+
+

टिम च्याम्पियन बन्दै आर्मीले उचाल्यो राष्ट्रिय खेलकुदको ट्रफी

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ कात्तिक ३ गते २०:३०
तस्वीर : सुदर्शन रञ्जित ।

३ कात्तिक, पोखरा । विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा भएको नवौं बृहत खेलकुदको च्याम्पियन बनेको छ ।

२८ असोजमा औपचारिक उद्घाटन भएर एक सातासम्म गण्डकीको विभिन्न जिलल्मा सञ्चालन भएको राष्ट्रिय खेलकुदमा आर्मीले सर्वाधिक १७२ स्वर्ण सहित कूल ३७१ पदक जित्यो ।  आर्मीले ११० रजत र ८९ कांस्य जित्यो ।

पहिलो पटक राष्ट्रिय खेलकुदको विजेताले पाउने ट्रफी सुन र चाँदी समावेश गरेर बनाइएको थियो । १० लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त ट्रफी उचाल्ने आर्मी पहिलो भाग्यमानी टिम बन्यो ।

यो ट्रफीलाई सात प्रदेश, तीन वटै विभागीय टिमको मुख्यालयसहित विश्व सम्पदामा सूचीकृत भएका स्वयम्भू, बसन्तपुर दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र पाटन दरबार स्क्वायर, लुम्बिनी सँगै जनकपुरधाम र चन्द्रागिरिमामा पुर्‍याइएको थियो ।

यस्तै दोस्रो भएको अर्को विभागीय टोली एपीएफले ६५ स्वर्ण ७३ रजत र ८१ कास्यसहित १९५ पदक जित्यो । प्रतियोगिताको अन्तिम स्पर्धाको रुपमा रहेको पुरुष फुटबलको स्वर्ण पदक समेत एपीएफले जित्यो ।

नेपाल पुलिस क्लबले ६१ स्वर्ण ६१ रजत र ७३ कांस्यसहित कूल १९५ पदक जितेर तेस्रो भयो ।

प्रदेशतर्फ आयोजक गण्डकी अगाडि रह्यो । ३२ स्वर्ण ३१ रजत र ५७ कांस्यसहित १२० पदक जितेर गण्डकी चौथो भयो ।

बागमती २४ स्वर्ण ४७ रजत र ७४ कांस्यसहित १४५ पदक जितेर बागमती प्रदेश पाँचौ भयो ।

प्रदेश १ ले १० स्वर्ण २३ रजत र ५० कांस्यसहित ८३ पदक जितेर छैटौं भयो । सुदूरपश्चिम प्रदेश १० स्वर्ण १० रजत र ४३ कांस्यसहित ६३ पदक जितेर सातौं भयो ।

एनआरएनएले १० स्वर्ण ९ रजत र ७ कांस्यसहित २६ स्वर्ण जितेर आठौं भयो ।

लुम्बिनी प्रदेशले ६ स्वर्ण २२ रजत र ४० कास्यसहित ६८ पदक जितेर नवौं भयो भने मधेश प्रदेश ५ स्वर्ण ८ रजत र २६ कांस्यसहित ३९ पदक जितेर दशौं भयो । अन्तिम स्थानमा रहेको र दशौं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी पाएको कर्णाली प्रदेशले २ स्वर्ण ४ रजत र १२ कांस्यसहित १८ पदक  मात्र जित्यो ।

शुरुमा ४ सय ४ स्वर्ण पदकमा प्रतिस्पर्धा हुने घोषणा गरिए पनि प्याराग्लाइडिङ, पौडी र आर्चरीमा २/२ स्वर्ण पदक र स्क्वास र सफ्ट टेनिसमा एक-एक स्वर्ण पदकको खेल स्थगित भएको प्रविधिक संयोजक हिमाल दाहालले बताए ।

गण्डकी प्रदेशका ८ जिल्लामा यो प्रतियोगिता भएको हो भने सुटिङ र पुरुष क्रिकेट काठमाडौंमा भएको थियो ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?