+
+

कर्णालीमा यातायात तथा हवाई सेवा सहज बनाउन माग

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १८:१८

३ कात्तिक, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाढी पहिरोका कारण प्रभावित बनेको कर्णाली प्रदेशको यातायात तथा हवाई सेवालाई सहज बनाउन सरकारसँग आग्रह गरेको छ ।

आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै बाढी पहिरोका कारण कर्णाली राजमार्ग २१ असोजदेखि अवरुद्ध रहनुका साथै जुम्ला, मुगु, हुम्ला र डोल्पामा केही दिनदेखि हवाई सेवा प्रभावित भई नागरिकहरुको आवतजावतमा कठिनाइ उत्पन्न भएको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आवतजावतमा देखिएको समस्याका कारण दशैं मनाउन घर गएका नागरिक गन्तव्यस्थलमा फर्किन नपाएको, परीक्षार्थीहरु परीक्षास्थलमा पुग्न नपाइरहेको, आकस्मिक उपचारको आवश्यक परेका बिरामीहरु तथा राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीहरु समस्यामा परेको भन्दै आयोगले यस्तो आग्रह गरेको छ ।

बाढी पहिराका कारण यातायात तथा हवाईसेवा प्रभावित हुँदा हुम्लामा चामलको भण्डारण सकिएको एवम् जुम्लामा करिब ७०० र मुगुमा करिब १५० जना नागरिक अलपत्र अवस्थामा रहेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस सम्बन्धमा नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग आयोगले छलफल गर्नुका साथै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सँग आवश्यक जानकारी लिएको आयोगका प्रवक्ता डा‍. टीकाराम पोखरेलले बताए ।

कर्णालीमा अलपत्र परेका नागरिकहरु विशेषतः सुत्केरी, गर्भवती, बिरामी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, परीक्षार्थीलाई तत्काल विशेष व्यवस्था गर्ने, वायु सेवा कम्पनीहरुलाई जिम्मेवार बनाउने, उडान सङ्ख्या थप गर्ने, उडान निमित गर्ने, हवाई टिकट पारदर्शी बनाउने, टिकट वितरण प्रणाली पहुँचयुक्त बनाउने, दुर्गम पहाडी तथा हिमाली जिल्ला हवाई सेवा समस्या समाधानका लागि तत्काल र दीर्घकालीन रुपमा गर्नुपर्ने नीतिगत तथा कार्यगतलगायतका विषयमा आयोगले प्राधिकरणलाई आग्रह गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?