग्रेसले पाएका २१ मध्ये ११ जनामा देउवा पक्षका र १० जना शेखर कोइराला पक्षका उम्मेदवार छन् । नेपाली कांग्रेसले प्रदेश सभामा प्रत्यक्षतर्फ एक जना पनि महिला उम्मेदवार उठाएको छैन ।

समानुपातिक पद्धतिको माथिल्लो लहरमा देउवा समूहका नेताहरु छन् । खसआर्यबाट कांग्रेस प्रदेश सभापति शुक्रराज शर्माको नाम पहिलो नम्बरमा छ भने दोस्रो नम्बरमा केन्द्रीय सदस्य ध्रुव वाग्लेको नाम छ ।

सांसद चयन भएमा उनले पनि मुख्यमन्त्रीको दावी गर्ने कांग्रेसका नेताहरु बताउँछन् । तर, आफूले मुख्यमन्त्री हुन्छु भनेर नसोचेको शर्मा बताउँछन् । ‘मैले मुख्यमन्त्री हुन्छु भनेर राजनीति गरेको होइन । पहिले गठबन्धनलाई धेरैभन्दा धेरै जिताऔं, अनि कांग्रेस नेतृत्वमा सरकार बन्ने निश्चितै हुन्छ,’ शर्माले भने । तर, टिकट वितरणमा भूगोल र धरातल नबुझ्दा धेरै ठाउँमा बिग्रिएको भन्दै उनले सबै उम्मेदवारले जित्न नसक्ने निश्चितजस्तै रहेको पनि बताए ।

गण्डकी प्रदेश संसदमा यसअघि कांग्रेसका ६ जना प्रत्यक्ष र ९ जना समानुपातिक पद्धतिबाट सांसद बनेका थिए । तर, यसपटक प्रत्यक्ष र समानुपातिक दुबै सांसद बढ्ने प्रदेश सभापति शर्माले दावी गरेका छन् । आदिवासी जनजाति महिलातर्फ समानुपातिक सूचीको माथिल्लो लहरमा विमला गौचन, पर्वतकी रेखा गुरुङ र कास्कीकी सरस्वती गुरुङको नाम छ ।

आदिवासी जनजाति पुरुषको पहिलो स्थानमा कर्म गुरुङ छन् । दलित पुरुषमा तनहुँका श्यामकुमार मौरती र दलित महिलामा दिलमाया पौवी छन् ।

कांग्रेसले चाहे अनुसार चुनावी नतिजा आएमा सुरेन्द्र पाण्डे नै मुख्यमन्त्रीको दाबेदार भएको नेपाली कांग्रेस गण्डकीका उपसभापति मेखलाल श्रेष्ठ बताउँछन् ।

मुख्यमन्त्री बन्ने उद्देश्यसहित उम्मेदवार बन्नेमा अरु पनि छन् । कास्कीबाट उम्मेदवारी दिएका कांग्रेसका विन्दुकुमार थापा र माओवादी केन्द्रका हरिबहादुर चुमानले पनि मुख्यमन्त्री बन्ने आकांक्षा राखेका छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?