+
+

उसुमा आर्मीलाई सर्वाधिक १२ स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १८:२६

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत उसु खेलमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लव र सशस्त्र प्रहरी बलको एपीएफ क्लवका खेलाडी हाबी भएका छन् । आर्मीले १२ स्वर्ण, ५ रजत र ५ कांस्यसहित २२ पदक जित्दा, एपीएफले ९ स्वर्ण र ६ रजतसहित १५ पदक हात पारेको छ ।

विभागीय पुलिसले १ स्वर्ण, ३ रजत र ९ कांस्य पदक जितेको छ । प्रतियोगितामा सहभागी ७ प्रदेशका ७ टिममध्ये कर्णालीले एक-एक स्वर्ण, रजत र कांस्य जित्न सक्यो ।

प्रदेश १ ले एक रजत र ४ कांस्य जित्यो भने मधेश प्रदेशले केबल १ कांस्यमा चित्त बुझायो । बागमती प्रदेशले २ रजत र ५ कांस्य जितेको छ भने घरेलु टोली गण्डकीले १ रजत र ४ कांस्य पदकमात्र जित्यो भने लुम्बिनी प्रदेशले एक कांस्यमा चित्त बुझायो । सुदूर पश्चिमले ४ रजत र ८ कांस्य पाएको छ ।

थाउलोतर्फ विभागीय टिम नेपाली सेनाले ६ स्वर्ण जितेको छ ।

पुरुष छाङ छ्वानमा आर्मीका विजयी सिंजालीले स्वर्ण पदक जितेका हुन् । यस्तै, बागमती प्रदेशका विपन थापाले रजत र सुदूर पश्चिमका आयुष चौधरीले कांस्य पदक जिते ।

पुरुष ताईची छ्वान अलराउन्डमा सेनाका हरिप्रसाद गोलेले स्वर्ण जिते । उनको स्कोर १८.२५ छ । यस्तै सेनाकै पासाङ शेर्पा १८.१७ स्कोरका साथ रजत पदक जित्दा नेपाल प्रहरीका मनिष बुढाथोकीले कांस्य पदक हात पारे ।

महिला थाईची छ्वान अलराउन्डमा पनि स्वर्ण पदक सेनाकै खेलाडीले कब्जा गरे । सबिता राईले १८.५२ स्कोरका साथ स्वर्ण हात पारिन् । सेनाकै मिना ग्लान १८.४४ अंकका साथ रजत पदक जित्दा सुदूरपश्चिमकी पुष्पा कुँवरले कांस्य हात पारिन् । मिनाको स्कोर १४.३१ छ ।

महिला छाङ छ्वानमा सेनाकी सुस्मिता तामाङ ९.२ स्कोरका साथ प्रथम भएकी छन् । कर्णालीकी आशा शाही र सुदूर पश्चिमका दीपिका चौधरी क्रमशः दोस्रो र तेस्रो बने ।

यस्तै, पुरुष नान छ्वान अलराउन्डमा कर्णाली प्रदेशले स्वर्ण जितेको छ । कर्णालीका दीपक हमाल १८.५४ स्कोरका साथ च्याम्पियन बनेका हुन् । प्रहरीका शनि श्रेष्ठ र बागमतीका सागर श्रेष्ठ क्रमशः दोस्रो र तेस्रो बने ।

महिलाको नान् छ्वान अलराउन्डमा सेनाकी निमा घर्तीमगरले स्वर्ण, प्रहरीकी अञ्जिता स्याङ्तानले रजत र प्रहरीकी ममता सुनुवारले कांस्य पदक जिते ।

थाउलोको पुरुष ताब सु कुन्सुमा स्वर्ण र रजत दुवै सेनाले जितेको छ । सेनाका विश्व बुढामगर १७.६९ अंकका साथ प्रथम हुँदा सेनाकै राजीव तामाङ १७.६७ अंकका साथ दोस्रो बने । प्रहरीका रवीन्द्र आलेले कांस्य जिते ।

महिला चियन सु छियाङमा सशस्त्र प्रहरीकी कविता थापाले १८.१० स्कोरका साथ स्वर्ण जितिन् । सुदूर पश्चिमकी अलिसा खाती र सेनाकी मोनिका थापाले क्रमशः रजत र कांस्य पाए । सान्सौतर्फ सेनाले ६ स्वर्ण जितेको छ ।

पुरुष ४८ केजीमा सेनाका यामराज थापामगरले स्वर्ण जिते । सशस्त्रका गौतम श्रेष्ठले रजत र प्रदेश १ का गणेश लिम्बु र गण्डकीका स्माइल भण्डारीले कांस्य जिते ।

पुरुष ५२ केजीमा शसस्त्र प्रहरीका अशोक खालिङले स्वर्ण, सुदूर पश्चिमका शिवराज सुनारी मगरले रजत र बागमतीका अनिष परियार र सेनाका मदनकुमार श्रेष्ठले कांस्य जिते ।

पुरुष ५६ केजीमा सशस्त्रका रोहित चुनारोले स्वर्ण र बागमतीकी कान्ति लामाले रजत, प्रहरीका रोशन अछामी र गण्डकीका ज्ञानेन्द्र सिंहले कांस्य जिते ।

६० केजीमा सशस्त्रका मंगलप्रसाद थारुले स्वर्ण, प्रहरीकी मुकेश पण्डितले रजत, सेनाका कमल आचार्य र प्रदेश १ का रोहित लिम्बुले कांस्य जिते ।

६५ केजी तौल समूहमा प्रहरीका सम्मन घुस्रीले स्वर्ण, सुदूर पश्चिमका पदम ठकुल्लाले रजत, लुम्बिनीका अभिषेक ताङनामी र सेनाका राजेश चौधरीले कांस्य जिते ।

७० केजीबाट सेनाका पदम राईले स्वर्ण, सशस्त्रका सुवास भुल सेठीले रजत र मधेसका मो वसिम खान र गण्डकीका अनुप खड्काले कांस्य जिते ।

पुरुष ७५ केजीमा सेनाका चित्रसिंह ठकुरीले स्वर्ण, सशस्त्रका अनिश शाहीले रजत, प्रदेश १ का अमित लोकान्द्री र सुदूर पश्चिमका हरिचन्द्र कार्कीले कांस्य जिते ।

८० केजी समूहमा सशस्त्रका सञ्जीव महर्जनले स्वर्ण, प्रदेश १ का उपेन्द्र मारिकले रजत, सुदूर पश्चिमका आलोक बुढामगर र बागमतीका राजकुमार श्रेष्ठले काश्य जिते ।

पुरुष ८५ केजीमा सेनाका किरणसिंह साउदले स्वर्ण, सशस्त्रका निकेश श्रेष्ठले रजत तथा प्रहरीका रामेकुमार राजवंशी र प्रदेश १ का रोमन श्रेष्ठले काश्य जिते ।

सान्सौंमा महिलातर्फका ६ इभेन्टमध्ये २ मा सेना, ४ सशस्त्र र १ इभेन्टमा प्रहरीले स्वर्ण जितेका छन् ।

महिला ४८ केजीमा सशस्त्रकी गौरी घर्तीमगरले स्वर्ण, सेनाकी मनिषा प्रधानले रजत, प्रहरीकी नवीना विक र सुदूर पश्चिमकी अस्मिताकुमारी गाहामगरले कांस्य पदक जिते ।

महिला ५२ केजीमा सेनाकी एलिना चौधरीले स्वर्ण, प्रहरीकी आसु हल्वाइ साहले रजत, बागमतीकी शासन थिङ र गण्डकीकी सीमा गुरुङले कांस्य पदक जिते ।

५६ केजी समूहमा सशस्त्रका विद्या गुरुङले स्वर्ण, प्रहरीकी रीता ठकुल्लाले रजत तथा सुदूर पश्चिमकी सुमिना विक र सेनाकी मुभी राईले काश्य पदक जिते ।

६० केजीमा सशस्त्रकी निशा विकले स्वर्ण, सुदूर पश्चिमकी सृजना खनालले रजत, प्रहरीकी रोजिना सुनुवार र कर्णालीकी गोमा आफ्रेले कांस्य जिते ।

महिला ६५ केजी समूहमा सशस्त्रकी मनिषा रावतले स्वर्ण, सेनाकी लुमन्ती श्रेष्ठले रजत तथा प्रहरीकी आयुषा महर्जन र सुदूर पश्चिमकी गोमती साउदले काश्य जिते ।

७० केजी समूहमा सेनाकी विन्दु पुनमगरले स्वर्ण पाउँदा गण्डकीकी अनिसा आलेमगरले रजत तथा प्रहरीकी पूजा गुप्ता र बागमतीकी वास्ताकुमारी पाख्रिनले कांस्य जितेको कास्की जिल्ला उसु संघका वरिष्ठ उपाध्यक्ष वीरन्द्र गहतराजले जानकारी दिए ।

उसुमा सात प्रदेशका सात टिम र तीन विभागीय गरी १० टिमको सहभागिता थियो । एनआरएनएको उसुमा सहभागीता थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?